व्यङ्ग्य : भित्ताका पनि कान हुन्छन्
अहिलेसम्म देशमा भएका र सुशासनको सही बाटोमा गएका भनेर आफैं र आफ्रनाहरुद्वारा बहुप्रचारित सरकार प्रधानले आधारातमा तीन घण्टा भन्दा बढी समयसम्म दक्षिणी छिमेकबाट निर्देशात्मक वार्ताको लागि खटिएका भनिएका र यताचाहिँ सरकार प्रधानसरह गनिएका दक्षिणका जासुस प्रमुख आए र गए।
उनले हाम्रा सरकार प्रधानलाई के सन्देश दिए र हाम्राबाट के प्रतिबद्धता लिए भन्ने उनै दुइजनालाई मात्रै थाहा हुने भयो। त्यहाँ भित्रको वार्तालापमा विभिन्न समस्याको लागि आपसी मिलाप र बिभिन्न गल्तीहरुमा विलाप गरेर कुर्सी बचाउने र धेरै बिषयमा बुझ पचाउने असफल प्रयास गर्दै मुखले जतिसुकै राष्ट्रवादी कुरा गरेपनि उताकै आशीर्वादले अघाउन्जेल चर्दै आएको अनि भविष्यमा पनि साझेदारीभन्दा तावेदारीलाई प्राथमिकतामा राख्ने बचनबद्धता प्राप्त भएपछि मात्रै ‘रअ’ नामक जासुसी संस्था प्रमुख आधारातमा जे कामका लागि छिरेका थिए वार्तापछि त्यसमा ढुक्क भएर आरामको लागि होटलतर्फ फिरेका हुन् भनेर आफैंले देखे जसरी अड्कल गरेर अन्धाले हात्ती छामेजस्तो बग्रेल्ती समाचारहरु पढ्न र सुन्न पाउँदा सबैजना दंग परेका छन्।
राष्ट्रवादको निकै अग्लो टोपी लगाएका सरकार प्रधानको खोपीसम्म समान हैसियतमा पुग्न सक्ने उताका जासुसी प्रमुखको काम कर्तव्य र जिम्मेवारीअनुसारको उताको सन्देश मजाले दिएर अनि यताकाबाट सबै बुँदामा निशर्त सहमति लिएर सकिएको भेटवार्तामा दलका प्रमुख नेताहरुबाटै नकारात्मक टिका टिप्पणी र बिरोध गरेको पाइयो। सरकार प्रधानका अत्यन्त दिग्गज देखिने प्रयासमा रहने प्रेस सल्लाहकारबाट भेटघाट भएको हो भनेर आएको जानकारीले यो बिषयबाट फ्रेस बनाउने कोशिश हुनु राम्रो हो।
यो भेटवार्ताको समाचार र त्यसबाट सरकार प्रधानको छविमा पर्ने असरबाट जनताको ध्यान भंग गर्ने प्रेस सल्लाहकारको प्रयासमा ढंग पुर्याउन सकेको भए सारै राम्रो हुने थियो तर यसमा प्रयोग भएको भाषाले पनि शँका गर्ने ठाउँ दियो।
भेटघाटको निकै दिनपछि सरकारका उपप्रधानले परराष्ट्रका आवश्यक प्रतिनिधिसहित भेटेको र सबैकुरा रेकर्डमा समेटेको हुनाले यसलाई अन्यथा मान्न र बिषयलाई बढी तान्न नहुने हुनाले सरकारले गरिरहेका कामहरुलाई अत्यन्त राम्रा भनेर सबैले अनिवार्य रुपमा जान्न पर्ने बताएर सबैको हैसियत प्रष्ट गर्न गरिएको प्रयासलाई सबैले राम्रो मानिदिन पर्छ।
तीन घण्टासम्म के–के विषयमा छलफल भयो र हाम्रातर्फबाट के–के प्रतिबद्धता गयो भन्ने बिषयमा केही उल्लेख नभएपनि भेट भएको पुष्टि गरेर सबैलाई यतिमै सन्तुष्टि लिन निर्देशनात्मक अनुरोध गरिएको उनको लेखाइबाट पनि भित्ताका कानहरुले विषयको सहजै अनुमान गरेजस्तो गरेर बिरोध भइरहेको देखिन्छ।
बिरोध गर्नेहरु पनि बिगतमा उतैको माल खाएर यता थाल ठटाएर जाल गर्दै र अनेक चाल चल्दै शक्तिमा पुग्नको लागि उतैको भक्तिमा लिप्त भएकाहरु नै भएकोले यसबाट कोही पनि डराउन तर्सिन र केके न भएजस्तो गरेर कराउन पर्ने जरुरी देखिन्न।
बिरोध गर्नेहरु पनि बिगतमा उतैको माल खाएर यता थाल ठटाएर जाल गर्दै र अनेक चाल चल्दै शक्तिमा पुग्नको लागि उतैको भक्तिमा लिप्त भएकाहरु नै भएकोले यसबाट कोही पनि डराउन तर्सिन र केके न भएजस्तो गरेर कराउन पर्ने जरुरी देखिन्न। बिगतमा शक्तिमा पुगेकाहरुको हैसियत पनि यही हो, अहिलेकाको पनि यही हो र भविष्यकाको पनि हैसियत यही हो भनेर सबैलाई राम्ररी थाहा भएको विषयलाई अनावश्यकरुपमा तन्काउने र बोल्न नमिले पनि इसारामा आँखा सन्काउने गरेर केही फाइदा छैन। उताको मानो खाएर यताको छानो उधार्ने वरिष्ठहरुको यता कुनै कमी छैन।
जनताको आँखामा राष्ट्रबादी देखिएर देशका जल्दाबल्दा समस्याहरुबाट ध्यान अन्यत्र मोड्न र चुनावमा आफ्नो पक्षमा बढी भोट जोड्न अनि मौखिक राष्ट्रवादको रेकर्ड तोड्न ठूला कुरा गरेपछि यही स्तरका दुतहरुले बहावालाबाट भूत बनाइदिने धम्की आएपछि अरु उपाय नभएकाले यस्ता भेटघाटलाई जारी राखेपछि भारी फाइदा त हुने नै भयो।
यो भेटघाटको सबैभन्दा बिरोध गर्नेमा दक्षिणले नै धेरै वर्षसम्म आश्रय दिएर पालेका, उतैको इशारा, निर्देशन र स्वार्थमा जनयुद्ध नाम दिएर धनयुद्ध थालेका, उताको पनि पश्चिमा माइबापहरुको इशारा, निर्देशन र लगानीमा आफ्नो धर्म संस्कृति, परम्परा आदि नष्ट गर्न अनेक नाजायज कदम चालेका अनि देशहितमा लाग्न खोज्नेहरुलाई रोक्न जतासुकै रातो बत्ति बालेका महान पात्रहरु परेछन्। विपक्ष र तराइकेन्द्रित दलहरुले पनि यो भेटघाटको विरोध गरेजस्तो गरेर बगेको पानीमा हात चोपल्न भ्याएको देख्दा उताका दूतले गतिलै सन्देश ल्याएको बुझ्न सकिन्छ।
आफूलाई फाइदा हुने कुरामा उताको सामान्य तहको ब्यक्तिलाई भेट्दा पनि देवतालाइ नै भेटेजस्तो गर्ने र अर्कोले भेट्यो भने सबैको घाँटी नै रेट्यो भने जसरी कराउने अनि दूताबासका सामान्य कर्मचारीले यसो आँखा तरेपछि चुपचाप लागेर हराउने वरिष्ठहरुको विषयमा सबैलाई राम्रो जानकारी भएकोले यो विरोध केही दिनको टाइमपास मात्रै हो भन्ने सबैलाई थाहा भएकै कुरा हो।
छिमेकी जासुस प्रमुखले अहिले चलन चल्तिमा रहेका पूर्वसरकार प्रधानहरुलाई पनि एकएक गरी भेटेको भन्ने अपुष्ट खबरहरुलाई बिगतलाई हेरेर नपत्याउने आधार पनि देखिँदैन तर भेट्नेमा ज–जसको नाम चर्चामा आयो र त्यस्ता महान प्रमुख जासुसलाई भेट्न पाउने भाग्यमानीहरुको उपाधी पायो उनीहरुले नै बिरोध गरेको सुन्दा सुन्नेहरु अलमलमा परेका र होइन भने ठिकै छ नि भनेर पत्याइदिन अघि सरेका छन्।
दक्षिणबाट प्रकाशित हुने कतिपय संचार माध्यमहरुले यहाँका सबैजसो पूर्वसरकार प्रधानका साथै मुख्य मुख्य दलका मुख्य मुख्य नेताहरुले तँछाड मछाड गरेर उनलाई भेटेको आशयको समाचार छापेर बिषयलाई अनावश्यक रुपमा बढाएको र जासुस प्रमुखलाई सरकार प्रधानकै तहमा चढाएको भनेर यताकाले टिप्पणी गरेछन्। बिगतमा उताका जुनसुकै तहका दूतहरुलाई पनि भेट्न गरेको मरिहत्तेलाई हेरेर यसपाली पनि कोही पक्का चुकेको छैन होला भनेर अन्दाजमा भुकेको हुनसक्छ भन्नेहरु पनि नभएका होइनन्।
दिगोरुपमा नटिक्ने र सँधैभरि नबिक्ने मौसमी राष्ट्रवादकाे प्वाँख सिउरिएर सिँगारिएका सरकार प्रधानलाई कुनै नियम, कानुन, संबिधान, परम्परा, अभ्यास, नीति, सिद्धान्त, दर्शन आदि सबैलाई धोती लगाउने र आफूलाई जे गर्न र जसरी गर्न मन लाग्यो त्यहीअनुसार काम गर्ने सरकार प्रधानले यसभन्दा अगाडि तस्कर, बिचौलिया, ठूला ब्यापारी, माफिया आदिलाई मात्रै भेट्छन् रे भन्ने हल्ला सही होइन रहेछ बिदेशी जासुसलाई पनि उत्तिकै महत्व दिएर भेट्छन् भन्ने पुष्टि गरेका छन् भनेर सबैले गर्व गर्नुपर्छ।
उनलाई सही लागेपछि र भेट्ने इच्छा जागेपछि कुरा सकियो। कुटनीति, मान्यता, मर्यादा, परम्पराजस्ता शब्दहरु उनको इच्छाका अगाडि केही पनि होइनन्। कुटनीतिलाई झुकनीतिले जितेको हुनाले कामकुरो छोडेर ठूलो ठूलो स्वरमा भुकनीति लागू गरेपनि जनताले कुरा बुझेकै छन्। बडादशैँको पूर्बसन्ध्यामा दक्षिणका सरकार प्रधानले आफ्नाे नो जासुस प्रमुख दूतमार्फत घरैमा आर्शीवाद पठाएकोमा कसैले आपत्ति गरिराख्न जरुरी पनि देखिँदैन। यो चाडमा ठूलाले सानालाई आर्शीवाद दिने र सानाले त्यसलाई सहर्ष लिने चलन नै छ।
यो भेटवार्ताको समाचार र त्यसबाट सरकार प्रधानको छविमा पर्ने असरबाट जनताको ध्यान भंग गर्ने प्रेस सल्लाहकारको प्रयासमा ढंग पुर्याउन सकेको भए सारै राम्रो हुने थियो तर यसमा प्रयोग भएको भाषाले पनि शँका गर्ने ठाउँ दियो।
यसलाई अन्यथा मान्न र दिमागले जे सोच्यो त्यो ठान्न हुँदैन। उताको विरोध गरेजस्तो गरेर चुनाव जितेर सरकार हाँकेको पनि आधा कार्यकाल नाघिसकेको हुनाले अर्को चुनावसम्म उता लम्पसार पर्न सके अर्को चुनावमा पनि जितेर फेरि यसैगरी चर्न सकिन्छ र सबै अप्ठ्याराहरुबाट तर्न सकिन्छ भन्ने सोचलाई कार्यान्वयन गर्ने यस्तो सुनौलो अवसरमा चुक्ने र फाइदा हुने मौकामा लुक्ने काम गर्यो भने आफ्ना नजिककाले पनि थुक्ने अवस्था आउन दिनुभन्दा यस्ता दूतहरु मार्फत आफ्नो अधिकारले दिने दावेदारीभन्दा उताको तावेदारीबाट स्वार्थसिद्ध गर्ने गौरवशाली परम्परालाई अघिकाले जस्तै निरन्तरता दिनै पर्छ भन्ने सबैले बुझिदिएका छन्। यसमा ढुक्क भए हुन्छ।
अहिले बिरोधमा उत्रिएजस्तो गरेका पूर्वहरुले पनि त्यही गरेका हुन् र भबिष्यकाले पनि त्यही गर्ने हुन्। अरु दायाँबायाँ बसेर कराउनेहरु चाहिँ यसैबाट केही हातलागि भएमा जयजयकार गर्दै हराउने र यसो रिसाएजस्तो गरिदिएपछि डराउने खालका हुन्। केही लछारपाटो लगाउने खालका होइनन् भन्ने सबैले बुझेकै छन्।
संसदमा ज्यादै आँटिलो अभिब्यक्तिसहित संबिधानमा संशोधनसहित बढाइएको देशको क्षेत्रफलसहितको नयाँ नक्शालाई पाठ्य सामग्रीका रुपमा तयार गरेर लागू गर्न बितरण गर्ने बेलामा सरकार प्रधानको ठाडो आदेशमा रोकियो र मन्त्रालयबाट बाहिर जाला भनेर दराजमा थन्काएर भोटे ताल्चा ठोकियो भन्ने हल्ला सुनिएकै हो।
यसलाई अन्तिम चरणमा रोक्न र यसलाई नमानेमा टाउकोमा ठोक्न कहाँबाट आकाशबाणी प्राप्त भयो होला भनेर दिमाग लगाएर घोत्लिनै पर्दैन,त्यसै बुझिहालिन्छ। दशैँमा सरकार प्रधानले दिएको शुभकामना सन्देशमा प्रयोग भएको नक्शा सहितको लोगोमा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चो समाबेश गर्न बिर्सनुमा पनि कहाँको आकाशबाणीले भूमिका निभायो होला भनेर धेरै सोचिराख्न आबश्यक नै परेन।
सूचना प्रबिधिको चरम बिकास भएको अहिलेको समयमा दक्षिणतिर फर्केर गरिने जदौ संस्कृतिलाई मलजल पुर्याउन धेरै मेहनत गरिराख्न पनि पर्दैन । त्यसमाथि बडादशैँको छेको पारेर यति महान दूतमार्फत आशीर्बादसहितको टीका जमरा प्राप्त भएपछि धरापमा परेजस्तो कुर्सीलाई गतिलो टेको मिलेर जीवन पूर्णरुपमा सफल भइहाल्यो। यताकाले बिरोध गरेर कराउनु भनेको त काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेजस्तो मात्रै हो।
यताका त यस्तै हुन्, भेटे किन भेट्यो भन्ने, नभेटे किन भेटेन भन्ने, जसो गरेपनि सुख छैन। आपूmले गरेको सबै ठीक र अरुले गरेको सबै बेठीक भन्ने चलन भएकोले दुतलाई भेटेर फाइदा उठायो भनेर सबैलाई जलन भएको मात्रै हो। आखिर कुनचाहिँले आफ्नाे पदीय मर्यादा, पदीय हैसियत, कुटनैतिक मर्यादा आदिको पालना गरेका छन् र?
आफ्नो फाइदाको लागि दुताबास र साउथ ब्लकका सहायक स्तरका कर्मचारीलाई समेत बिन्ती बिसाउने अनि अर्कोले त्यसरी फाइदा उठाएको देख्न परे रिसाउने पुरानै परम्परा हो भन्ने सबैलाइ थाहा छ। अहिलेका सरकार प्रधानले त आफूलाइ सानोतिनो जंगबहादुरकै अवतार मानेका, अरु सबैलाई भुसुना सरह ठानेका र कुर्सी जोगाउने अनेकथरी चाल जानेका हुनाले पनि जासुस प्रमुखको भेटको बहानामा अरु समकक्षीहरुले यिनको खुट्टा तानेका हुन्।
बाह्र बुँदे सहमति गराउँदा यही र को प्रमुखलाइ सबैले भगवानकै रुपमा पुजेका थिए। बाह्र बुँदेको सान्दर्भिकता सकिएको हो कि कुर्सी फुत्काउन बकिएको हो त्यही संस्थाको प्रमुखको विरोध भएको छ। विरोध गर्नेमा पनि धेरैजसो अघाउन्जेल उतैको खुराक खाएर र उतैको मलजल पाएर झाँगिएका र समयक्रममा सबैकुरा खुल्दै जाँदा नांगिएका महानुभावहरु देखिएका छन् भनेर दोष लगाउनेहरु पनि नभएका होइनन्।
खास कुरो के कसो हो त्यो चाहिँ थाहा भएन र नयाँ खालको कुरो नभएकोले धेरैको त्यता ध्यान पनि गएन। उताबाट हामीले पठाएको दूतलाई भेट्नु र मौसमी खपतका लागि यसअघि बकेका कुराहरुलाई उसले भनेबमोजिम रेट्नु भन्ने सन्देश आएपछि र भन्ने नै हो भने आदेश पाएपछि अर्को बिकल्प हुने ठाउँ पनि भएन।
भेट्नै पर्यो,सुन्नै पर्यो र त्यहीअनुसार गर्नै पर्यो। इष्ट इन्डिया कम्पनीदेखि चलिआएको ताबेदारीलाई बे्रक लगाउन गरेको दावेदारी टिकाउन र मौसमी राष्ट्रबादको नारा बिकाउन गरेको प्रयास राम्रो भएपनि परालको खुट्टामा उभिएर कुर्लनु र अत्तो न पत्तोसित उर्लनुले मात्रै सत्तामा टिकिखान सकिँदैन भनेर नै बुढापाकाले हिन्दुस्तानमा पानी पर्यो भने यहाँ छाता ओढ्न पर्छ भनेका रहेछन् कि जस्तो लाग्छ।
निस्वार्थभावले देश र जनताको हित चिताउनेभन्दा उतैको आड भरोसामा सबैलाई बिताउने तरिकाले राजनीति गर्ने र जनता सँधैभरि भ्रममा मात्रै पर्ने तरिकाले काम गरेपछि उतैको इशारामा चल्ने, उताका सानातिनासित पनि गल्ने र भनेअनुसार नचले भविष्यमा समेत उठ्न नसक्ने गरी ढल्ने डर भएपछि दूतलाई उसैको चाहनाअनुसार भेटेर निर्देशनअनुसारको भूमिका निभाउनै पर्यो। दुईजना मात्रै भेटेर कुरा भएको भनिए पनि यो यो बिषयमा यसो यसो भयो भनेर ठ्याक्कै मिल्ने गरी समाचार र टिका टिप्पणी भएको देख्दा भित्ताका पनि कान हुन्छन् भनेर त्यसै भनिएको होइन रहेछ भन्न सकिन्छ।
Facebook Comment