कोरोनाभाइरसः चीनको वुहानमा गरिएको अध्ययनमा देखियो चिन्ता बढाउने नतिजा
काठमाडौं। कोरोनाभाइरस संक्रमण सबैभन्दा पहिले पुष्टि भएको चीनको वुहान शहरमा गरिएको एक अध्ययनमा चिन्ता बढाउने नतिजा आएको छ । यहाँ कोरोनाभाइरसका विषयमा गरिएको अध्ययनमा वुहानका ४ प्रतिशतभन्दा कम मानिसहरुमा मात्र कोरोनाभाइरसको एन्टिबडी भएको पाइएको छ । यसको अर्थ वुहान शहरले कोरोनाभाइरसविरुद्ध इम्युनिटी हासिल गर्न नसकेको भन्ने हुन्छ ।
वुहानमा गएको डिसेम्बरमै कोरोना संक्रमण भेटिएको थियो । यही कारण वुहानलाई कोरोनाको इपिसेन्टर पनि भनिन्छ । कोरोना संक्रमणका कैयौं केसहरुमा कुनै लक्षण नदेखिने भएकोले वुहानमा आधिकारिक रुपमा पुष्टि भएका संक्रमितको तुलनामा कैयौं धेरै मानिसहरु संक्रमित भएको अनुमान गरिन्छ । तर, पछिल्लो अध्ययनका अनुसार वुहानका धेरै मानिसहरुमा कोरोनाको इम्युनिटी पाइएन वा उनीहरुमा इम्युनिटी विकसित भएको भए पनि त्यो निकै कम थिगयो । यो अध्ययन जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित भएको छ ।
यो अध्ययनले कोरोनाभाइरसविरुद्ध हर्ड इम्युनिटी विकसित हुने अपेक्षा पूरा हुन निकै कठिनाइ हुने देखाएको छ । चीनको तोंगजी अस्पतालका अनुसन्धानकर्ताहरुले २७ मार्चदेखि २६ मेका बीचमा वुहानका ३५ हजारभन्दा धेरै मानिसहरुको एन्टिबडी जाँच गरेका थिए । यीमध्ये धेरैमा आइजीएम एन्टिबडी पाइएन । आइजीएम एन्टिबडी संक्रमणलगत्तै शरीरमा विकसित हुन्छ । पछि तयार हुने आइजीएम एन्टिबडी लामो समयसम्म शरीरमा रहन्छ । अनुसन्धानमा सहभागीमध्ये केवल ३.९ प्रतिशत मानिसहरुमा मात्रै यो एन्टिबडी पाइयो ।
Facebook Comment