अनलाइनमा जुवा खेल्छन् क्यासिनोका लत लागेकाहरु
काठमाडौं । राजधानी काठमाडौंमा बैध क्यासिनो बन्द भए पनि क्यासिनो जाने लत परेकाहरुले अनलाइन जुवा सञ्चालन गरेको पाइएको छ। कोरोना महामारीका कारण नेपालमा रहेका क्यासिनो बन्द भएपछि त्यसका सञ्चालकहरुले अनलाइन जुवा सञ्चालन गरेका हुन् । यस्तै अनलाइन जुवा सञ्चालन गर्ने राजधानीको लैनचोरस्थित मल्ल होटेलमा रहेको श्रीलंकन वेलिजबेट क्यासिनोका नेपाली एजेण्टलाई सोमबार प्रहरीले पक्राउ गरेपछि अनलाइन जुवाको खेलाइरहेको रहस्य खुलेको हो ।
महानगरीय अपराध महाशाखाले वेलिजबेट क्यासिनोका दिपक गुरुङ भनिने डुबलाल घर्तीमगरसहित २ जनालाई पक्राउ गरेको छ । सामाखुशीका आशिष अधिकारीको जाहेरीमा गुरुङ र अर्का सुनिल पुन मगरलाई प्रहरीले ८ लाख नगदसहित पक्राउ गरेको हो । उनीहरुमाथि अनलाइन जुवा खेलाइ ५० लाख बढी ठगी गरेको आरोप छ । प्यूठान नौवहिनी गाउँपालिका ४ घर भएका घर्तीमगरलाई नागपोखरीबाट ल्यापटप, मोवाइल र भारतीय आधार कार्डहरु तथा सोही ठाउँ घर भएका सुनिल पुनमगरलाई नगद ८ लाख सहित इमाडोलबाट पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा दिपक गुरुङ भनिने डुबलाल घर्ती मगरले भारतको सिक्किम तथा गोवामा रहेका विभिन्न क्यासिनोहरुमा जुवा खेलाउने गरेको स्विकारेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले घतीमगर विरुद्ध मोवाइलमार्फत अनलाइन जुवा खेलाइ सट्टाबाजी गरेको अभियोगमा कारवाही गर्न ६ जनाले उजुरी दिएको बताए ।
उजुरी दिनेमा दिल बहादुर बुढाथोकी (दमक), अमृत गुरूङ (पोखरा), मुकुन्द थापा (भक्तपुर), गणेश केसी (पेप्सिकोला), दिपेन्द्र राई (जोरपाटी) र मदन कार्की (काठमाडौं) रहेका छन् । यसबाहेक राजधानीमा रहेका अन्य क्यासिनोका केही सञ्चालकहरुले पनि अनलाइन जुवा सञ्चालन गरिरहेका सुचना प्रहरीमा पुगेको छ । लकडाउनको बेला विभिन्न प्रलोभन देखाई अनलाइनमा गेम्लिङ र बेटिङ खेलाएर ५० लाख ठगेको आरोप लागेको छ । यी दुवै भारत र श्रीलंकास्थित क्यासिनोका नेपाली एजेन्ट रहेको प्रहरीको दाबी छ । प्रहरीले उनले दीपक गुरूङको नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधार कार्डसमेत बनाएको अनुसन्धानमा देखिएको छ ।
Facebook Comment