नवरात्रको दोस्रो दिनमा पनि सुनसान छ नयाँ बसपार्क

डिसी नेपाल
२ कार्तिक २०७७ ११:२२

काठमाडौं। विगतका दशैंमा टिकन नपाएर घण्टौं लाईनमा बस्नु पर्ने नयाँबसपार्क यो वर्ष भने नवरात्रको दोस्रो दिन हुदासम्म सुनसान रहेको छ। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि बसपार्कमा मार्किङ गरिएको छ। तर, मान्छेहरु कोही पनि हुँदैन।

काठमाडौं–सुर्खेतको लागि टिकट काटन पुगेकी अन्जु उप्रेतिले यो वर्ष सहजै टिकट पाएको प्रतिकृया दिइन। उनी विगतका वर्षहरुमा टिकट नपाएर घर जान नसकेको गुनासो सुनाउँछिन्। अन्जुले भनिन्, ‘यो वर्ष त आज नै टिकट पाएँ। म विहान आएर सुर्खेतको लागि टिकट भनेको बेलुका जाने बस र आफूले भनेकै सिट पाएकी छु।’ दैलेख घर बताउँने उनले सुर्खेतसम्मको मात्र टिकट काटेकी छन्। ‘सुर्खेतसम्म जान नपाएर दशैंमा घर नै नगएको अनुभव छ। यो वर्ष त सुर्खेत पुग्न पाउँदा पनि खुसी छु।’

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेको सवारी चालक राजुको अनुभव छ। लामो समयसम्म काठमाडौं धनगढी बस चलाउँदै आएका उनी अघिल्ला वर्षहरुको जस्तो उत्साह पनि नभएको बताउछन्। ‘कोरोना भाइरसको सङ्क्रमणका कारण ६ महिना बन्द रहेको सार्वजनिक यातायात १ महिनादेखि खुले पनि यात्रु नहुँदा समस्या छ’, राजुले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश यात्रु बन्दाबन्दी शुरु हुनुभन्दा पहिले नै घर गएका कारण दशैँको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहमा कमी आएको बताउँछन्। “विगत एक हप्तादेखि उपत्यका बाहिरिने यात्रुको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ”, उनले भने । विगतका वर्षहरुमा घटस्थापनादेखि फूलपातीको दिनसम्म दैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रु बाहिरिएको महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरीले चाडवाडको समयमा बढी भाडा लिने तथा यात्रुलाई अनावश्यकरूपमा दुःख दिने बस चालकको कारवाहीका लागि सादा पोशाकमा आठवटा टोली प्रहरी खटाएको छ । यस्तै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवसायीहरु बन्दाबन्दीका कारण छ महिना थन्किएका सार्वजनिक सवारी साधन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि यात्रु नहुँदा समस्यामा परेको बताउँछन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला अधिकांश यात्रुहरु साना सवारी साधन रिजर्भ गरेर गन्तव्यस्थलसम्म गएका कारण पनि बसपार्कमा यात्रुको चहलपहल नभएको बताउछन्। “अधिकांश यात्रु बन्दाबन्दी हुनुभन्दा अगाडि नै घर गएका छन्, बाँकी रहेका यात्रुलाई सरकारले जहाँ हुनुहुन्छ त्यहीँ दशैँ मनाउनुहोस् भनेका कारण पनि बसपार्क क्षेत्र सुनसान छ’ सिटौलाले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *