‘रअ’ प्रमुख र ओलीको भेटबारे बचाउमा उत्रिए शंकर पोखरेल

डिसी नेपाल
८ कार्तिक २०७७ २२:३९

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री के पी शर्मा ओलीको भेटबारे चौतर्फी आलोचनाको बचाउ गरेका छन्। उनले प्रधानमन्त्री ओलीको आलोचना भएकोमा समेत असन्तुष्टि पोखेका छन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा नेपाल भ्रमण गरेको दाबी गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेका ओलीले नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान बिपरित गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भइरहेका वेला ओलीनिकट मानिने नेता पोखरेलको यस्तो भनाइ आएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देशबाहकका रूपमा ‘रअ’का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियति ? बुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ । नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् कामना गरौँ।’

भारतिय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली…

Posted by Shankar Pokhrel on Saturday, October 24, 2020

रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको वार्ता हुनु कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै सत्तारुढ नेकपाभित्रै चर्कौ आलोचना भएको थियो। बुधबार अकस्मात काठमाडौँ उत्रिएका रअका प्रमुख सामन्तकुमार गोयलले बुधबार राति नौ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

स्रोतका अनुसार गोयल बिहीबार विहान १० बजे स्वदेश फर्किएका हुन्। भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन्। यसैबीच पूर्वप्रधानमन्त्रीहरुसँग पनि भेटवार्ता भएको समाचारहरु बाहिरिएको थियो ।

तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि भेटका विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ ।

गोयलको नेपाल आगमनबारे नेपाल सरकार र भारतीय दूतावासले केही बताएको छैन। नेपालले आफ्नो भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले आपत्ति जनाएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *