भेरी अस्पतालमा २ कोरोना सङ्क्रमितको मृत्यु, बाँकेमा २९ जनाकाे काेराेनाका कारण ज्यान गयाे

डिसी नेपाल
१ कार्तिक २०७७ १०:४९

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार, असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो । सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापी लगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा गएराति नौ बजे मृत्यु भएको हो।

मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसिआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीय युवतीको गएराति १० बजे मृत्यु भएको छ । उनीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकका आफन्तसँगको समन्वयमा शवको व्यवस्थापन तयारी भईरहेको जानकारी दिए। बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने बाहिरी जिल्लाबाट आई उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *