झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै
झापा। भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ।
मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताए।
उनले झापामा अरु सातवटा बिओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागुऔषधको कारोवार, तस्करीलगायत अपराध रोक्न सीमाका बिओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिए।
झापामा १४४.२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ । सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बिओपी स्थापना भइरहेका छन्। बिओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन्।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सशस्त्र प्रहरीको बिओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोग गरिने बताए।
भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीनवटा बिओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ। सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बिओपीको लक्ष्य भएको बताए। रासस
Facebook Comment