लिक छोडेर उछिट्टिन लागेको मेट्रो ट्रेनलाई ‘ह्वेल माछा’ले बचायो, टर्‍यो भयानक दुर्घटना

डिसी नेपाल
१८ कार्तिक २०७७ १२:३१

काठमाडौं। नेदरल्याण्डमा एक भयानक दुर्घटना निकै नाटकीय रुपले टरेको छ । यहाँ एउटा मेट्रो ट्रेन पूरै गतिमा स्टेशन भत्काउँदै लिक छोडेर हावामा उछिट्टिन लागेको थियो तर एक ह्वेलको पुच्छरले यसलाई बाटोमै रोक्यो र भयानक दुर्घटना हुन पाएन । नेदरल्याण्डको रोटरड्याम शहरमा एउटा मेट्रो ट्रेन अनियन्त्रित भएर स्टेशन भत्काउँदै हावामा पुगिसकेको थियो जसबाट ठूलो क्षति हुन सक्थ्यो ।

डी एकर्स नामको स्टेशन भत्काउँदै ट्रेन बाहिर पुगिसकेको थियो । सौभाग्यवश ट्रन गएको दिशामा ह्वेलको पुच्छरको मूर्तिकला बनेको थियो । यही मूर्तिले निकै अद्भूत तरिकाले ट्रेनको अगाडिको भागलाई उठायो र ट्रेन त्यहीँ अड्कियो । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार यो कलाकृतिलाई मेटे स्टेशन नजिकैको पार्कमा २० वर्ष पहिले बनाइएको थियो । यो मूर्तिकलामा २ ह्वेलको पुच्छरको विशाल मूर्ति देख्न सकिन्छ । यिनै २ मध्ये एक पुच्छरका कारण मेट्रो दुर्घटनाबाट जोगिएको हो ।

मेट्रो ड्राइभरको ज्यान मुस्किलले बच्यो र उनलाई कुनै चोट लाग्न पाएन । उनी ट्रेनमा एक्लै थिए, कुनै यात्रु भने थिएनन् । अब यो ट्रेनलाई कसरी पुनः स्टेशनमा ल्याउन सकिन्छ भन्ने विषयमा विशेषज्ञहरुले प्रयास गरिरहेका छन् । पुलिसले ट्वीट गर्दै यो दुर्घटनाबाट केही भौतिक क्षति भएको भए पनि कुनै मानवीय क्षति भने नभएको बताएको छ । ट्रेन कसरी यति अनियन्त्रित भयो भन्नेबारे जाँच भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *