राष्ट्रपति कार्यालयको ट्वीटरमा साइबर आक्रमण भएपछि अकाउण्ट नै बन्द
काठमाडौं। राष्ट्रपति कार्यालयको सूचना प्रवाह गर्न सञ्चालनमा ल्याइएको राष्ट्रपतिको कार्यालयको सामाजिक सञ्जाल ट्वीटरको अकाउण्ट बन्द गरिएको छ। राष्ट्रपति कार्यालयको @SHITALNIWAS ट्वीटर ह्याण्डल डिएक्टिभ गरिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस विज्ञ टिका ढकालले ट्वीटर ह्याण्डल बन्द गरिएको पुष्टि गरे। राष्ट्रपति भण्डारीको निजी सचिवालयले सञ्चालन गर्दै आएको सो ह्याण्डल बन्द गरिएको हो। सो ह्याण्डलबाट राष्ट्रपति कार्यालयाबारे सूचना तथा सन्देशहरु प्रवाह गरिँदै आएको थियो।
ट्वीटरले भरिफाइड गरेको सो अकाउण्ट डिएक्टिभ गरिएको हो। राष्ट्रपति कार्यालयले फेरि ट्वीटर अकाउण्ट सञ्चालन पनि गर्ने जनाएको छ। प्रेस विज्ञ ढकालले अर्को स्वरुपमा अकाउण्ट सञ्चालन छिटै गरिने जानकारी दिए।
उनले भेरिफाइड भएको दुईदिनमात्र भएको सो अकाउण्टमा साइबर आक्रमण भएकाले बन्द गरिएको बताए। उनले डिसी नेपालसँग भने, ‘भेरिफाइड भएको दुई दिनमात्र भएको थियो। साइबर आक्रमण भयो। त्यसका कारण हाललाई सो अकाउण्ट स्थगन गरिएको छ। सोही
अकाउण्टलाई रिकभर गर्ने की के गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।’
उनका अनुसार सो अकाउण्टमा अनाधिकृत स्थानबाट एक्सेस गरिएको थियो। तर, कसले कहाँबाट के गर्यो भन्नेबारे भने केही खुलाएनन्। उनले ट्वीटर अकाउण्ट सञ्चालनबारे सरकारका सूचना प्रविधि अधिकारीहरुसँग छलफल गरेकोसमेत जानकारी दिए।
उनले राष्ट्रपति विद्याादेवी भण्डारीको व्यक्तिगत अकाउण्टसमेत अब फेरिफाइड हुने प्रक्रियामा रहेको जानकारी दिए।
स्मरण रहोस राष्ट्रपति भण्डारीको अकाउण्टमा गरिएका ट्वीटमाथि अश्लिल कमेन्टहरु आएपछि कमेन्ट नै गर्न नमिल्ने बनाइएको छ।
Facebook Comment