सीमामा तस्करी रोक्ने खोजेपछि असई र प्रहरी जवानको हत्या, ७ जना पक्राउ
काठमाडौं। सीमामा हुने तस्करी रोक्न खोजेपछि तस्करहरुको समूहले प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेका छन्।
कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज रहेका बिकको शव यही कार्तिक २ गते फेला परेको थियो भने उनीसँगै गस्तीमा गएका प्रहरी जवानको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले ७ जनालाई पक्राउसमेत गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको छ।
कैलाली प्रहरी प्रमुख एसपी दीलिपसिंह देउवाले घटना योजनावद्ध रुपमा भएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा असई बिकले महत्वपूर्ण सफलता पाएका थिए। उनको क्रियाशिलताका कारण तस्करहरुलाई तस्करी गर्न अवरोध भएपछि उनको हत्या गरिएको उनले बताए।
गस्तीमा असईसँगै गएका जवान साउदको पनि तस्करहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको बताए।
हत्या आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३९ वर्षीय रोहित राना, सोही स्थानका २३ वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामविलास राना, २९ वर्षीय दलराम राना र धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को २५ वर्षीय रामगोपाल रानालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका आरोपीहरुले अपराध स्वीकार गरेको जनाएको छ। प्रहरीले उनीहरुमाथि हत्या अभियोगमा मुद्दा चलाएको छ।
Facebook Comment