गम्भीर मोडमा नेकपा विवाद, ओलीले अलग बाटो जाउँ भनेको प्रचण्डको ब्रिफिङ

डिसी नेपाल
१६ कार्तिक २०७७ १८:४३

काठमाडौं। विभिन्न सयममा उत्कर्षमा पुग्दै टालटुलमा समाधान हुँदै आएको सत्तारुढ दल नेकपाको आन्तरिक विवाद गम्भीर मोडमा पुगेको नेकपाकै नेताहरुले बताउन थालेका छन्।

आइतबार पार्टी महासचिब तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाको एकतामाथि नै गम्भीर संकट आएको भन्दै पार्टी फुटतर्फ धकेलिएको संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’

महासचिब पौडेलले यो ट्वीट गर्दै गर्दा उता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा उनी पक्षका नेताहरुको भेला भइरहेको थियो। भेलामा पार्टी सचिवालयका ९ मध्ये ६ जना सदस्यहरु सहभागी रहेको एकनेताले बताए। भेलामा प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसमेत सहभागी भएको जनाइएको छ।

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन्। ११ दिनको मौनतापछि प्रचण्ड शनिबार बालुवाटार पुगेर खुला रुपमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।

प्रचण्डले प्रधानमन्त्री ओलीले सँगै जान नसकिने भए अलग भएर जाउँ भनेको ब्रिफिङ गरेको स्रोतले जनायो। प्रधानमन्त्रीले स्थानीय कमिटीको निर्णय कार्यान्वयन गर्न आनाकानी गरेकोसमेत प्रचण्डले भेलामा बताएका छन्।

असारमा शुरु भएको विवाद समाधान गर्न भदौ २६ मा स्थायी कमिटीले प्रचण्डको कार्यकारी अध्यक्षको भूमिकालाई परिभाषित गरेको थियो भने सरकारको महत्वपूर्ण निर्णयमा पार्टीको निर्णय हुने निर्णय गरिएको थियो। तर, प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनःगठनमा एकलौटी गरेको र कर्णाली प्रदेशमा आफू निकटका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावका लागि उचालेको प्रचण्ड समूहको आरोप छ। यही प्रकणले नेकपामा फेरि विवाद उत्कर्षमा पुगेको छ।

आइतबार खुमलाटारमा ६ जना सचिवालय सदस्यहरुलाई राखेर प्रचण्डले प्रधानमन्त्री ओलीले सँगै जान नसकिने भए अलग जाउँ भनेको बताएपछि नेकपा फुटतर्फ धकेलिएको विश्लेषण हुन थालेको छ। भेलामा सहभागी एक सचिवालय सदस्यले खुमलटारमा प्रचण्डको ब्रिफिंग पनि पार्टी गम्भीर मोडमा पुगेको बताए। उनले अब पार्टी एकतालाई कसरी जोगाउने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन्।

उता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले आइतबार मन्त्रिमण्डल पुनःगठन तयारी गरेकोमा अन्तिममा रोकेका छन्। प्रचण्डको निर्देशनपछि मन्त्रिमण्डल रोकिएको बताइएको छ। मुख्यमन्त्री शाहीले ओली निकटका दुईजना मन्त्रीलाई हटाएर माधव नेपाल निकटका तीनजनालाई मन्त्री बनाउने तयारी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *