बनेपाबाट मङ्गलटारहुँदै बेत्तेनीसम्म पहिलोपटक बससेवा

रासस
४ कार्तिक २०७७ १९:३३

बनेपा । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको वडा नं. ५ महाभारत क्षेत्रको अति विकट बुढाखानीको घुँडे–बेत्तेनीसम्म यात्रुबाहक बस सञ्चालनमा आएको छ । बागमती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकालले बस सेवा शुभारम्भ गरेपछि सोमबारबाट मङ्गलटार–जुकेपानी–पारलेख–चैनपुर हुँदै घुँडे–बेत्तेनीसम्म यात्रुबाहक बस सञ्चालनमा आएको हो ।

प्रदेशसभा सदस्य ढकालले जनताको साथमा सरकार भएकाले महाभारतका विकट क्षेत्रका बासिन्दालाई नआत्तिन आग्रह गरे । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विकासका लागि गाउँपालिकाले निरन्तर काम अगाडि बढाईरहेको बताए । पहिलो पटक गाउँमा यात्रुबाहक बस आएपछि घुँडे र बेत्तेनी लगायतका स्थानीय खुशी भएका छन् । यसअघि बनेपा धुलिखेल जानको लागि मङ्गलटारसम्म हिड्नुपर्ने बाध्यता रहेकोमा अब गाउँमा नै बस आएपछि निकै खुशी लागेको स्थानीय लमोमाया तामाङले बताए ।

बेत्तेनीका बुद्ध बालउन्नती प्राविका प्रधानाध्यापक रोजल मोक्तानले पहिलो पटक गाउँमा बस आउँदा धेरै खुशी लागेको बताए । “हामीले यहाँको घर आँगनमा नै यसरी बस आउँछ भनेर त सोचेको थिएनौ, तर आज आफ्नै आँगन भएर बस आउँदा निकै खुशी छौं”, उनले भने । बस सेवा नियमति सञ्चालन भएपछि अब त्यहाँका बासिन्दाले कृषि उत्पादनलाई सजिलै बजारसम्म पु¥याएर आम्दानी गर्न सकिने भएको छ । यसअघि यातायातको सुविधा नहँुदा बजारसम्म बोकेर लानुपर्ने बाध्यताले विक्री वितरण समस्या झेल्नुपरेको थियो ।

बागमती प्रदेश सरकारको ५० लाख र महाभारत गाउँपालिकाको ३० लाख गरी कूल ८० लाख लागतमा मोटरबाटो निर्माण सम्पन्न भएपछि सोमबारबाट गणेश हिमाल तराई यातायात प्रालिले दैनिक रुपमा बस सञ्चालनमा ल्याएको हो । बनेपाबाट बेत्तेनीसम्मको लागि प्रतिब्यक्ति चार सय रुपैयाँ भाडा र सामान ढुवानीको लागि प्रति किलो चार रुपैयाँका दरले भाडा लिने सम्झौता भएको समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *