पुनःगठित मन्त्रिपरिषद्ले के दियो सन्देश?

डिसी नेपाल
२८ असोज २०७७ २३:२१

काठमाडौं। मन्त्रिपरिषद्मा बुधबार गरिएको पुनःगठनले केही समययता रिक्त मन्त्रालयले नेतृत्व पाएका छन् । तीन मन्त्रालयको नेतृत्वमा नयाँ अनुहार आएका छन् । यसैगरी मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने भन्ने कतिपय अड्कलबाजीलाई यो पुनः गठनले असत्य सावित गरेको छ ।

पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिमण्डल पुनःगठन, पार्टी एकताका बाँकी काम, संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिलगायतबारे दैनिकजसो परामर्श हुँदै आएको थियो । नेकपाका शीर्ष नेताहरुका बीचमा पनि धेरै नयाँ अनुहारका मन्त्री पठाउने र अधिकांश पुरानैलाई निरन्तरता दिने भन्नेमा विभिन्न कोणबाट छलफल चलेको थियो ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्रको अन्तरविरोध हल गर्दै सङ्घीय र प्रदेश सरकारमा आवश्यकतानुसार हेरफेर गर्ने निर्णय गरेको थियो । सोही कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प पनि नेकपाको पछिल्लो सचिवालय बैठकले गरेको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा केही नयाँ मन्त्रीको पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेकी छन्। नयाँ जिम्मेवारीमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिएका छन् भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

विगतमा विनाविभागीयमन्त्री बनाइएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट कार्यालय सञ्चालन गर्न दिइए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्पष्ट जिम्मेवारीसहित मन्त्री तोकिएको यो नयाँ अभ्यास हो । उपप्रधानमन्त्री पोखरेलले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समिति संयोजकसमेतको भूमिका प्रभावकारीरुपमा निर्वाह गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीलाई सघाउने गरी यो नयाँ जिम्मेवारी दिइएको देखिएको छ ।

नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्को समग्र कामको संयोजनको भूमिका पाएको उल्लेख गरेका छन्।
रिक्त अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेल विगतमा पनि अर्थमन्त्री भइसेका नेकपाका महासचिव हुन्। निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई राजनीतिक पृष्ठभूमिको अभावका कारण कतिपय बजेट शीर्षकमा पार्टीभित्रैबाट समेत आलोचना भएका स्थितिमा नयाँ अर्थमन्त्री राजनीतिक क्षेत्रको अनुभवी व्यक्ति हुन्।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामापछि रिक्त सञ्चारमन्त्रीमा यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेका पार्वत गुरुङले जिम्मवारी पाएका छन्। उनी गत प्रतिनिधिसभामा मुलुककै सबैभन्दा बढी मतान्तरबाट विजयी हुने दोलखाका सङ्घीय सांसद् हुन्। शहरी विकासमन्त्रीमा नियुक्त कृष्णगोपाल श्रेष्ठ लामो समय काठमाडौँ उपत्यकाको पार्टी नेतृत्वमा रहेका थिए। उनी पूर्व स्थानीय विकास राज्यमन्त्री पनि हुन्। महिलामन्त्री भएका सिरहाका लीलानाथ श्रेष्ठ पहिलो पटक मन्त्री भएका छन् ।

नवनियुक्त मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरी सरकारका प्राथमिकताबारे निर्देशन दिएका छन्। मन्त्रीहरुको शपथग्रहण बिहीबार हुने जनाइएको छ । बडादशैँपूर्वको यो हेरफेरले पुराना मन्त्रीहरुलाई आत्मबलका साथ काम गर्न र नयाँ मन्त्रीहरुलाई नयाँ उत्साहका साथ कार्यक्षेत्रमा ओर्लन प्रेरणा दिने विश्वास छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *