नेता केसीको अत्येष्टिः कास्की काँग्रेसद्वारा दुःख व्यक्त

डिसी नेपाल
१८ कार्तिक २०७७ २२:२३

गण्डकी । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य स्व सूर्यबहादुर केसीको आज अन्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो । उनको पोखरा शान्तिघाटमा हिन्दूसंस्कारअनुसार अत्येष्टि गरिएको हो । केसीका एक श्रीमती र तीन छोरा छन् ।

पोखरा महानगरपालिका वडा नं ७ एयरपोर्टस्थित केसी निवासमा काँग्रेसका तर्फबाट अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाट, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

स्व केसीप्रति श्रद्वाञ्जलि अर्पण गर्न काँग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुक पुगेका काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

यसैबीच काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशन गरी पार्टीका नेता केसीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीलाई व्यवस्थित र सुदृढ गर्दै यसको विकास र विस्तार तथा कार्यकर्ताको मनोबल उकास्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता केसीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सफल राजनीतिकर्मी, समाजसेवी र प्रतिष्ठित व्यवसायीको निधनले मर्माहत बनाएको जनाउँदै विज्ञप्तिमा शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा केसीले पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *