सुरुवाती कोरोना भ्याक्सिनले लक्षणबाट बचाउँछ, संक्रमणबाट बचाउँदैन – डा. एन्थोनी फाउसी
काठमाडौं। कोरोनाभाइरसविरुद्ध विकास भइरहेका भ्याक्सिनको ट्रायल पूरा हुन १ महिनाजति मात्रै समय बाँकी रहँदा अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले सुरुवाती कोरोना भ्याक्सिनले कोरोनाभाइरस संक्रमणपछि देखिने लक्षणबाट बचाए पनि संक्रमणबाट नबचाउने चेतावनी दिएका छन् । उनले सुरुवाती भ्याक्सिन केवल लक्षण रोक्न मात्र सफल हुन सक्ने चेतावनी दिएका हुन् । डा. एन्थोनी फाउसीले सुरुवाती भ्याक्सिन तयार गरिरहेका वैज्ञानिकहरु संक्रमणलाई पूर्ण रुपमा रोक्ने भन्दा पनि आम मानिसहरुलाई लक्षणबाट बचाउनेतर्फ केन्द्रित भएको खुलासा गरेका छन् ।
डेलीमेलको रिपोर्टअनुसार डा. फाउसीले अमेरिकामा ४ कोरोनाभाइरस भ्याक्सिन क्लिनकल ट्रायलको अन्तिम चरणमा रहेको बताएका छन् । उनले भ्याक्सिनको अन्तिम लक्ष्य भाइरसलाई समाप्त पार्ने भए पनि सुरुवातमा वैज्ञानिकहरुले प्राथमिक लक्ष्य हासिल गर्न चाहेको र प्राथमिक लक्ष्य मानिसहरुलाई कोरोनाको लक्षणबाट बचाउने भएको खुलासा गरे । डा. फाउसीका अनुसार प्राथमिक लक्ष्य भनेको यदि कुनै व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भइहाले पनि भ्याक्सिनले उसलाई बिरामी हुनबाट बचाओस् भन्ने भएको बताए ।
भ्याक्स्निले मानिसहरुलाई बिरामी हुनबाट बचाएपछि मानिसलाई मृत्युबानट बचाउन सकिने डा. फाउसीले बताए । डा. फाउसीको यो चेतावनीसँगै भ्याक्सिन बजारमा आइसकेपछि पनि केही समयसम्म भौतिक दूरी, मास्क जस्ता सुरक्षाका उपायहरुको आवश्यकता परिरहने प्रस्ट भएको छ । यसअघि पनि डा. फाउसीले २०२० को अन्त्यसम्म आउने भ्याक्सिन ५० देखि ६० प्रतिशत मात्र प्रभावकारी हुन सक्ने बताएका थिए । उनले भविष्यमा ७५ प्रतिशतसम्म प्रभावकारी भ्याक्सिनको आफूले अपेक्षा गरेको बताएका थिए । अहिले अमेरिकामा एस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एण्ड जोनसनले विकसित गरेका भ्याक्सिन ट्रायलको अन्तिम चरणमा छन् ।
Facebook Comment