कथित रुखो कोख (कथा)
आमा यसपटक सुत्केरी हुँदा…म चार बर्षकी थिए हुँला, र माइली दुई बर्षकी । घरको एक अध्यारो कुनामा ठुला ठुला दाउराका मुढाहरु जोतेर बलेका आगोका फिलुङ्गाहरु चटटट्टट गर्दै माथि माथि उड्थे र माथि नै बिलाउँथे । म र माइली आमाको छेउमा बसेर सोतेले आगो फ्वाँ फ्वाँ फुक्तै आमाको काखको बच्चीलाई रहरकासाथ हे¥थ्यौ र बिस्तारै गिलो तालुमा छाम्थ्यौ । आमाबच्चालाई दुधको लाम्टो चुसाउदै बस्नु हुन्थ्यो ।
मेरी कान्छी बहिनी जन्मेकी थिई यसपटकको सुत्केरीमा । बुबाले डाँडा पल्लो पट्टीको खतीवडा माइलाकोबाटलएक बोडी घ्यु केराको हरियो पातमा पोको पारेर आमाको लागी ल्याउनु भयो ।ध्वाँसोले पुरेको कालो हर्पेमा घ्यु खन्याउदै बुबाले भन्नु भयो— ‘मैनाकी आमा !’“यो घ्यु तैले आफै खारेर खानु । सुत्केरीको जिउ आफै बनाउनु ।गरी दिने कोहि छैनन् है ।”मतिर इसारा गर्दै—“तर आगौदेखि मैनाले हातसहारा दिन्छे होली ।”
म आमाको तेस्रो सन्तानको रुपमा जन्मेकी रे । पहिलो सन्तान जन्मीदा सालनालले घाटी फनफनी बेरेर जन्मेको थियो रे । तेतीबेला आमालाई पन्ध्र दिन बेथाले च्यापेर बल्लतल्ल जन्मेकी पेट भित्रै मरीछ । दोस्रो पनि जन्मेको छैटै दिनमा सुताएकै ठाउमा मरेकी थिई रे । एघारबर्षको उमेर हुदा पराईघर भित्रिएकी मेरी आमा प्रथम पटक सुत्केरी हुदा १५ पुरा गरेर १६ मा हिडदै हुनुहुन्थ्यो रे ।
एसपटकआमाको सुत्केरी क्रम पाचौपटकको थियो ।त्यतिबेला माइली, म र कान्छी बाँचेका थियौ । अहिले जन्मेकी कान्छी हप्ता दिनकी भएकी थिई । स्याहार नपुगेका फोहोरी भुराभुरीहरुथियौ । हाम्राकपालका केस्राहरु धुलामैलाले पुरेर लट्टेबाबाको जस्तो जगल्टा भएको हुन्थ्यो । टालाटुली टाँसेर टालेकाहाम्रा जामाका फेराहरु सिंगानका पाप्राले कटकटीएका हुन्थे ।
तै पनि माइली र म लडदै, घुँडा धसार्दै आमाको पछि लागेर मसीना, मसीना कामहरु ग¥थ्यौ । बारीमा सुकेका मकैका ढोडहरु भेला गर्ने, सिक्राहरु थुपार्ने र साँझ खस्न लाग्दा पाथे जर्कीन हात हातमा बोकेर डाडा पल्लोपटी खोल्सामा पानी भर्न जाने ग¥थ्यौ ।
ती मध्ये बैनीहरुको आँची सोहोर्नु, पधेरामा थाङनाहरु पखाल्न जानु, राम्रो नपखाल्दा आमाको कुटाई खानु र कान्छीलाई कम्मरमा बोकेर ४५ डिग्रीको ढल्काइमा हिडनु सारै गा¥ह्रो काम लाग्थ्यो मलाई,र लुकी डुम, छोइ डुम,एकखुट्टे खेलेर आफुलाई ब्यास्त राख्ने चेष्टा गर्थे । आगनैको बाटो भएर गाउकाहरु स्कुल गएको देख्दा मलाईम पनि उनीहरु जस्तै स्कुल जाने रहर लाग्थ्यो ।
समयले हामी सबैलाई आफैसंग घिसार्दै लग्यो । मअलि ठुली भएँ । माईली पनि बडदै थिई ।कान्छी बहिनी ठुली भई । ठुली भन्नाले दुई बर्षमा लागी । साथीहरुसँग म एताउता कुददा, खेल्दा घुुडो धसार्दै पछ्याउथी कान्छी । उसको मुनि पनि अर्की बैनी जन्मी सकेकीले आमातिर झ्याम्मीन बिर्सदै थिई ऊ । उसलाई माईली र म कान्छी भनेर बोलाउथ्यौ । कान्छी ऊ भन्दा मुनि जन्मेकीलाई तोते बोलीमा ‘कान्थी’ भनेर बोलाउथी । उसकी कान्थी छ महिना उमेर खादै थिई ।
बिहान आँगनमा घाम ओर्ले पछि आमाले कान्थीलाई घमाइलो चोक्टामा गुद्री माथी थाङनाहरु ओछ्याएर लडाउनुहुन्थ्यो र काम गर्नु हुन्थ्यो । उत्तानो पल्टेर अबोध हात खुट्टाहरु हल्लाइरहेकीहुन्थी कान्थी । कान्थीको यी सब कृयाकलापहरु छेउमा बसेर निकैबेर गमेर हेर्थी कान्छीर अनुहारमा बेस्कन कोतरेर लरखराउदै भाग्थी । हावामा निस्फीक्री हातखुट्टा हल्लाउदै खेलीरहेकी कान्थी एक्कासी च्याँ गरेर कहालीदै रुदाँआमा भित्र कतैबाट ठुलो श्वारमा कराउनुहुन्थ्यो— ‘मैना ! ए मैना !’“कान्छीलाई कुखुराले ठुङग्यो की ! हेर त ।”
म कुददै गएर रुदै गरेकी कान्थीलाई टिपेर काखमा बोक्थे, र त्रसित मुद्रामा आँगनको कुनामा च्यापीएर लुकेकी कान्छीलाई बेस्कन झपार्थे ।
००० ००००००
घाम डुबेपछिरात र आकाशमा टिलपिलाएका ताराहरु वा निस्कलंक हासेको चन्द्रमाको अस्तित्व हराउदै गए पछि दिन हुने क्रम चलीरहयो । बर्खामा बर्षा,बादल, घामपानी र हिउदमा हिउँ माथी माथीको डाडाहरुमा टिलिक्क टल्कने गरी थुप्रीयो । त्यो माथी टल्कने सेतो हिउलाई हेर्दा हेर्दै शरिरकाप्ने ठन्डी बहन थाल्थ्यो । केहिबेर पछि घमाइलो घाम लाग्थ्यो र शरिर आमाको काखमा जस्तै न्यानो भएर आउथ्यो । तर हाम्रो घरको अवश्थाहरुउस्तै रहे । आँगन उस्तै ढुङगेनी गग¥यान थियो । बाख्राका खोरहरु छानो बिनाका उदाङ्ग थिए । कुखुराको खोरमा उस्तै गरी उपियाँ र सुलसुलेको साम्राराज्य चलेकैथियो । तातो पानी कतिपटक खन्यायौ । सिवालीका पातहरु कोच्यौ तर उपीयाँ र सुलसुले कम भएनन् । बरु परिवर्तन स्वारुपम सात बर्षकी भएँ । माईली पाँच बर्षकी,कान्छी तीन बर्षकी र अर्की कान्थी डेड बर्षकी, टुकुटुकु हिड्ने भई । भल्टाङभुल्टुङ हामी चार बैनी भएका थियौ । आमा र बुबा पछीको घरकी ठुली मान्छे भन्नु म मात्र थिएँ । हामीले आमालाई सगाउने काम अलि बिस्तृत भएर….बारीका सिक्राहरु भेला गरेर आँगनमा थुपार्ने, पानी भर्ने, घर आँगन बडार्नेे, बाख्राहरु खोरबाट निकालेर टाट्नोमा बाध्ने, कुखुराहरुलाई चारो दिने, बैनीहरुको रेखदेख गर्ने इत्यादी भएको थियो ।
भदौ महिनाको एउटा साँझभदौरे झरी जोड जोडले दर्की रहेको बेला म र माईली कर्कलोको ठुलो पात शिरमाथी छाता जस्तै ओढेर कुखुराहरु खोरमा हुल्दै थियौ । त्यही साँझ आमा खोल्ना पछाडी गएर बाख्राको टाटनोको आडमा पेट मिच्दै रुदै बसेको देख्यौ । छिन छिनमा ऐया ! ऐया ! भन्दै चिच्याउनु हुन्थ्यो । छटपटाउनु हुन्थ्यो । उठेर कतै कुदौ जस्तो गर्नु हुन्थ्यो । पछारीनु हुन्थ्यो । लतारीनु हुन्थ्यो । आफ्नो कपाल आफै बेस्कन लुछ्नु हुन्थ्यो । बर्रर आँसु झार्दै चाम मार्नुहुन्थ्यो । बेस्सरी बल गरेर कन्नु हुन्थ्यो । सास रोकेर घोप्टो पर्नुहुन्थ्यो । ती अद्भुत पीडाहरुमा आमालाई साहारा दिने कोहि थिएनन् त्यहाँ । आमाको अनुहार रातो, निलो भएर आउदै थियो ।ऐया मरेनी ! ऐया ! भनेर ड्याम्म भुइमा लतारीनु भयो र निकैबेर हलचल गर्नु भएन । म अतालीएर “निनी…” भन्दै डाडामाथी दौडीदै गएँ ।
बुबाको टुङगो थिएन । गाऊँमा कतातिर लाग्नु भएको थियो कुनि । कुददै गएर डाडाघरे निनीलाई डाकेर ल्याएँ ।
साईली दिदी ! मन दरो पार, नरोऊ भन्दै उहाँले आमाको पेट सहानुभुति स्वारुप छामी दिनु भयो । तोरीतेल तताएर तालुमा ठोकी दिनु भयो । केहिबेर पछि पल्लोघरे काकी अतालीदै आएर “एस्तोले हुदैन दिदी, म फेदाङमा लिएर आउछु ।” मैना! तँ तेरो बुबालाई खोजेर ले जाँ ” भन्दै काकी गैरी गाऊँ कुदेर झर्नु भयो ।
मिलीक्कफेदाङमा डाकेर ल्याउनु भएछ । कान्छी र कान्थी नारीएर सात्तै नभए जसरी आमालाई हेर्दै उभेका थिए । फेदाङमाले डाँडामा निस्केर फलाक्दै चामलको दाना बाटोतिर फ्याक्यो । आमाको शरीर सेउलाको मुठोले सोरेर तल घु¥यानबारीमा हुत्यायो । डालीयाको सेतो एक थुङगा दोबाटोमा मन्छायो । आमा तेतीकै लछारीदै पछारीदै चिच्याई रहनु भएको थियो ।
मर्दै बाच्दै बल गरेर कन्नु हुन्थ्यो आमा। पछाडीबाट आइमाईहरु भन्थे— “बल लगा साईली ! अझ बल लगा ।”
रातको १२ बज्यो । एक बज्यो ।दुई बज्यो । तीन बज्यो । चार बज्यो र पनि आमाको ज्यान लिने काडा सरी बिझेको त्यो बच्चा भुइमा झदैै झरेन । आमा कतिपटक बेहोस हुने र फर्किने गर्दैहुनुहुन्थ्यो ।आमा बेहोस हुदाँभेला भएका आइमाईहरुले थोत्रो थाङनालाई जसरीे लछारपछार पार्दै “साईली ! हैन के भको तंँ ?” भन्दै चिच्याउँथे, कराउँथे । आमाको अनुहार भरि लोटाका लोटा पानी खन्याउँथे । फेदाङमाले मन्तरेको अछेता मुख भरी कोची दिन्थे । बुबा भने दाउरा गिड्ने भुत्ते खुकुरी हातमा लिएर ठट् ठट्, बोक्सी डाइन, भुत पिसाद हट भन्दै आमाको नजीक उभीएर खुकुरी नचाउनु हुन्थ्यो । दलीनका काठहरुमा, खाबोहरुमा डाङडाङ डुङडुङ हान्नु हुन्थ्यो । वरीपरी बसेर हामी क्वाँक्वाँ रुन्थ्यौ र धेरैबेर पछि आमा फर्कनु हुन्थ्यो ।
छर्लङगै उज्यालो भयो । रातभरीको बर्षाले पखालेको दिन घामको कलीलो लालीसँगै आँगनको डिलमा उपश्थित भयो । हाम्रा अत्यास लाग्दा क्षणहरु आमाको पिडा कुनबेला कम हुन्छ भन्नेमा केन्द्रित थियो । आमा सिकुवाको खाबो समाएर ओइलीएको साग जस्तै लत्रीराख्नु भएको थियो ।
अचानक सुडेनी बजु कराइन्— “बच्चाको टाउको निस्कीयो है, निस्कीयो ।बल गर साईली, भए भरको बल गर ।”
आमाले बेस्कन बल गर्नु भयो । धर्ती थर्कमान हुने गरी चिच्याएर बल लगाउनु भयो । खाबो अठ्याएर बल लगाउनु भयो ।त्यो अन्तिम पटकको प्रयासमा आमाको सफलता स्वारुप बच्चा भुईमा झ¥र्यो र च्याँ गरेर रोयो ।
सुडेनी बजुले तलको अंग हेर्दै भनीन् — “थुक्क ! साईलीको कोख नै रुखो रहेछ ।”
उसको आगमन सगै अब हामी पाँच बैनी भयौ ।
जती कान्छीहरु जन्मन्थे उती ममाथीको जिम्मेवारी र कामका बोझहरु थोपरीदै जान्थे । बैनीहरु सबैजना मेरो जिम्मामा छाडेर आमा र बुबा त…ल पताले खेतमा कमाईखेती गर्न झर्नुहुन्थ्यो । साँझ झमक्क परेकोबेला लखतरान भएर आइपुग्नुहुन्थ्यो,र तरतरी चुहिदै गरेको पसिना पटुकाको फेराले पुछेर खाँबोको आडमा कान्छीलाई दुध चुसाउनुहुन्थ्यो आमा ।
कान्छी चिप्लेकिरा जस्तो जबरजस्ती घिस्रीन सुरु गरी । घिस्रीदै जादा देखे भेटेका वस्तुहरु टिप्दै मुखमा हाल्थी । सिकुवाको डिलबाट पछारीन्दै आगनमा झर्थी । केहि महिना पछि ताते हिड्ने भई । तेसरी हिडदा घरका भित्ताहरुमा, खाबोहरुमा, चुलोको डिल डिलमा, आँगनमा उठेका चुच्चा ढुङ्गाहरुमा लडेर ठोकीन्थी । हिरीक्क हुने गरी रुन्थी । तर…अब फेरी ऊ पनि दिदी बन्नेवालाथिई । किनभने आमा सिकुवाको खाटमा पल्टेर आराम गर्दा दमाहा जस्तो उच्च उठेको भुडी हुन्थ्यो । हात्ती जस्तो कोल्ट्याक कोल्ट्याकभद्दा हिड्नुहुन्थ्यो र बढी नै स्याँ स्याँ गर्नुहुन्थ्यो ।
मंसीर लाग्यो । मंसीर महिनासगै ठन्डी उर्लेर आउदै थियो । मुटु छेड्ने हिमालको चिसो हावा हाम्रो वरीपरी बहि रहन्थ्यो । त्यो कठोर चिसोलाई तह लगाउने हामीसंग मजबुत कपडाहरुथिएनन् र लुगलुगी काप्दै काम गर्ने,खेल्ने ग¥थ्यौ ।तै पनि कृषकहरुको एउटै मात्र चाड अन्नबाली थन्काउने मौका पनि मंसीर महिनाले नै भिरेर ल्याएको हुन्थ्यो । खेतमापहेलपुर झुलेर धान पाक्यो । बारीमा कोदोको बालाहरु झुप्पा झुप्पा फलेकाथिए । तनमनै तिनै पाकेको अन्नबाली थन्काउनुमा एकोहोरीएको हुन्थ्यो । तेसैले धान थन्काउन बुबा आमा पातालखेतमा झर्नुभयो । आमाले ठुलोे भाङग्रो बोकेर,“मैना ! कान्छीलाई भोकाउदा भात खुवाउनु, बाख्राहरुलाई तितेपाती काटेर हाली दिनु । तिमेरले उसिन्या इस्कुस खानु” भन्दै तलतिर लाग्नु भयो । उहाँको अनुहार तेल निख्रिएको कुपी जस्तो धिपधिपे मधुरो देखेकी थिएँ ।
त…ल पाताल खेतमा आमालाई मध्यदिन देखि सुत्केरी बेथाले भेट्यो रे । धानका बिटाहरु पुछार गराबाट खले गरामा ओसार्दै गर्दा एकदम सिकिस्त भएर कुनोमा थचक्क थचारीनु भएको साने काकाले बिटा बाध्दै गर्दा देख्नु भयो रे । छेउमा गएर “के भयो भौजे ? दाजुलाई बोलाऊ की ?” सोध्नु भयो रे ।
गहभरि आँसु पारेर आमाले खेतको भित्तोको आड लिद,ै “कान्छा ! दाजुलाई बोलाई देऊ ।मलाई सन्चो भएन,” भन्नु भयो रे । साने काका साँझमा आउदै एस्तो फुर्ती लडाउनु हुन्थ्यो हाम्रो अगाडी । “मैले नदेखेको भए यी भौजु रहने थिईनन् । ” भन्दै हाक लगाउनुहुन्थ्यो साने काका । बुबाले गफको सुरै सुरमा भन्नु हुन्थ्यो— “तेरो भौजुको त कोख नै रुखो हाउ कान्छा । वंश मासीएला भन्ने कत्रो पीरलो छ । लोकले मलाई के भन्लान् ।”
एसपटक आमालाई बेथा लागेको पाँच घण्टा पनि नबित्दै बच्चा जन्मेछ । डो¥याएर घरमा ल्याउदै गर्दा त..लको एक्ले बरको फेदमा जन्मीछे मंसीरी । साँझमा आमा हातमा बच्ची च्यापेर घिसीर्दै घर आइपुग्नु भयो । बुबा धानको बोरा बोकेर पछि पछि हुनुहुन्थ्यो ।
अब उसको आगमनसगै हामी छ बैनी भयौ ।
तर प्रत्येक पटकको जलनसगै उहि अंग, उहि स्वरुप,उहि चित्र देखेर आमाको अनुहारमा एककिसीमको पिडाबोध भएको देखे । बिचरी मेरी आमा सुत्केरी कुनोबाट निस्कीदै फुलेको पेट लिएर निस्कीनु अनि हरेक डेड, दुई बर्षको अन्तरालमा घनघोर दुखाइ भित्रत्यो एउटा अंगको खोजीमा डरलाग्दो पिडा स्विकार्न बाध्य हुदै जानु र रातदिन लोग्नेको कचकच, गाउलेहरुको “कोख नै रुखो, अब साइलीले छोरा पाउदीन” भन्ने ठोकुवाहरुले कति दुख र अब्यक्त गुनासाहरु गाँजीएका थिए आमाको मनमुटु भित्र…..।
१३ बर्षकी भएँ । म १३ बर्षकी हुन्जेलमा आमा आठ पटक मर्ने बाँच्ने गर्दै सुत्केरी हुनु भएको थियो । एकदिन कलीलो मनले कलीलै पारामा आमालाई सम्झाएँ —“आमा ! अब हामी सबै ठुला भईसक्यौ । काखमा अर्की बैनी दुध चुस्दैछे । छोरा भए पनि छोरी भए पनि तपैहरु कै सन्तान हामी पनि…यो भन्दा धेरै बच्चा नपाउनु है । अब कहिल्यै दुइजीउको नहुनु ल ।”
मेरो बोली नटुङगीदै आमा सन्केर बोल्नुभयो—“यो सप्पै तेरो बुबालाई भन मैना ।म केहि जान्दीन ।”
आमालाईपनि त्यो ज्वालाबाट उम्कन त मन रहेछ भन्ने लाग्यो, भने— “जन्माउने त तपै नै हो नी, बुबाले हो र ?”
आमालाई मैले त्यसरी सम्झाउँदा सायद आमाको पेटमा फेरी अर्को कोहि हुकर्दै थियो !किनभने आमाको कम्मरमा मिलेर गुन्युँ अडिन छोडेको थियो । घरी घरी वान्ता गर्न घर पछाडी कुद्नु हुन्थ्यो ।
पताले खेतमा जन्मेकी कान्छीको नाम मंसीरी रहयो । उसको जन्मपछि बुबा निकै रुष्ट हुनुुहुन्थ्यो आमासंग । आमा माथी हातपात गर्ने नौलो बानी बस्यो बुबाको । एकदिन भात खादै गर्दाबुबा रीसले पिरो हुदै अचानक आमाको चुल्ठोलुछ्न थाल्नु भयो । लछारपछार पार्न थाल्नु भयो । के बिषयमा हो कुन्नी, बुबा दिउसै देखि धेरै नै गनगन गर्दै हुनुहुन्थ्यो । हामी “बुबा आमालाई नकुट्नु न ” भन्दै रुन थाल्यौ, चिच्यायौ । बुबाको त्यो अकल्पनीय ब्याबहारले बढी नै त्रसीत बन्यौ हामी ।
तेसरी कुटाइ खादा पुलीसको अगाडी झुकेको एक कुख्यात अपराधी झै निरीह बसीरहनु भयो आमा । उहाँको आखाँ मधुरो तारा जस्तै पिलपिल टल्कदै मलाई हेर्दैआँसुका ढिकाहरु झार्नुभयो । सम्झन्छु—सहयोगको याचना थियो होला ।
त्यो दिनको हातपातले आमाको अनुहार भकुन्डो झै भुक्क फुलेर आयो ।हातखुट्टा भरी आकारबिहिन ट्याटु जस्ता निलडामहरु बसे । कान्छी भनौ मंसीरी घोक्रो सुक्ने गरी रुन्थी । अबोधकान्छीको रुवाईको कुनै अर्थ लाग्न छाड्यो। कान्छीको भोकतिर्खा वेवास्ता हुनथाल्यो । लगातार छोरीहरुजन्माउनु आमालाई अपराधबोध भयो क्यार ! भन्नुहुन्थ्यो— “थुइय ! बरु यो कोख बाझै रहेको भएहुन्थ्यो ।”
दसै आउन लागेको थियो । घरआँगन सम्पुर्ण अस्तब्यास्त थियो । हाम्रो दैनिकीहरु यथावत थिए । आमा छोरीहरुजन्माइरहने । बुबा बेखबर बाहिर जाने, बेखबर आउने र आमासँग झगडा गर्ने । बैनीहरु क्रमस ठुला हुदै थिए ।आमाले बच्चामाथी बच्चा पाउने क्रममा गुनासोहरु हुन्थे हाम्रो ।आक्कलझुक्कल बैनीहरु स्कुल जान थालेका थिए । घरको सारा बोझ मै माथी थियो । अब आमा दसौ पटक सुत्केरी हुनेवाला थिइन । आमाको दमाहा जस्तो पेट जती जती बढ्दै जान्थ्यो, उती उती मलाई असहिय त्रासले छोप्थ्यो । आमाको प्रसुती छटपटीहरु आखाँ भरी नाचीरहन्थे । पिडाका चित्कारहरु कान भरी गुन्जीरहन्थे । र कति कति बेला एसै मुटु जोड जोडले उफ्रे जस्तो ग¥थ्यो । महिना पुग्यो, आमा सुत्केरी हुने दिन आयो ।
चकमन्न थियो घर…। आमा चुलाको छेउमाझोर्कीएर बस्नु भएको थियो । चुलोमा आगो बलेको थिएन ।छेउमा गएर सोधे— “आमा ! बच्चा जन्माउने बेथा लाग्यो की ?”
आमा मुन्टो बाङगो पारेर निरास मौन रहनु भयो । हेर्दा हेर्दै पातलो छालाले ढाकेको उहाँको अनुहार भुमरी जस्तै बटारीएर आयो । खुइय ! खुइय ! गर्दै डम्म उठेको भुडी निचोर्न थाल्नु भयो । छिनछिनमा घर पछाडी जादै पिसाब फेरे जस्तो गर्न थाल्नुभयो । दाँत किटिटिटि आवाज आउने गरी किट्न थाल्नुभयो । आमालाई सुत्केरी बेथा लागेको भन्ने बुझे ।सुत्केरी हुने क्रममा बिरामीलाई के के उपाया अपनाउने भत्रे ज्ञानहरु बैनीहरु जन्मीने क्रममापाईसकेकी थिएँ । आमाको बेथामा अब गाउले सुढेनीहरु डाक्न छोडेकी थिएँ ।
घ्युमा ज्वानोपानीझानेर तात्तातो खान दिए आमालाई । तोरीको तेलमा मेथी पट्काएर तालुमा ठोकी दिएँ । पेट बिस्तारै सुम्सुम्याई दिएँ । ढाड थिची दिएँ । वान्ता गर्नु भयो । माईलीले तातो पानी तताएर ल्याई । कर गरेर खान दिएँ । आमा बल गरेर कन्नु हुदाँ आमाले समाउन सक्ने गरेर छेउमा उभी दिएँ । बेथालागेको नौ घण्टा बित्यो ।
के जन्मिन्छ ? कतिबेला जन्मिन्छ ?भन्ने कौतुहलता भैरहेको थियो मलाई । आमाको चेहरामा प्रसुती पिडा भन्दा धेरै पश्चताप र त्रासहरु थिए ।मुटु चुडाल्ला जस्तो चिसो हाम्रो पुरै शरीरलाई चिस्याउदै पश्चिमतिर सर्रर दगु¥र्यो । चिसोमा लुगलुग काप्दै आमाको पिडामा सहानुभुती स्वारुप त्यही बसीरहयौ । पश्चिमतिर बासको झ्याङले छेलीएका पातला कापहरुबाट गोधुली टल्कीयो,र हेर्दा हेर्दै रातो डल्लो त्यहिमुनी डुबेर हरायो । झपक्क अध्यारोले सबैलाई छोप्यो । तेती नै बेला बच्चा च्याँ गरेको सुने ।
हडबडाउदै ‘माईली !’“के जन्मेछ ? जाँ कुपि ले र आइज त हेरौ,” अराएँ ।
आमाको अनुहार त्रासै त्रासले गाँजेर कच्याककुचुक परेको थियो ।
उत्सुकताका साथ माईलीले हत्तपत्त कुपी सल्काएर ल्याई । मैले नवजात शिशुमाथी खोप्टीएर निकैबेर हेरे, आखाँ मिच्दै नियालेर हेरे, छामेर चिच्याएँ—‘आमा!’“छोरा जन्मेछ नी । हाम्रो भाइ जन्मेछ आमा ।”
सारा जलनहरु दबाएर आमा हामी सबैलाई हेर्दै मुस्कुराउनु भयो । आमा हाँसेको सम्भवत प्रथम पटक देख्दै थिएँ । उहाँको हँसीलो अनुहारबत्तीको मधुरो प्रकाशमा जुन जस्तै टल्केको थियो । भुईमा लडीराखेको भाइलाई छाम्दै अ¥हाउनु भयो— “जाँ मैना ! गएर तातो पानी तताएर ले । तेरो भाइलाई नुहाइ दिऊँ ।”
दौडिदै गएर आगोको मुस्लोमा पानी तताएँ । सबैजना भएर भाइलाई सफा ग¥यौ । फुलबुट्टे थाङनाले बेरेर न्यानो बनायौ ।बुबा पनि कुकुच्चोले चप्पल फ्याट, फ्याट हिर्काउदैआइपुग्नु भयो, र आमाको छेउमा उभिएरभन्नुभयो— खै खै हेरुँ हेरुँ ?
महाभारतको युद्धमा विजय प्राप्त गरेको अर्जुन झै दम्भ बोकेर मुस्कुराउदै आमा छरीतो बोल्नु भयो— “ल ल हेर तिम्रो छोरा ।” मुनिको थाङना खुट्टापटीबाट उचाली दिनु भयो ।
बुबाले तलको अंग हेर्दै घप्प फुलेर उदघोस गर्नुभयो—“ल बुढी ! आजदेखी तेरो सारा दुखहरु गए ।”
Facebook Comment