बञ्जीजम्पको औपाचरिक शुरुआत

डिसी नेपाल
१५ कार्तिक २०७७ २३:५१

बलेवा । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले आजदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन भएका हुन् ।

शनिवार द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले आँफै हामफालेर बञ्जी जम्पको औपचरिक शुरुआत गरेका हुन् । पुलसँगै रिसोर्ट पनि सञ्चालनमा आएको छ ।

अन्य साहसिक खेलहरु पनि आजैदेखि शुरु भएको कार्कीले बताए। ५२५ मिटर लामो झोलुङ्गे पुलबीचमा कालीगण्डकी नदीको ठिकमाथि बञ्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात् ७४८ फिट छ ।

हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै विश्वकै दोस्रो अग्लो बञ्जीका रुपमा दर्ज गर्नेछ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए ।

बञ्जी र स्वीङ दुबैको मूल्य रु सात हजार तोकिएको छ । औपाचरिक शुरुआतसँगै सर्वसाधारणले समेत यहाँ साहसिक खेलमा सहभागी हुन पाउने छन् । रिसोर्टसहित रु २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटन प्रवद्र्धनमा परिवर्तन ल्याउने विश्वास गरिएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *