शहरी विकासमन्त्रीद्वारा निर्माणधिन संसदभवन, मन्त्री निवास, प्रदेशप्रमुख र मुख्यमन्त्री निवास निरीक्षण

डिसी नेपाल
१६ कार्तिक २०७७ २२:१४

काठमाडौं। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सिहदरबार भित्र निर्माणाधिन संघीय संसद भवन र ललितपुरका भैसेपाटीमा निर्माण भैरहेको संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको अवलोकन गरेका छन्। शहरी विकास मन्त्रालय अन्तर्गतको गौरबको आयोजना अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले दुई स्थानको संरचना अवलोकन गरेका हुन्।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले अन्तर्गत निर्माण भैरहेको संघीय संसद भवन र मन्त्री , मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास भवनको प्रगतिबारे जानकारी लिन मन्त्री श्रेष्ठ निर्माण स्थल पुगेका हुन्। अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिए।

उनले गुणस्तरमा कुनै कमी कमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण गर्न सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए। उनले भने, ‘मैले यो आशा राखेको छु कि संघीय संसदको अन्तिम बैठक यही भवनमा बस्नेछ।’

संघीय संसद भवन आयोजना प्रमुख प्रकृण तुलाधरले कोभिड संक्रमणको कारण निर्माण सम्पन्न हुन केही ढिलो हुनसक्ने बताए। ‘तैपनि तोकिएकै समयमा सम्पन्न गर्नेगरी कम्पनीलाई दबाव दिइसकेका छौं’, उनले भने। उनले छठ लगत्तै करिब एक हजार मजदुर परीचालन गरी तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष लिएको बताए।

दुई सिफ्ट गरेर भएपनि २४ घण्टा काम गर्नेगरी तयारी भैरहेको भन्दै उनले केही प्राविधिक कठिनाई बाहेक अन्य कुनै समस्या नभएको बताए। शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै कम्परमाइज नहुनेगरी योजना अघि बढिरहेको बताए।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले कोभिडको कारण काम गर्न केही समस्या भएको स्वीकार्दै अब जस्तो परिस्थिति भएपनि कामलाई निरन्तर रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *