ग्लोबल मदर डिभाइनको ‘भावातीत अनुभूति’ भजन सङ्ग्रह सार्वजनिक

डिसी नेपाल
१६ कार्तिक २०७७ १८:१६

काठमाडौँ । नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले ध्यानका क्रममा अनुभूति हुने विषय समेटिएको ‘भावातीत अनुभूति’ नामक भजन सङ्ग्रह सार्वजनिक गरेको छ । सङ्ग्रहमा गायक शिव परियारको स्वर, रामकुमार रिमालको सङ्गीत, कल्पना सेवानी घिमिरेको शब्द र सङ्गीत संयोजन बिएन निराकारको रहेको छ । ‘जगत् जननी अम्बे भवानी’, ‘धरा धामलाई स्वर्ग बनाउन ज्ञान र शक्ति भरिदेऊ’ र ‘धराधाम यो स्वर्ग बनाऊ, वैदिक आत्मिक विश्व बनाऊ’ जस्ता बोल समेटिएका छन् ।

‘जहाँ छौ माता त्यहीँबाट नै दिव्यदृष्टि फैलाइदेऊ’, ‘विश्वलाई शान्त बनाउन ज्ञान र शक्ति भरिदेऊ’ लगायत बोलका भजन सङ्ग्रहमा समेटिएको छ । सङ्ग्रहमा सातै प्रदेशअन्तर्गत जिल्लामा रहेका मुख्य मुख्य शक्तिपीठको समेत उल्लेख गरिएको छ ।

जुम प्रविधिका माध्यमबाट आयोजित कार्यक्रममा सङ्ग्रहको लोकार्पण गर्दै पूर्वगृह राज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले भावातीत ध्यानका क्रममा अनुभूति हुने चेतनाको चौथो अवस्था भावातीत अनुभूतिका क्रममा हुने अनुभवका विषयमा आम मानिसलाई जानकारी दिन सङ्ग्रह सहयोगी हुने बताए ।

लोकसेवा आयोग काठमाडौँ कार्यालयका प्रमुख शङ्कर खरेलले भजन श्रवण गर्दा आनन्दानुभूतिसँगै भावातीत अनुभूति पनि हुने आफ्नो अनुभव सुनाए । सङ्ग्रहमा शब्द संयोजन गरेकी घिमिरेले १२ वर्षअघि देखिको इच्छा पूरा हुँदा सुखानुभूति भएको बताइन् ।

ग्लोबल मदर डिभाइन विश्वव्यापी वैदिक अभियानमा संलग्न मातृ शक्ति आबद्ध भएको समूह हो । आद्य शङ्कराचार्यले स्थापना गर्नुभएका चार मठमध्ये ज्योतिष्मठ बदरिकाश्रमका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीका चेला महर्षि महेश योगीले गुरु आज्ञाबमोजिम विश्वव्यापी वैदिक अभियान शुरु गरेका थिए । योग, ध्यान र वैदिक यज्ञका माध्यमबाट विश्व शान्ति स्थापना गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य लिई हाल विश्वका १९२ देशमा यो अभियान सञ्चालन भइरहेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *