शंकर पोखरेललाई महासचिव बनाउन बालुवाटारमा छलफल

डिसी नेपाल
६ कार्तिक २०७७ १२:३६

काठमाडौं। पार्टी महासचिव रहेका विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएपछि प्रधानमन्त्री ओलीले आफू निकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा गराएर महासचिव बनाउने विषयमा निकट नेताहरुसँग छलफल गरेका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा महासचिव तत्कालीन एमालेबाट विष्णु पौडेललाई बनाइएको थियो। तर पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएपछि प्रधानमन्त्री ओलीले आफू निकट शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा गराएर पार्टीको महासचिवको जिम्मेवारीमा ल्याउने गरी छलफल चलाएका हुन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बासहितको बैठकमा प्रधानमन्त्री ओलीले पोखरेललाई महासचिव बनाउने विषयमा छलफल गरेको स्रोतले जनाएको छ।

‘महासचिव कमरेडले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पार्टीको जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था रहन्छ। त्यस्तो अवस्थामा शंकर पोखरेल कमरेड मुख्यमन्त्रीबाट राजीनामा गराएर महासचिव बनाउँदा कस्तो हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीज्यूले राय लिन छलफल गर्नु भएको थियो,’ स्रोतले भन्यो।

पछिल्लो समय पोखरेल पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्नदेखि पूर्व माओवादी नेताहरुलाई समेत खुशी बनाएर आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश राजधानी बनाउन सफल भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीका विश्वास पात्र रहेका पोखरेल समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने नेता मानिन्छन्। दुई अध्यक्षबीच विवाद बढ्दा पोखरेल बुटवलबाट काठमाडौं आउँछन् र विवाद समाधानमा सक्रिय रहन्छन्। उक्त छलफलमा पोखरेललाई महासचिव बनाउने विषयमा सबै नेता सकारात्मक देखिएको स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *