अधियाँले धानेको जीवन : वर्षभरको मेहेनतले ५ महिना मात्र खान पुग्छ
नुवाकोट। सूर्यको किरण धर्तीमा नपर्दै उनको पाइला खेतमा पर्छ। सूर्यको किरणले धर्तीबाट बिदा लिइसक्दा पनि उनका पौरखी पाखुराहरु खेतबारीमै बजारी रहेका हुन्छन्। नुवाकोटकी राधिका राईको दैनिकी हो यो।
दुईवटा बच्चसँग मलको भारी बोक्दै खेतमा पुगेकी उनलाई गहुँ छर्ने चटारो छ। वर्ष भरीनै काम हुन्छ उनलाई। आफ्नो जग्गा जमीन भएपछि अरुको जग्गामा आफ्नो पसिना चुहाउँछिन् उनी। ‘असारमा लगाएको धान उत्पादनको आधा भाग मालिकलाई दिनु पर्छ,’ राधिका सम्झन्छिन्, ‘सानो टुक्रामात्र भए पनि आफ्नो भनेको आफ्नै हुन्छ।’
हातमा कुटो कोदालो र शिरमा नाम्लो डोरीमा टिकेको राधिकाको दिनचर्याले त्यति खुसी दिलाउन सकेको छैन। ‘बालबच्चा पढाउनु पर्ने, मैले एक्लैले कमाएकोले कति नै पो हुन्छ र?’, राधिका विलौना गर्दै थिइन्, ‘मैले यहाँ दुःख गरेको छु। मेरो श्रीमान पनि मजदुरी नै गरेर सहयोग गर्नुहुन्छ।’
‘हाम्रो भागमा परेको धानले त ५ महिना पनि खान पुग्दैन नि,’ खेतमा मलको भारी बिसाउँदै उठेर भनिन्, ‘कसरी पुगोस, अर्को कमाइ छैन। यो धान हुथ्यो केही अरु काम पनि भएर अन्तबाट पनि अलिअलि कमाउन पाएको भए पो जीवन यापन गर्न सजिलो हुन्छ,’ अन्य कुनै पनि स्रोत नहुँदा रातदिन काम गर्दा पनि खान लाउन धौधौ भएको उनले सुनाइन्।
सोही ठाउँका खड्ग बहादुर राई पनि करिव १० वर्ष अगाडिबाट अधियाँ खेती गर्दै आएका छन्। ‘अरुको जमिनमा आफूले मेहेनत गर्ने भएको उत्पादन आधा आधा गर्नेलाई अधियाँ भनिन्छ,’ उनले सुनाउँदै थिए, ‘मेहेनत त धेरै नै हुन्छ नि। कहिले काँही त मेहेनत गरेको आफूलाई खुसी नै लाग्छ। तर, अहिले धान राम्रो फलेन।’
यो वर्ष धान उत्पादन नभएका कारण खड्गबहादुर हैरान देखिएका हुन्। उनले अधियाँबाट नै आफ्नो जीवन यापन गर्ने गरेका छन्। ‘शिरको टोपीले अनुहार भरी आएका मोतीका दाना जस्तै पसिना पुच्छै खड्गबहादुरले भने, ‘जति पसिना चुहाए पनि खान पुग्दैन। उमेर र शरीरमा शक्ति हुँदासम्म गर्न सकिन्छ। अरुकै खेतबारीलाई आफ्नो पसिनाले सिचाईँ गरे पनि उमेर पुगेपछि फेरि अरुकै भर पर्नु पर्ने। हाम्रो बाध्यताबाट मुक्ति पाउने दिन कहिले आउला?’
खड्गबहादुर र राधिका उदाहरणमात्र हुन्। कृषि प्रधान देश नेपालमा राधिका र खड्गबहादुरको जस्तै दैनिकी र जीवनशैली भएका बहुसंख्या जनसंख्या छ। उनीको पसिनासँग सम्झौता गरेर धेरै सरकार प्रमुख भए। धरैले यो देशको कृषिको बागडोर सम्हाल्ने कृषि मन्त्रालयको जिम्मेवारी पाए। जसको जोत उसको पोत भन्दै तत्कालीन माओवादीले १७ हजार बढीको बली चढायो। आफूलाई कम्युनिष्ट हुँ भन्नेहरु पनि सरकारमा गए।
व्यक्तिगत स्वार्थपूर्तिका लागि गरीव र निमुखाहरुको भावनामा खेलेर सिंहदरवारको सिंहासनमा पुगेपछि राजा कंशको चरित्र देखाउन थाल्छन्। धृतराष्ट्र जस्ता सत्ताका लालचीहरु सरकारमा जाने काम नरोकिएसम्म किसानका दुःखमा कुनै पनि परिवर्तन नहुने किसानलाई ज्ञात छ। जनता भन्दा बढी राजनीति कार्यकर्ता भएसम्म खड्बहादुर र राधिका जस्ता बहुसंख्यले आफ्नो सम्पूर्ण जीवन अरुकै लागि बलिदानी दिनु पर्ने किसानहरुको भनाइ छ।
Facebook Comment