कोरोना भाइरस सोचेजस्तो सामान्य पनि होइन, एकदमै जटिल पनि छैन

डिसी नेपाल
५ कार्तिक २०७७ ७:२८

असोज १० हामी सँगै काम गर्ने एकजना साथीमा कोभिड १९ पोजेटिभ देखियो। सँगै बस्ने साथीको पोजेटिभ देखिएपछि भोलिपल्टै मलगायत सँगै बस्नेले पीसीआर परीक्षण गर्यौं र सबैको रिपोर्ट नेगेटिभ आयो। यसपछि हामी निरन्तर काममा नै खटिरहेका थियौं। तर, रिपोर्ट आएको ५ दिनपछि एक्कासी जिउ दुख्न थाल्यो। र त्यो दुखाई असैह्य थियो। शंकाको बादल हो त्यही बेला नै मडारिन थालिसकेको थियो।

सुरुमा त रिपोर्ट नेगेटिभ आएको छ अरु नै कारण होला जीउ दुखेको भन्ने लाग्यो। तर साह्रै दुख्न थालेपछि मलाइ पनि एक खालको छटपटी भयो। अनि पुनः पीसीआर गर्न गएँ। यसपटक रिपोर्ट पोजेटिभ आयो। अगाडि चेक गर्दा नेगेटिभ आएको थियो।

म यसबीचमा कतै गएको पनि छैन। के भएको हो? भनेर मैले स्वास्थ्यकर्मीहरुलाई सोधेँ। सोध्दाखेरी १० गते तपाईँको साथी पोजेटिभ भयो तुरुन्तै ११ गते नै चेक गराएकाले तपाईँको रिपोर्ट पहिले नेगेटिभ आएको हो भन्ने जवाफ पाएँ। सर्ने वित्तिकै रिपोर्टमा पोजेटिभ नदेखाउँदो रहेछ। आफूलाई परेपछि त्यो ज्ञान पनि पाइयो।

रिपोर्ट पोजेटिभ आइसकेपछि मैले होम आइसोलेसनमै बस्ने निर्णय गरे। र, तपाईँ सिकिस्त हुनुहुन्न भने घरमा नै सामाजिक दुरी कायम गरेर होम आइसोलेसनमा बस्नु धेरै सुरक्षित छ। एउटा छुट्टै कोठामा बस्ने अनि पानी, चर्पी छुट्टै प्रयोग गर्नेे हो भने यो सर्दैन।

रिपोर्ट आउनुअघि नै मलाइ पोजेटिभ आउँछ भन्ने लागिसकेको थियो। म मानसिक रुपमा यससँग लड्न तयार थिएँ पनि। तर, रिपोर्ट आइसकेपछि कहिँकतै अलिकति मनमा डर हुँदो रहेछ। के होला कसो होला भनेर मान्छेलाई एकदमै आतंकित पार्दो रहेछ।

अहिले कोरोना भाइरस भुसको आगो सरह फैलिरहेको छ। त्यसमा हामीले सरकारलाई दोष दिइरहेका छौं। तर, यसमा हाम्रो पनि उत्तिकै दोष छ। आम मान्छेहरु आफूलाई नपरेसम्म नडराउने, यस्तै हो भनेर उडाउने, सामाजिक दुरी कायम नगर्ने गर्छन् जसका कारण यो फैलन सक्यो। जनस्वास्थ्यकाबारे सचेतना कम भयो भन्छन् कोही कोही। त्यो केही हदसम्म सही हो। अरु भने सबै लापरवाहीले नै यो बढीरहेको छ जस्तो मलाइ लाग्छ।

तर, बुझेका साथीहरुले फोन गरेर मलाइ हौसला दिए। केही साथीहरुले सामाजिक सञ्जालबाट तागत बढाइ दिए। अझ केही साथीहरु त भेट्न घरमै आएका थिए। उनीहरुले सामाजिक दुरी कायम गरेर भेटे। यो रोगलार्ई जित्न सकिने भन्दै मलाइ नआत्तिन आग्रह गरे। त्यसले आत्मबल उच्च हुँदो रहेछ।

मान्छेहरुले अहिले कोरोनालाई सामान्य हो भन्छन्। जसलाई यो लागेको छ, उस्ले पो भन्नु पर्यो की यो सामान्य छ। मैले भन्नु पर्यो भने यो सामान्य हुँदै होइन। हामी यसलाई रुघा खोकीको रुपमा हेरिरहेका छौं। तर यो त्यो भन्दा जटिल छ। मलाइ यो लागिसकेपछि जिउ निकै दुख्थ्यो र मुख्य कुरा यो लागिसकेपछि निन्द्रा लागेन। एकदमै गाह्रो भयो। व्यक्ति अनुसार यसका फरकफरक लक्षण देखिँदा रहेछन्। कसैलाई असाध्य कष्ट, कसैलाई कम।

उपचारको लागि मैले औषधि केहि पनि सेवन गरिँन। मरिच, अदुवा र दाल्चिनीको धुलो राखेर तातोपानी एकदमै पिएँ। खानपीनमा सन्तुलन कायम गरे। तुलसीको पात र बेसार हालेर बिहान बेलुका एकएक चोटी तातोपानी खाएँ। त्यस्तै बिहान व्यायाम गर्ने, योगा गर्ने र कहिलेकाहीँ नाचेरै कोरोनालाई पराजित गरेँ।

एउटा कुरा अहिले कोरोना भाइरस भुसको आगो सरह फैलिरहेको छ। त्यसमा हामीले सरकारलाई दोष दिइरहेका छौं। तर, यसमा हाम्रो पनि उत्तिकै दोष छ। आम मान्छेहरु आफूलाई नपरेसम्म नडराउने, यस्तै हो भनेर उडाउने, सामाजिक दुरी कायम नगर्ने गर्छन् जसका कारण यो फैलन सक्यो। जनस्वास्थ्यकाबारे सचेतना कम भयो भन्छन् कोही कोही। त्यो केही हदसम्म सही हो। अरु भने सबै लापरवाहीले नै यो बढीरहेको छ जस्तो मलाइ लाग्छ।

अन्तमा म के भन्छु भने कोरोना भाइरस सोचेजस्तो सामान्य पनि होइन र एकदमै जटिल पनि छैन। यसलाई निर्मुल पार्न पहिलो त हामी अनुशासनमा बस्नुपर्छ र सरकारले तोकेको प्रोटोकल फलो गर्नुपर्छ। केही गरि कोरोना लागिहालेमा आत्मबल सबैभन्दा ठूलो औषधि हो। त्यो औषधि बचाइराख्नु पर्छ। त्यसको स्टक सकियो भने रोगसँग लड्ने बल पनि सकिन्छ। त्यसपछि जे पनि हुन सक्छ।

पत्रकार बरालसँग डिसी नेपालका लागि कमल साउदले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *