फेसबुकमा बलात्कारीे संगठन बनाएर अश्लील पोस्ट गरेपछि…

डिसी नेपाल
३० असोज २०७७ १७:०५

काठमाडौं। देशमा महिला हिंसा र बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु बढिरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा एउटा अनौठो संगठन देखियो र चर्चित भयो। फेसबुकमा ‘बलात्कारी संगठन’ नामको ग्रुप बन्यो। र सो ग्रुपमा अश्लील पोस्टदेखि विभिन्न व्यक्तिहरुको हत्या गर्ने जस्ता धम्कीसहितका पोस्ट भइरहे।

सामाजिक सञ्जालमा यस्तो हर्कत देखिएपछि प्रहरी प्रधान कार्यालय नक्साल पनि तनावमा पर्यो। एकातिर देशमा दैनिक बलात्कारका घटना सार्वजनिक हुनु अर्कोतर्फ सामाजिक सञ्जालमा यस्तै उच्छृंखल गतिविधि बढ्नुले तनावमा परेको प्रहरी प्रधान कार्यालयले प्रहरीको साइबर ब्यूरोलाई सो विषयमा अनुसन्धान गर्न निर्देशन दियो। प्रधान कार्यालयको निर्देशनपछि सक्रिय भएको ब्यूरो सो ग्रुपका का सक्रिय सदस्य नवीन बस्नेतलाई पक्राउ गर्न सफल भएको छ।

नवीनले आफूलाई सो ग्रुपको क्रियटर नै रहेको दावी गरेको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए। उनले भने, ‘उसलाई पक्राउ गरेर भर्खर काठमाडौं ल्याएका छौं। उ सो ग्रुपको सक्रिय सदस्य हो। क्रियटर हुँ भन्छ। तर त्यो विषयमा अनुसन्धान जारी छ।’

प्रहरीले प्यूठानको झिमरुक घर भई हाल नवलपरासी बस्दै आएको १९ वर्षीय बस्नेतलाई पक्राउ गरेको हो। नवलपरासीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याइएको छ। तर, अनुसन्धान बाँकी रहेकाले उसले सामाजिक सञ्जालमा यस्तो किन गर्यो? अरु कोको संलग्न छन् भन्ने विषयमा भने रहस्य खुल्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेको व्यक्तिसँग बयान लिएपछि थप कुरा खुल्ने विश्वास गरेको छ।

एसएसपी अर्यालले सो ग्रुप बनाउने बस्नेतले यसअघि पनि सामाजिक सञ्जालमा विभिन्न दलका नेताहरुलाई गालीगलोज गर्ने, ज्यान मार्ने धम्की दिने जस्ता पोस्टहरु गरेको फेला परेको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *