च्याङ्ग्रा चराउन चीन
महेन्द्रनगर । बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा÷च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ ।
कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङ्गको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेडा÷च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न थालेका छन् ।
दशैंका लागि ११२ वटा भेडा÷च्याङ्ग्रा पोखरामा बिक्री गरेर फर्किने क्रममा धनगढी पुगेका साइपाल गाउँपालिका–१ धलनका उब्जन बोहराले यस पटक रु ३० लाखको च्याङ्ग्राको कारोबार भएको बताए । “साइपालबाट बिक्रीका लागि पोखरा पुगेका १२÷१४ वटा ट्रक भेडा÷च्याङ्ग्रा किनबेच भए”, बोहराले भने, “ यस पटक नयाँ व्यापारी पनि बझाङ्गबाट त्यहाँ पुगेको भेटिए ।”
उनका असार, साउन महिनामा आफूहरु भेडा÷च्याङ्ग्रा चराउन साइपाल हिमालको पाटन हुँदै चीनको उरै भञ्ज्याङ नाका पारिसम्म वर्षौदेखि जाने गरेको बताए । “उरै नाका वारितर्फ चीनको गोडोहाल्ना र बैँस भन्ने ठाउँमा हामीहरु हरेक वर्ष भेडा÷च्याङ्ग्रा चराउन जान्छौं”, उनले भने, “ वर्षातपछि हिउँ पर्न सुरु भएपछि तल गाउँतिर झर्छौ ।” साइपाल हिमालको पाटन र चीनको सीमावर्ती भूमिमा भेडा÷च्याङ्ग्रा चराउँन जाँदा उतै टेन्टमा बास बस्ने गरेको उनले बताए । “ चिनियाँहरु पनि अलि पहिलेसम्म हाम्रो क्षेत्रमा चौरीगाई चराउन आउथेँ ।” उहाँले चीनले उरैनाकासम्म आफ्नो भूमिमा यातायात सेवा विस्तार गरिसकेको बताए ।
केही वर्षअघिसम्म डोटीको पेल्या लेकसम्म पनि बझाङ्गबाट भेडा÷च्याङ्ग्रा चराउन आउने गरेको पशुपालक किसानहरुको भनाइ छ । “अहिले सो क्षेत्रमा रहेका सामुदायिक वनहरुले भेडा÷च्याङ्ग्रा चराउन गएवापत प्रति भेडा रु एक सय राजश्व लिने गरेका छन्”, साइपाल गाउँपालिका–३ काँडाका मोहन बोहराले भने, “ भेडा÷च्याङ्ग्रा पालनको व्यवसायमा लाग्ने कृषकलाई राज्यले पनि अनुदान र सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।”
उनले आफू पनि ११० वटा भेडा÷च्याङ्ग्रा पोखरामा बिक्री गरेर बझाङ्ग फर्किन लागेको बताए । “ पोखरामा बिक्री गर्न एक साता जति समय लाग्यो”, उनले भने, “ गाउँमा प्रायः स्थानीयको व्यवसाय भनेकै भेडा÷च्याङ्ग्रा पालन गर्ने हो ।” बझाङ्ग सदरमुकाम चैनपुरबाट साइपाल गाउँपालिका पुग्न दुई दिन पैदल हिड्नुपर्ने हुन्छ । त्यहाँसम्म पुग्न पैदल गोरेटो बाटो निर्माण भइसकेको साइपाल गाउँपालिकाले जनाएको छ ।
विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा÷च्याङ्ग्रा खरिद बिक्रीमा स्थानीयहरु सोही गोरेटो बाटो प्रयोग गर्ने गरेका छन । यस पटक स्थानीय किसानहरुले च्याङ्ग्राको तौल हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर पोखरामा रु ३० हजार भन्दा बढी मूल्यमा बिक्री वितरण भएको जनाएका छन । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले त्यहाँका किसानहरुले वार्षिक रु डेढ देखि दुई करोडको भेडा÷च्याङ्ग्रा बिक्री गर्ने गरेको बताए । उनले भेडा÷च्याङ्ग्रा पालनमा सक्रिय किसानहरुलाई संघ र प्रदेश सरकारबाट अनुदान वितरण गर्ने विषयमा कुराकानी भइरहेको बताए । सो गाउँपालिकामा जडीबुटीको व्यापार चीनसित हुने गरेको छ । उहाँले चैनपुर–ताक्लोकोट सडक खण्ड निमार्णाधीन भएपनि कामको गति सुस्त भएको बताए । “ हाम्रो गाउँपालिकासित जोडिन अझै २÷४ वर्ष लाग्ने देखिन्छ”, उनले भने, “ट्रयाक खोल्ने काम पुस, माघमा हिउँले र वर्षातमा पानीले प्रभावित हुन्छ ।”
उता चीनले भने उत्तरी नाकाको नेपाल–चीन सीमासम्म सडक सञ्जाल विस्तार गरिसकेको उनले बताए । “ पहिले नेपाल–चीन सीमाबाट तीन दिन हिडेर यो नाकाबाट कैलाश मानसरोवर तीर्थ यात्रामा जान्थे”, अध्यक्ष धामीले भने, “ चीनले सीमासम्म सडक ल्याएपछि एक दिनको यात्रामा पुगिन्छ ।” गाउँपालिकाबाट चीनसितको सीमानामा पुग्न तीन÷चार दिन लाग्छ ।
स्थानीयलाई मानसरोवर जान गाउँपालिकाको सिफारिसमा चीनले जान अनुमती दिने गरेको छ । “ कोरोनाका कारण अहिले यो नाकाबाट आवागमन ठप्प छ”, धामीले भने, “ अरु बेला यहाँबाट वार्षिक २÷३ हजार तीर्थ यात्रुहरु कैलाश मानसरोवर जाने गरेको रेकर्ड छ ।”रासस
Facebook Comment