मन्त्री श्रेष्ठद्वारा निर्माणाधीन संसद भवन र आवास गृहको अवलोकन

डिसी नेपाल
१६ कार्तिक २०७७ १९:५४

काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद भवन र ललितपुरको भैँसेपाटीमा निर्माण भइरहेको सङ्घीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको आज अवलोकन गरेका छन् । मन्त्रालयअन्तर्गतका गौरवका आयोजना अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठ आज ती स्थानमा पुगेका हुन्।

सो अवसरमा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै भने, “गुणस्तरमा कुनै कमीकमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण होस् । सरकारले आवश्यक जस्तोसुकै सहयोग गर्नेछ ।”

सङ्घीय संसद भवन आयोजनाका प्रमुख प्रकृण तुलाधरले कोभिड १९ को सङ्क्रमणका कारण निर्माण सम्पन्न हुन केही ढिलो हुनसक्ने बताए । शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै सम्झौता नहुनेगरी योजना अघि बढिरहेको बताए । प्रधानमन्त्री केपी ओलीको कार्यकालमा संसदको अन्तिम अधिवेशन बस्न मिल्नेगरी काम गर्न ठेकेदार कम्पनीलाई उनले आग्रह गरे ।

सिंहदरबारको पुतलीबगैँचामा एक सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधिसभा, राष्ट्रियसभा, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछ । भवन परिसरमा ७ सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ ।

भवनको गत २०७६ असोज १ गते प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको थियो । चालु आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भएपनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको परियोजनाको अवधि २०७९ असोज १५ सम्म छ ।

भैँसेपाटीस्थित आवासगृहको गत कातिक २७ बाट सम्झौता भएर आगामी वर्ष २७ गते सम्पन्न गर्ने गरी कामा भइरहेको छ । निवासको लागत रु ७२ करोड ४७ लाख छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *