ठेकेदारहरुको दशैंको साइत सनातनी परम्परामाथि धावा

डिसी नेपाल
६ कार्तिक २०७७ ७:५८

सनातन धर्मावलम्बीहरुको महान पर्व दशैं लागिसकेको छ र महामारीको पीडाका बीचमा पनि हामी नेपालीहरु संसारका कुना कुनाबाटै भए पनि यो चाड मनाइरहेका छौं ।

यति नै बेला केही विद्धान महोदयहरुले दशैंको टीकाको साइत निकालेर व्यापक प्रचार प्रसार पनि गर्नुभएको छ। नेपालमा अक्टोबरको २६ तारिकमा लगाइनुपर्ने टीका अमेरिकाका लागि अक्टोबर २५ तारिकमै अर्थात नेपालभन्दा एकदिन अगाडि नै लगाउनुपर्ने ती विद्धानहरुको तर्क देखियो । त्यसैले यसबारे केही लेख्नै पर्ने भयो।

कुनै पनि देशलाई टुक्राउनु छ भने त्यसो मूल भावनामाथि प्रहार गर्नुपर्छ अनिमात्र सफल भइन्छ भन्ने कुटनीति हुन्छ। हाम्रो देशको संस्कृतिमाथि पनि पटक पटक यसैगरी प्रहार हुने गरेको छ समय समयमा। किनकि नेपालको मूल भावना भनेको यसको सनातन धर्म र तद्नुरुपको संस्कृति हो।

अहिले दशैंको टीकाबारे झिकिएको अनावश्यक विवाद हाम्रो सनातनी संस्कृतिमाथि छद्मभेदीहरुको आक्रमणको प्रयास त होइन भन्ने शंका जनजनमा उठ्न थालेको छ। नेपालीजनको सनातनी संस्कृतिमाथि धावा बोलेर आपसमा फूट ल्याउने प्रयास किन हुँदैछ?

संवैधानिक राजतन्त्र नेपालमा टिकेन। अर्थात् राजा शासनमा रहेनन्। नागरिकता बेच्न राजा बाधक थिए। वास्तवमा धर्मको भरमा राजा टिकेका थिए भनिन्छ। अब जातीय नारा, राजतन्त्र मूर्दाबाद, सेतो हात्ती पाल्न नसकिने भन्दै जनताको छोरा छोरी देशका प्रमुख शासक भएका छन्।

संघीयताले बाइसे चौबिसे राज्यको झल्को दिएको महसुस सबैले गर्न थालेका छन्। यस्तो बेला हाम्रो सनातनी सांस्कृतिक एकता पनि भङ्ग गर्ने प्रयास पनि धेरै हुन थालेको प्रमाणका रुपमा दशैंको साइतमा गर्न खोजिएको विवादलाई लिन सकिन्छ।

विभिन्न बाहनामा सहयोगी विदेशीका भत्ताले हो कि त हाम्रो एकता भंग गर्न खोजेको? कहिले प्रजातन्त्रको नाममा हामी फुट्यौं, कहिले जातीयताको नाममा फुट्यौं कहिले भाषाको नाममा त कहिले हिमाल पहाड र मधेशको नाममा जुदाइयौं।

अब पालो धर्मको आयो। यो सनातन धर्मअन्र्तगतको चाड दशैं कुनै जात विशेषको मात्र नभै सबै सनातन धर्मालम्बीको महान चाड हो। यसलाई एकताबद्ध भएर मनउने कि छुट्टा छुट्टै मनाउने आ आफ्नै बिचार हो। म कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि राजनीतिक संस्था वा समूह कूनै पनि सम्प्रदायसँगको सदस्य वा प्रतिनिधि हैन।

सबैले समयमा नै विचार गरौं आफूले टीका लगाइसकेपछि भोलिपल्ट बालाई आशीष दिने कोसिस नगरौं। त्यसैले जुनदिन नेपालमा टीका लगाइन्छ, त्यही दिन अर्थात् अक्टोबर २६ मा नै लगाऊँ अमेरिकामा पनि।

स्वतन्त्रताको नाममा लुकेर बसेको भत्तावाल पनि हैन। म मात्र सनातन धर्मालम्बी हुँ। हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रा रीतिरिवाज बचे भने न हाम्रो देश बच्ने हो। देश बचे न हामी नेपाली हौं भनेर गर्व गर्ने हो।

तपाईँहरूलाई बिदितै होला नेपाली समुदाय अमेरिकामा बसेको वा पसेको आधा शताब्दि भैसकेको छ। के विजयादशमी गत वर्ष र यो वर्षमात्र हो र अमेरिकामा मनाइएको ? के पैले आएका नेपालीहरूले मनाउदैन थिए र? खै अक्षांश र देशान्तरको हिसावमात्र गरेर हुन्छ र? एक देशमा एउटामात्र संविधान हुन्छ हैन र ? जापान र अमेरिकाको हवाईको दूरी कति होला?

डिसी वा अन्य ठाउँको दूरीको आधार होस् कि जेहोस वत्सरारम्भ चैत्र शूक्ल प्रतिपदा ठीक छ वा २३ दिन फरक छ? के पञ्चाङ्ग भनेको तिथिमात्रै हो वा बार नक्षत्र योग र करण पनि हुन्छ? के गत वर्ष र यो वर्षमात्रै विद्वतवर्गले थाहा पाउनुभयो? वा थाहा हुँदाहुदै पनि लगानी गर्ने समूह वा ब्यक्ति नपाएर नभन्नु भएको हो?

शास्त्रीय वचनमा श्रवणको आवाहन, मूलको विसर्जन, तिथिको ब्यापिन उदयकालीन आदि इत्यादि तर शास्त्र भन्दा ब्यबहार परम्परालाई मान्ने हो कि? खै जनताद्वार नै चुनिएका प्रतिनिधिले वनाएको संबिधानका कारण देशको यो हाल भोग्दै आएका नेपालीहरूको एकता बिदेशमा पनि बिखण्डन गर्न खोजिएको त हैन? हामीमात्र नभई हरेक सम्प्रदायका मानिसहरु आफ्नो मौलिकता छोड्न चाहँदैनन्। त्यसैको नाम सनातन हो।

हरेक सम्प्रदायको आफ्नो धर्म ग्रन्थ हुन्छ। त्यसको आधार लिने चलन हुन्छ। हरेक सम्प्रदायको आफ्नै पुरातन कथा छ हरेक धर्मावलम्बीले आफ्नो ईश्वरको वाणी भनेर कसैले वेद, कसैले कूरान, कसैले वाइवल देखाउँछन्। त्यसैले आफ्नै कथामा जानु वा पछ्याउनु राम्रो होला कि?
भारत पनि विशाल देश छ त्यहाँ दुई दिन दशैको दशमी टीका मनएको कथा सुन्न पाइएको छैन।

भारतीयहरु अमेरिका आएर बसेका छन्। तिनीहरूको नर्थ अमेरिका भन्ने पञ्चांग धेरै वर्षदेखि चली आएको छ। केही वर्ष (करिब ५) देखि नेपाली भाषी भुटानी दाजुभाइले प्रकाशन गर्नु भएको मारूती नन्दन पञ्चाङ्ग पनि छ तर पनि नेपालीहरूले नेपालपछि नै पर्व मनाउँदै आएका थिए अमेरिकामा। के अब हामी एकताबद्ध भएर मनाएको पर्व छुट्टाछुट्टै मनाउने हो अव विद्वान महोदय?

केही वर्ष पहिला पर्व सुधारको नाममा एक महिनापूर्व दशै मनाएको समाचार पढ्न पाइएको थियो। अब परदेशमा पनि हामी मिल्न नपाउने भयौं ? कृष्ण जन्मेपछि कृष्ण कथा, राम जन्मेपछि राम कथा, विविध पुराण हेर्नुस् कही ब्रम्हाले विष्णु शिवको सृष्टि गरेको पाइन्छ, कही विष्णुले ब्रम्हा र शिवको सृष्टि गरेको पाइन्छ।

कहीँ शिवले ब्रम्हा र विष्णुको सृष्टि गरेको कथा पाइन्छ। कतै जगदम्ब भगवतीको मायाबाट संसारको सृष्टि भएको कथा सुन्न पाइन्छ। कतै तीन देवको शक्तिपुञ्जबाट शक्ति प्रादुर्भाब भएको कथा चलिरहेको छ। तर हामी कोही वैष्णव कोही शैव कोह शाक्त भनेर लडिरहेका छौं। वस्तुत हामी सनातनी हौं, सनातनदेखि चलिआएको हाम्रो परंपरालाई निरन्तरता दिऊँ। परम्परा सृष्टिबाट नै सुरू हुन्छ।

हामीभन्दा योग्य नेपाली पहिला आएका रहेनछन् अमेरिका भन्ने बुझ्नु पर्ने नै हो त? अब गणितज्ञ विद्वानहरुको भनाइ मान्ने वा आफ्नो परम्परा धान्ने? यो तपाईँ आफैमा निहित कुरा हो। शास्त्र विभिन्न प्रकारका छन्। वत्ति जति प्रकारका भए पनि प्रकाशका लागि हो।

गाई जतिप्रकारका भए पनि हामी सनातनी हिन्दूको लागि गहुँत, गोबर र दुधका लागि हो तर अरू सम्प्रदायका लागि अरू प्रयोजन पनि हुन्छ, त्यो नकार्न सकिँदैन। तर हाम्रो चाडपर्व एकता र भाइचारासहित सद्भावनाको माहोल बनाउने हो। छुट्ने र फुट्ने वा फुटाउने हैन। सिद्धान्त र ब्यबहार फरक पर्दछ तर पनि एकता एकता नै हो।

सबैले समयमा नै विचार गरौं आफूले टीका लगाइसकेपछि भोलिपल्ट बालाई आशीष दिने कोसिस नगरौं। त्यसैले जुनदिन नेपालमा टीका लगाइन्छ, त्यही दिन अर्थात् अक्टोबर २६ मा नै लगाऊँ अमेरिकामा पनि।

कुनै कुनै विद्धानहरुले नेपाल अरुकै प्रयोगशाला भयो भन्न थालेको सुनेको छु। धर्मको रक्षक ठानिएका राजालाई समेत प्रभावित पारेर सनातन परम्पराभन्दा बाहिर मोड्ने प्रयासहरु हुने गरेका थिए। राजदरबारमा लामो समय काम गरेकाले मलाई केही त्यस्ता घटनाहरु याद छन्। यीमध्ये एउटा यहां उल्लेख गर्न चाहान्छु ।

कुरा २०४३ साल वैशाख शूक्ल अष्टमीका दिनको हो। सदाझै तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्रबीरबिक्रम शाहदेवको दक्षिणकाली सवारी हुने भयो। सवारी व्यबस्थाका लागि तत्कालीन दरवार प्रशासन सुरक्षा निकाय र श्री ५ को सरकारका सम्बन्धित निकायहरूले आफ्नो आफ्नो क्षेत्रको काम सम्पन्न गर्दै थिए।

म पनि राजदरवारको पुरोहितको नाताले पूजाकोठाशाखा राजदरवारका तत्कालीन हाकिम स्व.डमरूबल्लभ पौड्यालसमेत आवश्यकीय पूजा सामाग्री लिएर दरवारको नियमअनुसार अगिल्लो दिन बेलुका करिब ५ बजेतिर नै पूजाको तयारीका लागि पुगेको संझना ताजै छ।

भोलिपल्ट राजारानी, युवराजधिराज, अधिराजकुमार, अधिराजकुमारी, नारायणहिटी, निर्मलनिवास, जीवनकुञ्जबाट सवारी भै पूजा गरिवक्सेको ब्यहोरा जानाकारी गराउँदै गर्दा त्यसदिनको घटना प्रस्तुत गर्दै गर्दा कता कता अहिलेको अवस्था मियोबिनाको दाइँ, राजाविनाको देश त भएनजस्तो पनि लागेको छ। आफ्नो मर्यादा रितिथिति, परम्परा छोड्नु हुन्न कि जस्तो लाग्दछ मलाइ।

मलाइ याद छ, श्री ५ को सवारीभन्दा ३ घन्टा पहिले सानोरानी साहेव सरला, २ घन्टापूर्व अधिराजकुमारी हेलेनबाट पूजा गरी फिर्ता भैसकिवक्सेपछि सपरिवार दुबै भाइ, बुहारी, छोरीहरू समेत साथै श्री ५ वीरेन्द्र र बडामहारानी सवारी भै आफ्नो इष्टदेवताको पूजा गरिवक्सेको थियो। योक्रम राजा गोरखा छोडेर काष्ठमाण्डौलाई राजधानी बनाएबाट नै सुरूभएको हो।

अब कुरोे खेलको गरौं । दक्षिणकाली क्षेत्र सुधार समितिले त्यस क्षेत्रमा भक्तजनलाई सुबिधा दिन भन्दै भैराखेको संरचनाभन्दा फराकिलो बनाउन र देवी देवताको मूर्ति वास्तविक ठाउँभन्दा करिब १ मिटर पछाडि हटाउन तयार पारेको रहेछ। सो योजनामा दरवारका तत्कालीन प्रतिनिधि, दक्षिणकाली र छैमले गाउँ पञ्चायतका प्रधानपञ्च अन्य सम्बन्धित योजनाका पदाधिकारीबाट श्री ५मा केही समय पैले नै दरवारमा विन्ती पत्र चढाएका पनि रहेछन्।

विन्तीपत्रमा मूल देवता दक्षिणकाली बाहेक अन्य मूर्ति सार्न मिल्ने आफूहरूले सम्बन्धित ब्यक्तिहरूसंग परामर्श गरेको र उनीहरूले हुन्छ भनेको कुरा मौसुफमा जाहेर गरेका थिए। तर, राजा त राजा नै हो। चालबाजको चल्याख्याइँलाई राजाले बुझिवक्स्यो। तत्कालीन अञ्चलाधीश बबुन ठाकुरलाई जस्तो लाग्छ (वा अञ्चलाधीश अरू नै हुनसक्छ) जेहोस अञ्चलाधीशलाई अराई वक्सेको थियो।

के के भएको हो के गर्न हुन्छ वा हुँदैन यहाँका स्थानीयवासी , पूजारी, गूठीयार अरू को कोलाई सोध्नुपर्छ सोधेर मलाइ खबर गर भन्ने आदेश बक्स्यो अञ्चलाधीशलाई। त्यसै समयमा दरवारका प्रतिनिधिसमेतका पदाधिकारीहरूले सरकार यो सार्न हुन्छ भनेका छन्, पूजारी, यहाका मनिसहरुले, अब मौसुफले सार्नको लागि हुन्छ भन्दिबक्से काम अगाडि बढ्ने थियो भनेका थिए।

तर, राजाबाट मेरो आडमा कोही कसैलेधर्म संस्कृति रीतिरिवाज र नेपालीको मौलिक परम्परालाई त घात गरेको छैन भनेर बिचार गरिवक्सन्थ्यो । तत्कालै मौसुफबाट यो विषय मलाई जानकारी छैन बुझेर खबर गरौला है भनेर मौसुफले टारिबक्स्यो। यसपछि तत्कालीन दक्षिणकाली क्षेत्र सुधार समितिले राजाको नाम बेचेर बनाएको मूर्ति सर्ने योजना अधुरै रह्यो।

अब त हाम्रो देशमा राजतन्त्र नै छैन। तर, हाम्रो सनातनी परम्परा त छ नि। यो परम्परा जोगाउनु तथाकथित विद्धानलागायत सबै नेपालीको दायित्व र कर्तब्य हो। हिजोका दिनमा धार्मिक विषयमा तलमाथि पार्न खोजे वा सनातनी परम्परामा तलमाथि ल्याउन खोजे राजाले हस्तक्षेप गरिदिन्थे र परम्परा जोगाउन मद्धत पुगेको थियो।

अहिले त्यस्तो कुनै संस्था देखिएको छैन जसले मनपरि हिसावले साइत जुराइदिएर दशैंजस्तो महान् चाडमा पनि नेपाली मनलाई विभाजित पार्ने कामबाट रोकोस्। अव त त्यस्ता ठेकेदारहरुबाट जोगिएर हाम्रो परम्पराअनुरुपको सनातनी पद्धतिलाई जोगाउने दायित्व पनि हामी नेपालीजनकै काँधमा आएको छ। समयमै होस गरौं है।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *