गोयलसँगको भेटबारे तीन पूर्वप्रधानमन्त्रीले भने– भेटवार्ता भएको छैन, सुटुक्क भेट गरेका ओलीको चौतर्फी आलोचना

डिसी नेपाल
७ कार्तिक २०७७ १८:३९

काठमाडौँ । भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालिसिस विङ (रअ) का प्रमुख सामन्तप्रसाद गोयलसँग पधानमन्त्री के पी शर्मा ओलीले भेटेको भन्दै चौतर्फी आलोचना भएको छ ।

नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको वार्ता हुनु कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै सत्तारुढ नेकपाभित्रै चर्कौ आलोचना भएको हो ।

बुधबार अकस्मात काठमाडौँ उत्रिएका रअका प्रमुख सामन्तकुमार गोयलले बुधबार राति नौ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

स्रोतका अनुसार गोयल बिहीबार विहान १० बजे स्वदेश फर्किएका हुन्। भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन्। यसैबीच पूर्वप्रधानमन्त्रीहरुसँग पनि भेटवार्ता भएको समाचारहरु बाहिरिएको थियो ।

पूर्वप्रधानमन्त्रीहरुसँग पनि भेटवार्ता भएको भनी चर्को आलोचना भएसँगै तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारेका छन् । प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका छन् ।

प्रचण्डका सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आमजनसमुदाय तथा सञ्चार जगत्लाई भ्रममा नपर्न अपिल गर्दछु ।’

त्यस्तै, वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले पनि विज्ञप्तिमार्फत भ्रममा नपर्न अनुरोध गरेका छन् । ‘पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र ‘रअ’का प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यसप्रकारका समाचारबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गौतमको विज्ञप्तिमा छ । गौतमले ट्विटमार्फत पनि भ्रममा नपर्न अन्रोध गरेका छन् ।

उता, कांग्रेस सभापति देउवाको सचिवालयले पनि ‘रअ’का प्रमुख गोयलसँग देउवाको भेटवार्ता नभएको स्पष्ट पारेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री देउवासँग गोयलको भेटवार्ता भएको खबर कपोलकल्पित र निराधार भएको बताएका छन् ।

यस्तै नेपाली कांगे्रसका युवानेता गगन थापाले ट्विट गर्दै प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको बताएका छन् ।

नेकपाकै नेता भिम रावलले पनि ट्विटमार्फत रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको वार्ता हुनु कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *