प्रधानमन्त्री र अंगरक्षकलाई राष्ट्रपतिको टीका

डिसी नेपाल
१२ कार्तिक २०७७ १०:०१

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यो वर्षको विजया दशमीका आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेर मनाइन्। त्यसपछि राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनीलाई पनि टीका लगाइदिएकी थिइन्।

राष्ट्रप्रमुखको हैसियतले गत वर्षहरुमा राष्ट्रपतिको हाटबाट टीका लगाउनेको शितल निवासमा भीड लाग्ने गथ्र्यो। तर यो वर्ष कोभिड–१९ का कारण घटस्थापनाकै दिन राष्ट्रपति कार्यालयले सूचना जारी गरी सार्वजनिक टीका ग्रहणको कार्यक्रम नराखिएको जानकारी गराएको थियो। राष्ट्रपति कार्यालयले सूचना जारी गरेपनि विशिष्ट व्यक्तिदेखि सर्वसाधारणसम्म राष्ट्रपति कार्यालयमा टीका थाप्न गएनन्।

स्रोतका अनुसार राष्ट्रपतिले यो वर्ष आफ्ना सुरक्षाका खटिएका र घर जान नपाएका नेपाली सेनाका अधिकृतलाई टीका लगाइ दिएकी थिइन्। पारिवारिक रुपमा मात्रै दशैं मनाएकी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइ दिएकी थिइन्।

प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली लडकाउन अगाडि नै गृहजिल्ला झापा गएका कारण उनी काठमाडौंमा आउन पाएनन्। बुवा झापा भएपनि प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यले राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेका थिए।

राष्ट्रपति कार्यालयले सार्वजनिक टीकाको कार्यक्रम नराखेपछि नेपाली सेनाका प्रधानसेनापति लगायत अन्य विशिष्ट व्यक्तिहरु पनि टीका थाप्न शितल निवास गएनन्।

‘राष्ट्रपति कार्यालयले सूचना जारी गरेर राष्ट्रपतिज्यूबाट पहिलाको जस्तो टीका लगाइ दिने सार्वजनिक कार्यक्रम नराखिएकाले र जो जहाँ छौं, त्यहीँ दशैं मनाऔं भन्ने सरकारको नीतिलाई सहयोग गर्न आग्रह गरेको थियो,’ राष्ट्रपतिका प्रेसविज्ञ डा. टीका ढकालले डिसी नेपालसँग भने, ‘उक्त सूचनाले सहयोगको काम गर्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *