नेकपा विवादः काठमाडौंमा के गर्दैछन् कर्णालीका नेताहरु ?
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा विधायकहरुले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि विवाद उत्कर्ष पुगेको बेला मुख्यमन्त्री शााहीलगायत पार्टी पदाधिकारी र प्रस्तावको अगुवाई गर्ने नेताहरु काठमाडौं पुगेका छन्।
बुधबार र बिहीबार गरी मुख्यमन्त्री शाही, पार्टी कर्णाली प्रदेश सहइन्चार्ज तथा अविश्वास प्रस्तावको अगुवाई गरेका यामलला कँडेल, पार्टी कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिब मायाप्रसाद शर्मा, अविश्वास प्रस्ताव पेशपछि हटाइएका प्रमुख सचेतक गुलावजंग शाह,, कर्णाली प्रदेशका मन्त्री प्रकाश ज्वालालगायतका नेताहरु काठमाडौं पुगेका छन्।
पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई काठमाडौं आउन निर्देशन दिएपछि उनीहरु काठमाडौं पुगेका हुन्। काठमाडौं पुगेपछि नेताहरु आ आफ्ना निकट नेताहरुसँग छलफलमा रहेका छन्।
ओली निकट नेता शाहले डिसी नेपालसँग भने, ‘बिहीबार हामीहरुले पार्टी कार्यालयमा सम्पर्क गर्यौं। सम्पर्क बाहेक कुनै छलफल भएको छैन। आज (बिहीबार) नयाँ मन्त्रीहरुको शपथ ग्रहणको कार्यक्रम भएकाले पनि होला नेताहरु व्यस्थ हुनु भयो।’
कर्णालीमा पूर्व एमालेहरु एकजुट तथा तीन पूर्व माओवादीका विधायकले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। शनिबार दर्ता गरिएको प्रस्ताव मंगलबारसम्म आईपुग्दा असफल बन्ने देखिएको थियो। वरिष्ठ नेता माधव नेपाल समूहका ७ जना र पूर्व माओवादीका तीनै जना विधायकहरु अविश्वास प्रस्तावबाट पछि हटेपछि सो प्रस्ताव असफल हुने देखिएको थियो। त्यसपछि केन्द्रबाट दुई अध्यक्षले मुख्यमन्त्रीसहित पदाधिकारीलाई छलफलका लागि भन्दै काठमाडौं बोलाएका थिए।
माधव नेपाल समूहले मन्त्रिमण्डल पुनर्गठनमा सहमति जनाउँदै अविश्वास प्रस्तावबाट पछि हट्ने निर्णय गरेपछि अविश्वास प्रस्तावको अगुवाई गरेका ओली समूहका नेता यामलाल कँडेल उल्टै संकटमा फसेका थिए।
तर, दुई अध्यक्षले उनीहरुलाई केन्द्रमा बोलाएपछि उनले त्यसलाई अवसरका रुपमा अथ्र्याएका छन्। गुलावजंग शाहले डिसी नेपालसँग भने, ‘पहिला कर्णालीलाई मात्र सरकारको असफलताबारे थाहा थियो, अब केन्द्रका नेताहरुले पनि त्यो थाहा पाउनु हुन्छ। हामी प्रस्ताव ल्याउनुको उचित कारणबारे छलफलमा कुरा राख्छौं। सरकारको पफरमेन्सबारे नेताहरुलाई थाहा भएपछि उहाँहरु हाम्रो कुरा ठिक हो भन्ने अवस्थामा पुग्नु हुन्छ।’
उता वरिष्ठ नेता माधव नेपाल निकट प्रकाश ज्वालालागयत नेताहरुले बिहीबार कोटेश्वरमा भेटघाट गरेका छन्। त्यहाँ हालै मुख्यमन्त्री शाही समूहसँग भएको सहमति कार्यान्वयन हुनुपर्नेमा उनीहरुले जोड दिएको भेटमा सहभागी एक नेताले बताए। मुख्यमन्त्री शाहीसँग नेता नेपाल समूहका तीनजनालाई मन्त्री र एकजनालाई सचेतक बनाउने सहमति भएको थियो। सो सहमति अनुसार कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन्। मन्त्रिमण्डल पुनर्गठन भने नेताहरु काठमाडौं पुगेकाले हुन सकेको छैन।
त्यसै पूर्व माओवादी नेतासमेत रहेका मुख्यमन्त्री शाहीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा कर्णाली प्रदेश इन्चार्ज जनादर्न शर्मा प्रभाकरसँग भेट गरेको बताइएको छ।
Facebook Comment