काँग्रेस पदाधिकारी बैठकः विभाग गठनबाट पछाडि नहट्ने देउवाको अडान

डिसी नेपाल
१७ कार्तिक २०७७ १८:२५

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा देखिएको आन्तरिक विवाद, पार्टी महाधिवेशन, सरकारका गतिविधि र कोरोना महामारीबारे छलफल गर्न सोमबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझाएको १६ बुँदे असहमतिका बुँदामा छलफल भएको छ।

पौडेलले विभाग गठन, भातृ संस्थाको कार्यकाल तथ, क्रियाशील सदस्यता वितरण, जनसम्पर्क समितिमा हेरफेरलगायतका विषयमा सभापति शेरबहादुर देउवाले गरेका निर्णयमा असहमति जनाउँदै १६ बुँदे असहति पत्र बुझाएको थियो।

सोमबार ती सबै विषयमा छलफल भएको छ। पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महतले सोमबार सौहार्द वातावरणमा पदाधिकारीबीच घनिभुत छलफल भएको बताए। उनले भने, ‘सबै कुरा आज सकिएन, त्यसैले भोलि (मंगलबार) फेरि पदाधिकारी बैठक बसेर केन्द्रीय कार्यासमिति बैठकका एजेण्डा तय गर्नेछ।’

स्रोतका अनुसार सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठन भइसकेकाले त्यसबाहेक अन्य विषयमा आफू छलफल गर्न तयार रहेको बताएका छन्। सभापति देउवाले बरु विभागमा पौडेल समूहका नेताहरुलाई जिम्मेवारी भने दिन सकिने बताएको एक नेताले जानकारी दिए।

उता सहमहामन्त्री डा. महतले कुनै निश्चित बुँदामा त्यसरी छलफल भने नभएको बताए। तर, विभाग गठन सभापतिको अधिकारको विषय भएकाले त्यसमा सभापतिले आफ्नो अधिकार प्रयोग गरेको बताए। उनले भने, ‘विभाग गठन गर्ने अधिकार विधानले सभापतिलाई दिएको छ। सबैको सहमतिमा गठन गर्छुभन्दा ढिलो भएको हो। महाधिवेशनको प्रक्रिया शुरु भइसकेको छैन। मतदाताबारे निर्णय नै नभएकाले महाधिवेशन शुरु भइसक्यो भन्न सकिने भएन। मतदाता भनेका क्रियाशील सदस्य हुन्। अहिले त्यो विषयमा निर्णय नै भएको छैन।’

डा. महतले सोमबारको बैठकमा महाधिवेशन, सरकारको गतिविधिलगायतका विषयमासमेत छलफल भएको बताए। उनले आगामी केन्द्रीय कार्यासमिति बैठकले यी विषयमा आवश्यक निर्णय गरेर अगाडि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *