अनेरास्ववियुका एकता अन्तिम चरणमा

डिसी नेपाल
२९ असोज २०७७ १३:१०

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ। अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ।

अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ । केही दिनअघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सबै जिल्ला, विश्वविद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र जारी गरी एकता प्रक्रिया टुङ्गोमा पुर्‍याउन निर्देशन दिएका थिए।

अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरी परिपत्र जारी गरिसकेको र सोही परिपत्रानुसार अहिले एकताको काम भइरहेको जानकारी दिए। उनका अनुसार यसै साता जिल्ला कमिटीलाई पूर्णता पाउने छ । यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ । अखिलले ५१ देखि ६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ।

संयोजक महरले परिपत्रअनुसार काम नगर्ने र समानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गरिने बताए। पार्टी एकता भएसँगै नेकपाको पार्टी एकता अझै टुंग्गिएको छैन । यसअघि राष्ट्रिय युवा सङ्घले मात्र जिल्ला र स्थानीय तहको एकता टुग्गाइसकेको छ । उनले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुङ्गिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको बाँडफाँड र कार्यविभाजन टुङ्ग्याइने बताए। अखिलमा अहिले ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *