भारतमा जनप्रतिनिधिको चुनाव जितेकी नेपाली महिलाले काम गर्न पाइनन्

डिसी नेपाल
२९ असोज २०७७ १०:०२

काठमाडौं। भारतमा निर्वाचनमा विजयी भएकी एक नेपाली महिलाले निर्वाचित भएपछि पदबहाली गर्न पाइनन् । पटना उच्च अदालतले उनको जीतलाई अवैध घोषित गरिदिएको छ । ती महिलाले आफूसँग नेपाली नागरिकता भएकै कारण पदबहाली गर्न नपाएकी हुन् । यद्यपि ती महिलाको भारतीय नागरिकसँग विवाह भएको थियो र उनी भारतीय नागरिकता पाउनका लागि योग्य थिइन् तर नागरिकता लिइसकेकी भने थिइनन् ।

टाइम्स अफ इण्डियाका अनुसार किरण देवी नामकी ती महिलाले बिहारको सीतामढी जिल्लाको मणिचोक पञ्चायत प्रमुख पदमा चुनाव जितेकी थिइन् । तर, राज्य निर्वाचन आयोगले अघिल्लो वर्षको अगष्ट ३० मा उनको जीत अवैध भएको भन्दै उनको जीत खारेज गरेको थियो । त्यसपछि उनी अदालत पुगेकी थिइन् । पटना उच्च अदालतका मुख्य न्यायाधीश एस कुमारको अध्यक्षतामा २ सदस्यीय बेन्चले उनले भारतीय नागरिकता नलिएको आधारमा उनको जीत अवैध घोषित गरेको हो । अदालतले भारतीय नागरिकसँग बिहे गर्दैमा कोही पनि भारतीय नागरिक नहुने भनेको छ ।

किरण नेपाली हुन् र उनले अहिलेसम्म भारतीय नागरिकता लिएकी छैनन् तर उनीसँग मतदाता परिचय पत्र, स्थायी लेखा नम्बर, आधार कार्ड भने छन् । उनको विवाह भारतीय नागरिकसँग भएको थियो । बिहे भएपछि उनी आफ्ना पतिसँग भारतमै बसेर २ बच्चाकी आमा पनि बनिन् । त्यसपछि उनी भारतमा भारतीय नागरिकसरह बस्न थालिन् । उनले भारत गएर आफ्नो नाममा सम्पत्ति पनि खरिद गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *