भारतीय सेनापतिलाई ‘कोर्स करेक्सन’को अवसर
कात्तिक १९ गतेबाट हुने भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको भ्रमणलाई सबैले विशेष चासोका साथ हेरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमण ज्यादै ऐतिहासिक र गहन महत्वको यस कारणले मानिएको छ कि दुई घनिष्ठ छिमेकी मुलुकबीचको सम्पर्क, सम्बन्ध र समन्वय प्रायः टुटेको छ।
पटकपटक नाकाबन्दीले थलिएको मुलुक यसपटक महामारीले थलिएको छ र त्यही बेलामा बल्झिएको सीमा विवादलाई नेपाली जनताले आमरुपमा ‘हेपाइको पराकाष्ठा’ र ‘होचोको मुखमा घोचो’ भनेर गहिरो चित्त दुःखाएका छन्।
राजनीतिक र कुटनीतिक जामका बीच हुन लागेको सेनाध्यक्षको भ्रमणले सैनिक कुटनीतिको प्रयोगमार्फत ती जामहरु खोल्ने र सम्वाद सुचारु हुने शान्तिकामी जनताको सोझो अपेक्षा रहेको बुझिन्छ। दुई मुलुक बीचको सैनिक सम्बन्ध जति ऐतिहासिक छ उति नै मित्रवत् र गहिरो छ।
भारत र नेपाल दुवै देशका सैनिक संगठन आम जनताका आस्थाका धरोहर हुन्। राजनीतिक उतार चढाव देखे भोगेका र शिशु प्रजातन्त्र हुर्काउन योगदान गरेका त्यागी तर बिलकूल अराजनीतिक संगठन हुन्। दु्वै ज्यादै व्यावसायिक र ब्याटलप्रुफ् संगठन पनि हुन्।
भारत स्वतन्त्रता संग्राममा होस वा विश्व शान्ति स्थापनामा दुवै सैनिक सँगसँगै होमिएका हुन्। दुवै प्रकृतिप्रेमी वातावरण रक्षक हुन्। भारत र नेपाल दुवै मुलुकमा जनसेवा, जनउद्धार सच्चा राष्ट्रियता र राष्ट्रसेवाभावले ओतप्रोत जनप्रिय पहिलो संगठनमा दर्ज भएका छन् दुवै सेनाहरु। बहादुरी र बलिदानीका लागि कहलाएका संगठनहरुको लोकप्रियता सधैं उच्च देखेको छु पंक्तिकारले।
भारतलाई छोटो समयमा सफलता र सम्बृद्धिको चुचुरोमा पुर्याउने श्रेय त्यहाँको सैनिक संगठनलाई जान्छ। जसले राजनीतिक आर्थिक सामाजिक अवस्थालाई ठीक ट्रयाकमा राखेर सुशासनको प्रत्याभूतिलाई अनिवार्य शर्त बनाउन माग राख्यो। राजनीतिक विकृति र विसंगतिलाई निःशर्त निर्मलिकरण र शुद्धिकरण गर्न मनोवैज्ञानिक दबाब दिइरह्यो।
भारत नेपाल चिसो सम्बन्धले दुवै देशका जनतालाई चरम दुःखी बनाएको छ। सेना र तिनका आश्रित परिवारलाई झन् दुःखी। पशुपतिदेखि भारतका सबै धामका पुजारीहरु खिन्न मन छन्। एशियन मुलुकहरु लगायत विश्व समुदायलाई धेरै ठूलो र धेरै सानो तर प्राकृतिक सौन्दर्यता रमणीय २ मुलुक बीच सधैं सुमधुर सम्बन्ध रहोस र वान गो मा तिर्थ धर्म यात्रा अध्ययन अनुुसन्धान गर्न सजिलो होस् भन्ने उत्कट् अभिलाषा छ।
पहिलो र दोश्रो विश्वयुद्ध होस वा भारत स्वतन्त्रताको आन्दोलन, नेपाली सेनाले भाइ–भाइ एउटै भनेर काँध हात र साथ दिँदै आएको छ। विश्व शान्ति स्थापनामा पंक्तिकारले भारतीय सेनासँग मिसिएर लाइबेरियामा पुर्याएको शान्ति योगदान होस् अथवा पूर्व सेनाध्यक्षहरुको सुरक्षा ड्यूटी, त्यो सधैं चिरस्मरणीय रहिरहने छ।
भारतीय संस्थापनले हुर्काएको लडाएको तत्कालीन द्वन्द्वरत माओवादी जनसेनालाई समायोजन गरेर राष्ट्रिय मूलधारमा ल्याउन र क्षेत्रीय शान्ति सुरक्षाको जग बसाउन नेपाली सेनाले उदार र महान भएर गरेको सहयोग भारत र विश्वलाई एउटा नमूना नजिर हो।
नेपाली सेनाले एकातिर कथित् जनमुक्ति सेना (पि.एल.ए) को उद्धार गर्यो र अर्कोतिर द्वन्द्वरत सशस्त्र पार्टीलाई प्रजातान्त्रिक मूलधारमा ल्याएर भारतीय भूमिमा जारी सशस्त्र माओवादी आन्दोलनलाई सेफ ल्याण्डिङको नजिर प्रस्तुत गरेर देखायो। राजनीतिक महत्वकांक्षा, दलीय स्वार्थ, भ्रष्टाचार, विकृति र विसंगतिले कायल आम जनताको लागि दुवै सेना आस्था र भरोसाका धरोहर हुन्।
गल्ती महसुसपछि नयाँ विकास
सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिएर आलोचना खेपेका भारतीय सेनाध्यक्षले तुरुन्त बोली सच्याएर दुई परस्पर मित्र राष्ट्रको गहिरो घनिष्ठता र सम्मानमाथि खुलस्त वर्णन गरे। रक्षामन्त्री, रक्षा सल्लाहकार लगायतलाई सच्चिन बाध्य पारे।
कोभिड संकटपछि सम्वाद जारी हुने प्रतिबद्धता व्यक्त गर्न लगाए। प्रतिकूल समयमा नेपाल भ्रमणको चाँजोपाँजो मिलाएर महानता देखाए। गल्ती महसुस र कोर्स करेक्शनको उनको पहल धन्यवाद लायक छ।
नेपालका प्रधानसेनापतिले शान्त सैनिक कुटनीति अपनाए। न संचार माध्यमको उक्साहट सुने, न सरकार, बुद्धिजीवी र प्रशासनको आगोमाथि घिउ थप्न सुरिए। तर, आफूले निर्वाह गर्नुपर्ने सबै भूमिका शान्त भएर विवेकपूर्ण पूरा गर्दै गए। त्यसकै परिणाम हो यो ऐतिहासिक भ्रमण।
देशको राजनीति निर्मल पार्न बल पुगोस् भनेर उनले प्रारम्भ गरेको भ्रष्टाचार विरोधी र संगठन सुधारको पहल एवं सफल प्रयास भारतीय समकक्षीलाई जानकारी नहुने कुरै भएन। विवेक र न्याय समातेर लो–प्रोफाइलमा गुणस्तरीय र उच्चस्तरीय उदाहरणीय भूमिका निर्वाह गर्न सफल नेपालका प्रधानसेनापति पनि सलामीका पात्र हुन्।
जनचासो र जनअपेक्षा
भारत नेपाल चिसो सम्बन्धले दुवै देशका जनतालाई चरम दुःखी बनाएको छ। सेना र तिनका आश्रित परिवारलाई झन् दुःखी। पशुपतिदेखि भारतका सबै धामका पुजारीहरु खिन्न मन छन्। एशियन मुलुकहरु लगायत विश्व समुदायलाई धेरै ठूलो र धेरै सानो तर प्राकृतिक सौन्दर्यता रमणीय २ मुलुक बीच सधैं सुमधुर सम्बन्ध रहोस र वान गो मा तिर्थ धर्म यात्रा अध्ययन अनुसन्धान गर्न सजिलो होस् भन्ने उत्कट् अभिलाषा छ।
सानो देशको जनताको चाहना र अपेक्षा सानै छ। अतिथि होस् वा मित्र, मित होस वा शत्रु, योगी होस् वा भिखारी, परेको बखत् अतिथि देवो भवः गर्ने तथा आफ्नो किड्नी लगायत अंग–प्रत्यङ्ग र रगत दिने सोझा नेपाली जनताको गुण भारतीय सेनाध्यक्षलाई थाहा नहुने कुरै भएन। अर्काको थिचोमिचो एवं हेपाई र १ इञ्च जमिन खोसिदा चित्त दुख्ने र मन भाँच्चिने सोझो समुदायको अर्को विशेषता न्याय र समानताको माग हो भनेर बुझ्न कठिन हुने कुरै भएन।
सदियौंदेखिका असमान सन्धी सम्झौता र सीमा अतिक्रमण कुन भगवानले सच्याएर न्याय देला भन्ने देशभक्त नेपाली जनताको मनोविज्ञान बुझेर गए सेनाध्यक्षको यो भ्रमण सफल मात्र होइन दुर्लभ र उपलब्धिमूलक समेत हुने छ।
राजनीतिक कुटनीतिक पहल र प्रयासबाट यी दीर्घजीवि समस्याको गाँठो फुक्ने छैन भन्ने निश्कर्षमा आम नेपाली जनता पुगिसकेका छन्। दुई सेनापतिबीच औपचारिक अनौपचारिक लामो भलाकुसारी हुने छ।
समस्याको गाँठो किन कसरी कहाँ छ भन्ने कुरा स्पष्ट बुझाउन सकियो र भारतीय सेनाध्यक्षले गाँठो फुकाउन साहसिक योगदान गरे भने दुवै सेनापतिले आईसब्रेक मात्र होइन ऐतिहासिक हिरो र राजनीतिक गुरुको सम्मान पाउने छन्।
दुवै सेनापति राजनीतिक छलकपट र संचार छलकपटबाट पीडित होनहार संगठन प्रमुख हुन्। दुवै संगठन प्रमुखलाई अब लिनु केही छैन र दिनेले दिएपनि कुनै राजनीतिक नियुक्ति स्वीकार गर्नु शोभनीय र नैतिकवान ठहरिँदैन।
तसर्थ, दुई देशलाई विन विन अवस्थामा पुर्याएर परस्पर सम्मानजनक मित्रता कायम गराउन दुवैले सच्चा त्याग गर्नु व्यक्तिगत र राष्ट्रिय हितमा हुने छ। यस्तो दुर्लभ अवसर जो कोहीलाई जहिले पनि प्राप्त नहुन सक्दछ।
भ्रमणलाई ग्रहण
यो महत्वपूर्ण भ्रमणको पूर्व सन्ध्यामा भएको ‘रअ’ प्रमुखको मुसा दौडले धेरै आशंका उब्जाएको छ। नेपालमा मुलुक र मुलुकबासीको स्वामित्व ग्रहण गरेर कुशल नेतृत्व दिन सक्षम राष्ट्रवादी नेतृत्व छैन भन्ने सोझो सन्देश दिएको छ।
असल कुटनीति तर्जुमा र सञ्चालन गर्न मुलुक असफलसिद्ध भएको अर्को संकेत हो त्यो अप्रत्याशित र अशोभनीय दौडधुप। जारी महामारी ह्याण्डल होस् वा अर्थनीति; सबै फ्रण्टमा नेपाल असफल उन्मुख छ भन्ने सफा ऐना थियो त्यो बेमौसमको भ्रमण।
‘रअ’ ले नेपालमा पैसा खन्याएको, उल्टो काम गरेर धर्म संस्कृति इतिहास उडाएको, अन्तर्राष्ट्रिय जासुसी र अपराधीहरुको सेफ हाउस बनाएको, नेपाल भारत सद्भाव भड्काएको लगायतका नकामहरु शीघ्र बन्द गर्न गराउन एजेण्ट भर्ना र एजेण्ट पाल्ने धनराशीको मुहान सुकाउन गोप्य वा खुला पहल गर्न सक्दछन् सेनाध्यक्षले।
महामारीको बीच चाडबाडको मुख, रक्षामन्त्रीको विदाइ, ईण्टेलिजेन्स शून्यता र सञ्चार विश्रामको मौका छोपेर गराइएको अप्रत्याशित भ्रमणको तामझाम, अति विशिष्ट र विशिष्ट व्यक्तित्वहरुको लम्पसार, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीगण, माननीयहरुको गोप्य त्वम्शरणम् हाजिरा र मातृभूमिको कुरा लगाउने तँछाड्मछाड् देख्नेलाई हदैसम्मको लाज थियो।
नेपालमा पटक पटक धेरैचोटी असफल भईसकेको ‘रअ’ टीमको त्यो नाङ्गो दौड र कान फुकाई भारतीय सरकार, उसको कुटनीतिक च्यानल, भारतीय सेना र नेपालस्थित भारतीय राजदूताबासको लागि कति शोभनीय मर्यादित् र टीमवर्कको भावना रक्षा गर्नेतर्फ लक्षित थियो त्यो हामीले बताउने कुरा भएन।
तर ‘रअ’ ले नेपालमा पैसा खन्याएको, उल्टो काम गरेर धर्म संस्कृति इतिहास उडाएको, अन्तर्राष्ट्रिय जासुसी र अपराधीहरुको सेफ हाउस बनाएको, नेपाल भारत सद्भाव भड्काएको लगायतका नकामहरु शीघ्र बन्द गर्न गराउन एजेण्ट भर्ना र एजेण्ट पाल्ने धनराशीको मुहान सुकाउन गोप्य वा खुला पहल गर्न सक्दछन् सेनाध्यक्षले।
नेता खरिद, जुधाउने लडाउने खेलले नेपाल ईण्टेलिजेन्स र स्वाभिमान शून्य मुलुक त भएकै छ, अन्ततोगोत्वा समग्र भारतीय राष्ट्रिय हितको विरुद्धमा छ यो षड्यन्त्रकारी फोहोरी हर्कत। एजेण्ट पाल्ने मुहान सुकाईदिए भने २ सेनापतिहरु दूरदर्शी र बहादुर जनप्रिय हिरो हुने छन्। २ मुठी एजेण्टको मुखमा माड नलागेर के नै फरक पर्छ र? सेनाध्यक्षको ऐतिहासिक भ्रमणलाई कतै ‘रअ’ प्रमुखको दौडधुपले ग्रहण नलगावस्।
सफलताको शुभकामना
अमेरिकाले चीन घेरिरहेको र भारतलाई युद्ध गर्न उक्साइरहेको सत्यलाई नजिकबाट नियालिरहेका आम नेपाली जनताको एउटै प्रार्थना छ– चीन– भारत युद्ध र रक्तपात नहोस्। दुवै छिमेकी शान्ति र सम्वृद्धिको शिखरमा पुगुन् र सानो देश नेपाललाई शान्ति सुरक्षाको प्रत्याभूति दिउन्।
कसको जमिन कति छ र उपयोगी अनुपयोगी के छ त्यो बेसरोकारको कुरा। तर सामान्य सीमा विवाद सुल्झाउने सरल उपायहरु छन् र सम्मानजनक समाधानको बाटो पहिल्याउन सेनाध्यक्षले अचुक अश्त्रको प्रयोग गरुन र सफल हुन्।
अतिथि सेनाध्यक्षले नेपाली जनताको मनोविज्ञान बुझून् र आफ्नो सरकारलाई बुझाउन् कि भारतले नेपाल सरकार र नेतागणको होइन नेपाली जनताको समस्या समानता र न्यायको आधारमा सम्बोधन गरुन् र न्याय दिउन्।
ठूलो छिमेकी देशको पृथक पृथक राजनीतिक धार, परम्परावादी प्रशासनिक धार र नेपाली नेताहरुको दुरुपयोग गर्ने ‘रअ’ सँग हेपिएको दबिएको नेपाली जनताको मनोविज्ञान बुझेर सानो देशलाई रक्षा सम्मान कल्याणको प्रत्याभूति दिन कोर्स करेक्शनको शूत्रधार बन्न सकून अतिथि सेनाध्यक्ष।
सेनाध्यक्षको भ्रमण केवल औपचारिकता मात्र नभएर र चिरस्मरणीय होस। उपलब्धिमूलक होस्। नेपाली भाइलाई गुण लगाउने र उनीहरुको मन मुटुमा सजिएर बस्न योग्य होस्।
पंक्तिकारको हार्दिक शुभकामना छ।
Facebook Comment