मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे
काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् ।
यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेको भनाइ छ । दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उनको सुझाव छ ।
जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै पक्षलाई मास्क प्रयोग गर्न तथा घर बाहिर निस्केपछि खानाखाजा नखान पनि उनले सल्लाह दिएका छन् । अहिले आइरहेको दशैँ र त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यस समयमा कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन र नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिए ।
उनले भने, “ काठमाडौँका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ र बसहरुमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ ।” काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । उनले भने, “घर जाने व्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, उनीहरुलाई पछि गम्भीर असर गर्नसक्छ ।”
सरकारले के ग¥यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा पाण्डेको सुझाव छ । नेपालमा कोभिड फैलिएको आठ महिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न र र भीडभाड नगर्न नसिकेकामा उनले चिन्ता व्यक्त गरे । मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलन सम्भावना कम हुने उनको भनाइ छ ।
नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा रहेको उनले उदाहरण दिए । ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी नगरेको उनले बताए ।
रासस
Facebook Comment