नेकपा विवाद : नयाँ रणनीति बनाउँदै ओली–प्रचण्ड

डिसी नेपाल
१९ कार्तिक २०७७ १०:४९

काठमाडौं। सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पर्ख र हेरको स्थितिमा रहेका छन्।

प्रधानमन्त्री ओली पूर्व एमालेलाई एकत्रित बनाउने रणनीतिमा लागेका छन् भने प्रचण्डले ओलीले चाल्ने कदमपछि आफूले चाल्ने कदमका विषयमा रणनीति बनाउन लागेका छन्।

कर्णाली प्रदेश सरकार विरुद्ध आफ्नो पार्टीका १८ जना सांसदले अविश्वासको प्र्रस्ताव दर्ता गराएपछि सुरु भएको विवाद पार्टी विभाजनको तहसम्म पुगेपछि दुवै नेताहरुले आगामी दिनमा आफूले चाल्ने रणनीति बनाउन व्यस्त भएका छन्।

प्रधानमन्त्री ओली पूर्व एमालेलाई समेटेर अगाडि बढ्ने नयाँ रणनीतिमा लागेका छन्। ओली समूहका केही नेतहरुले केही दिन अगाडि नेता प्रदीप नेपाललाई भेटेर माधव नेपाल समूहलाई मनाइ दिन आग्रह गरेका थिए।

यही महिनामा मात्रै ओलीले वरिष्ठ नेता माधव नेपाललाई दुईपटक भेटेर सहकार्यका लागि आग्रह गरेका छन्। तर नेता नेपालले आफूलाई पटक पटक कर्नरमा पार्ने काम गरेको भन्दै अहिले नै विश्वास गरिहाल्ने अवस्था नभएको जवाफ दिएको नेता नेपाल निकट स्रोतले जनाएको छ।

‘प्रधानमन्त्रीले सहकार्यको प्रस्ताव गर्नु भएको थियो,’ नेपाल निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘आफूलाई अप्ठेरो पर्दा साथ खोज्ने तर समस्याको समाधान भएपछि फेरि कर्नरमा पार्ने काम विगतमा पनि भएका छन्। अहिले नै उहाँलाई विश्वास गरिहाल्ने अवस्था छैन।’

कात्तिक ११ गते प्रचण्डले लामो संवादहीनताको स्थिति अन्त्य गर्दै बालुवाटारमा पुगेका थिए। त्यहाँ अध्यक्षद्वयबीच लामो छलफल भएको थियो। उक्त छलफलमा प्रचण्डले पार्टीभित्रका सबै समस्याका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाउनु पर्ने बताएका थिए।

जवाफमा ओलीले बैठकको औचित्य नभएको भन्दै फेसनका लागि मात्रै बैठक नबोलाउने बताएका थिए। उक्त छलफलमा प्रधानमन्त्री ओली प्रचण्डलाई पार्टी अगल गरेर फरक फरक बाटो हिँड्न प्रस्ताव गरेका थिए।

प्रधानमन्त्रीको उक्त प्रस्ताव राखेपछि प्रचण्डले आफू बाहेक पाँच जना सचिवालय सदस्यलाई बोलाएर प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए।

पार्टी विवाद उत्कर्षमा पुगेपछि केही नेताले मध्यस्थता गर्दै दुई अध्यक्षलाई मिलाउने कोशिश गरिरहेका छन्। उनीहरुले पार्टी विभाजनको तहमा नै पुगिनसकेको उलेख गर्दै पार्टी विभाजन हुने बताएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *