चीनले कोरोनाभाइरस कसरी नियन्त्रण गर्‍यो ? वुहानमा ५ महिना फसेका युवाले बताए वास्तविकता

डिसी नेपाल
४ कार्तिक २०७७ १०:५५

काठमाडौं। विश्वभर कोरोनाभाइरसका केसहरु बढिरहेका छन् तर यो भाइरसबाट सबैभन्दा पहिले गम्भीर रुपमा प्रभावित भएको चीनले भने भाइरसमाथि नियन्त्रण कायम गरिसकेको छ । चीनले यो महामारी नियन्त्रण गर्नका लागि अरु देशलेभन्दा फरक के गर्यो ? वुहानमा महामारी उत्कर्षमा रहेका बेला त्यहाँ फसेका एक युवकले यो प्रश्नको जवाफ दिएका छन् । लण्डनमा बस्दै आएका चिनियाँ नागरिक शी लु वुहानमा महामारी उत्कर्षमा भएका बेला त्यहीँ थिए । उनले बेलायती अखबार द सनसँग कुरा गर्दै वुहानमा अपनाइएको रणनीतिबारे विस्तारमा बताएका छन् ।

वुहानमा महामारी उत्कर्षमा भएका बेला शी लु त्यहीँ थिए र उनी करिब ५ महिनासम्म वुहानमै फसे । आफ्नो परिवार भेट्न वुहान गएका शी लु महामारीका कारण १४१ दिन वुहानमै फसेका थिए । उनले अहिले बेलायती अखबारसँग कुरा गर्दै चीनमा महामारी नियन्त्रणमा आउनुको मुख्य कारण त्यहाँका नागरिक आज्ञाकारी हुनु र उनीहरुले सही तरिकाले नियम पालना गर्नु भएको बताएका छन् । अहिले विश्वभरी प्रतिबन्ध र स्वतन्त्रताका विषयमा भइरहेको बहसबारे उनले भने ‘यदि कोही पनि बाँचेनन् भने त्यसपछि कुनै मानवअधिकार पनि हुने छैन ।’

कोरोना महामारी फैलिएपछि वुहानमा ७६ दिनसम्म निकै कडा प्रतिबन्ध लगाइएको थियो । शी लुका अनुसार चिनियाँ नागरिक र अन्य मानिसहरुमा सांस्कृतिक अन्तर छ र चीनका नागरिकहरु सरकारका नियमहरु निकै राम्रोसँग पालन गर्छन् । शी लुले भने ‘यदि चीनमा कुनै नियम लागू गरिएको छ भने हामी त्यसलाई मान्छौं ।’ उनका अनुसार मास्क लगाउने विषयमा पनि चिनियाँहरुले कडाइका साथ नियम पालना गरे ।

चीनमा छिमेकीले नियम तोडेमा मानिसहरुले अधिकारीहरुलाई जानकारी बताउँदै शीले लकडाउनका क्रममा आफूले पनि यस्तो गरेको बताए । शीले अहिलेजस्तो एन्टि मास्क र एन्टि भ्याक्सिन अभियान चलिरह्यो भने कोरोनाको तेस्रो लहर पनि आउने र फेरि लकडाउन गर्नुपर्ने चेतावनी दिए । गएको जनवरीमा शी लु चीन गएका थिए । उनकी पत्नी भने लण्डनमै थिइन् । १४१ दिन वुहानमा फसेपछि उनी गएको जुलाइमा मात्र लण्डन फर्किन पाएका थिए । उनी लण्डनमा विगत ७ वर्षदेखि बस्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *