३ वटा मेशिनसहित विद्युतीय शवदाह गृह बन्ने

डिसी नेपाल
२८ असोज २०७७ २०:०२

काठमाडौं। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको तिलगंगातर्फ विद्युतीय शव दाह गृह निर्माण हुने भएको छ। गृहमा ३ वटा आधुनिक विद्युतीय उपकरण हुनेछन्।

यसका लागि बुधबार काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता पत्रमा हस्ताक्षर भयो। काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा महानगरकातर्फबाट सह–सचिव राजेश्वर ज्ञवाली र कोषकातर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

शवदाह गृह निर्माण गर्न कोषले सार्वजनिक सूचना मार्फत बोलपत्र आव्ह्वान गरिसकेको छ। यो प्रक्रिया अहिले मूल्याङ्कनको चरणमा पुगेको छ। सम्झौता बमोजिम यही बोलपत्रको प्रक्रियालाई महानगरले अनुदान दिएर अघि बढाउने छ। आशयको सूचना प्रकाशन गर्ने र छनोट भएको बोलपत्रदातासँग सम्झौता गर्ने तथा कार्यादेश लिने काम कोषले नै गर्ने छ। सम्झौतापत्रमा शवदाह गृहको अग्रभागमा देखिने गरी शिलापत्रमा काठमाडौं महानगरपालिकाको अनुदानमा निर्माण भएको शवदाह गृह भनी लेख्नु पर्ने उल्लेख गरिएको छ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै प्रमुख शाक्यले ६ महिना भित्र निर्माण सम्पन्न गर्न आग्रह गरे। ‘काठमाडौँ महानगरपालिकाले विगतमा पनि जनसरोकारका विषयलाई सम्वोधन गर्दै आएको छ। महानगरको दायित्वमा परेका कामहरु दक्षता भएका निकाय तथा संघसंस्थासँगको सहकार्यमा अघि बढाएका छौं। यसबाट धेरै लाभ प्राप्त हुने हाम्रो बुझाइ हो,’ शाक्यले भने, ‘पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह निर्माण गर्ने काममा पनि हामीले पशुपति क्षेत्र विकास कोषसँग सहकार्यमा गर्न लागेका हौँ।’

शाक्यले अहिले सञ्चालनमा रहेका दुई वटा विद्युतीय शवदाह मेशिनले चाप धान्न नसकेको अवस्थामा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने थप तीन ओटा मेशिनले केही सहज हुने अपेक्षा गरेको बताए। ‘अहिले पनि अन्तिम संस्कार धेरैले परम्परागत ढंगबाटै गर्ने चलन छ,’ उनले भने, ‘यस्तो बेलामा नदीमा प्रदुषण कम गर्ने, वातावरण फोहोर नबनाउने र अन्तिम संस्कारमा नियमित सहभागी हुनेहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर नपुगोस भन्ने हेतुले विद्युतीय शवदाह गृह निर्माणका लागि महानगरपालिकाले चासो राखेको हो।’

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले, पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको थियो। महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गरे।

शाक्यले काठमाडौँ महानगरपालिकाले १५ ओटा एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको पनि जानकारी दिए। शाक्यले अहिले कोभिड–१९ का कारण विश्व नै महामारीको चपेटामा परिरहेको र नेपाल पनि त्यो भन्दा पृथक नरहेको भन्दै महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए। उनले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह गरे। ‘हामी सबैले एकमुष्ठ सहयोग गरेर अघि बढ्ने हो भने महामारी नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘तर, भयावह अवस्था हुँदा हामी सबैलाई जोखिम बढी हुन्छ। यसमा सबैको ध्यान जान जरुरी छ।’

कार्यक्रममा कोषका सदस्य सचिव ढकालले विद्युतीय शवदाहका लागि क्षमता विस्तार गर्दै जाने कोषको योजनाम काठमाडौँ महानगरपालिकाले सहयोग गरेको भन्दै उत्साहित भएको बताए। ‘अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन्। सञ्चालनमा रहेका दुई ओटा मेशिनबाट मात्रै अहिले दैनिक १५–२० ओटा शवदाह हुने गरेका छन्,’ उनले भने, ‘अब थप तीन ओटा मेशिन निर्माणपछि अहिलेको बढ्दो चापलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ।’

ढकालले अहिले सञ्चालनमा रहेका मेशिनबाट शवदाह गर्न १ देखि डेढ घण्टासम्म लाग्ने गरेको भन्दै अब निर्माण हुने मेशिनबाट ३० देखि ४५ मिनेटमा शवदाह हुने बताए। ‘नयाँ मेशिन जडानसँगै समयको पनि बचत हुने र व्यवस्थापन गर्न पनि सहज हुने हामीले अपेक्षा गरेका छौँ,’ ढकालले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *