अमेरिका पठाउने भन्दै २६ लाख लिएर दुई नेपालीलाई ११ महिनादेखि मालवीमा बन्धक बनाइयो

काठमाडौं। अमेरिका लैजाने भनी अफ्रिकामा लगेर दुई नेपाली युवालाई बन्धक बनाइएको खुलासा भएको छ। मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर काठमाडौंका एक एजेण्टले दुईजना नेपाली युवालाई अफ्रिकाको मलावीमा लगेर बन्धक बनाएको रहस्य खुलेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मालवीका अध्यक्ष दिपक पोख्रेलले डिसी नेपाललाई बताए।
अध्यक्ष पोख्रेलका अनुसार यसरी बन्धक बनाइनेहरुमा रुकुमका १८ वर्षीय पौडेल थरका एक युवक र दाङका २० वर्षीय डाँगी थरका एक युवा रहेका छन्। पोख्रेलसँग सम्पर्कमा आएका ती युवाले आफूहरुलाई अमेरिका छिराउने भनेर एजेण्टले दुई जनाबाट २६ लाख नेपाली रुपैयाँ लिइसकेको बताएका छन्।
‘आज मात्रै उनीहरुले कताबाट मेरो नम्बर पाएर मलाई सम्पर्क गरेका थिए। उनीहरुलाई ब्लान्टायर शहरको एक होटलमा एजेण्डले ११ महिनादेखि बन्धक बनाइ राखेको रहेछ,’ उनले भने।
नेपाली युवालाई बन्धक बनाइएको खबर पाएसँगै हाल नेपालमा रहेका अध्यक्ष पोख्रेलले तुरुन्तै त्यहाँको स्थानीय प्रहरीलाई जानकारी गराएका थिए। अहिले ती दुई युवालाई मालवी प्रहरीले बन्धक बनाइएको होटेलबाट उद्धार गरिसकेको उनले बताए। नेपाल प्रहरीलाई पनि यसबारेमा आफूले जानकारी गराइसकेको पोख्रेलको भनाइ छ।
‘अहिले उनीहरुलाई स्थानीय प्रहरीले त्यहाँबाट उद्धार गरिसकेको छ। पर्सीसम्म त्यहाँ सार्वजानिक बिदा छ। त्यसपछि मात्रै उनीहरुलाई फिर्ता पठाउने बारेमा त्यहाँको प्रहरीले प्रक्रिया अघि बढाउनेछ।’
पीडितले आफूहरुलाई दलालले होटल साहुसँग मिलेर उल्टै त्यहाँ बसेको १८–१८ हजार डलरभन्दा बढी बिल बनाएको पोख्रेलसँगको कुराकानीमा गुनासो गरेका छन्। होटल साहूले त्यो पैसा तिर्न आफूहरुलाई दबाब दिइरहेको उनीहरुले बताएका छन्।
करिब १ वर्षअघि पनि ४ जना नेपाली युवालाई अमेरिका लैजाने सपना देखाएर मालवीको ब्लान्टायरमा बन्धक बनाइएको थियो। उनीहरुलाई नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मलावीको सीआईडी पुलिससँगको समन्वयमा उद्धार गरी स्वदेश फर्काउन सफल भएको थियो। उनीहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरेको थियो।
Facebook Comment