बिपी प्रतिष्ठानमा ६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

डिसी नेपाल
६ कार्तिक २०७७ १९:५६

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको हो ।

अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाएको छ । उनका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले सात हजार रुपैयाँ धरौटी राख्नुपर्ने र प्रतिदिन दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन रु तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र प्रतिदिन शुल्क रु सात हजार ५ सय तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले रु ६० हजार धरौटी राखी दैनिक रु १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु दुई हजार २ सय शुल्क तोकेको छ । यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो ।

सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ । प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

३९६ जनाको स्वाब फिर्ता

शुल्क निर्धारण गरिएपछि धरान उपमहानगरपालिकाले बुधबार संकलन गरेको स्वाबको नमूना प्रतिष्ठानले फर्काएको छ ।

स्वास्थ्य मन्त्रालयले निःशुल्क नलिनू भनेपछि उपमहानगरले सङ्कलन गरेको स्वाब परीक्षण नगरी फिर्ता गरेको जनाइएको छ ।

रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *