ललितपुर महानगरमा २६ ट्रक अवैध होर्डिङ बोर्ड

डिसी नेपाल
२० कार्तिक २०७७ १७:३३

काठमाडौं। ललितपुर महानगरपालीकाले अवैध रुपमा राखिएका २६ ट्रक होर्डिङ तथा साईन बोर्ड हटाएको छ। नगर प्रहरीले एक महिनाको अवधिमा रक्सी, चुरोटलगायत विभिन्न वस्तुहरुको प्रचार हुने गरी र अवैध रुपमा राखिएको बोर्डहरु हटाइएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।

‘पसल तथा व्यवसायहरुले आफ्नो व्यवसायको बोर्ड राख्ने नाममा मदिरा, चुरोटलगायतको वस्तुको प्रचार हुने होर्डिङबोर्ड झुण्ड्याएका छन्’ हाछेथुले भने, ‘यसरी अनाधिकृत रुपमा राखिएका बोर्डहरु हटाउन नगर प्रहरी परिचालन गरिएको छ।’

अवैध रुपमा होर्डिङ बोर्ड राख्नेमा किराना पसल, रेस्टुरेन्ट, होटलका साथै बैंक तथा वित्तीय संस्थासमेत रहेका छन्। किराना पसल, रेस्टुरेन्टमा नाम राख्ने वहानामा रक्सी, वियर तथा चूरोट कम्पनीको विज्ञापन गरेका बोर्डहरु झुड्याइएको छ।

यसबाहेक महानगरभित्र संचालित व्यवसायीक कम्पनीहरुले पनि तोकिएको मापदण्ड विपरित बोर्ड राखेका पाइएको छ। महानगरपालीले व्यवसाय दर्ता गरेका कम्पनीहरुले ४÷ ६ फिट सम्म आकारको साईन बोर्ड भित्तामा टासेर राख्न पाउने मापदण्ड तोकेको छ। तर कतिपय कम्पनीहरुले तोकिएको मापदण्ड विपरित ठूलो आकारको, एक भन्दा बढि, फुटपाथमा अप्ठेरो पर्ने र दृश्य प्रदुषण हुने गरी बोर्ड राखेकाले त्यस्ता प्रचार सामाग्री हटाउनु परेको महानगरपालिकाले जनाएको छ।

मापदण्ड विपरित बोर्ड राख्नेमा बैंक तथा वित्तीय संस्था पनि छन्। नगर प्रहरीले मंगलबार मात्र एनआइसी एसिया बैंकको बोर्ड हटाएको छ। बैंकले तोकिएको मापदण्ड भन्दा ठूलो र एक भन्दा धेरै बोर्ड झुड्याएकाले हटाउनु परेको हाथेछुले जानकारी दिए। बैंकले फुटपाथ ओगट्ने गरी भर्टिकल रुपमा बोर्ड झुड्याएको र त्यसले दुर्घटनाको जोखिम समेत हुने भएकाले हटाइएको उनले बताए।

५ वर्षपछि मात्र सर्वोच्चको आदेश कार्यान्वयन

सर्वोच्च अदालतले ५ वर्षअघि उपत्यकाबाट परम्परागत होर्डिङ बोर्ड हटाउन सरकारलाई आदेश दिएको थियो। उक्त आदेश कार्यान्वयन नगरेको भन्दै अदालत अवहेलनाको मुद्दा दायर भएपछि गत वर्षबाट काठमाडौं महानगरपालीका होर्डिङबोर्ड हटाउन सुरु गरेको थियो।

ललितपुर महानगरपालिकाले भने सर्वोच्चको आदेशको ५ वर्षपछि मात्र कार्यान्वयन सुरु गरेको हो।

गत वर्ष होर्डिङबोर्डहरु हटाउनका लागि गृह मन्त्रालयले समेत महानगरपालिकाहरुलाई ताकेता गरेको थियो।

बोर्ड हटाउनका लागि ललितपुर महानगरपालिकाले मंसिर १६ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो। सूचनामा अनाधिकृत रुपमा स्वीकृत नलिई राखिएका डिजिटल बोर्ड, होडिङ्ग बोर्ड, फ्लेक्स बोर्ड, ग्लोसाईन बोर्ड परिचय पाटीलाई व्यावसायिक प्रचार सामग्रीको विज्ञापन गरेबापत कर दाखिला गर्न १५ दिने समयसिमा दिएको थियो।

तोकिएको समयभित्र कर दाखिला नगरी अनाधिकृत रुपमा राखिएका बोर्डहरुलाई नगर प्रहरीले असोज पहिलो साताबाट आफै हटाउन थालेको हो।

ललितपुरका नगर प्रहरी प्रमुख हाछेथु होर्डिङ बोर्डले दृश्य प्रदुषण भएकाले सहरलाई सफा राख्नका लागि पनि यसलाई व्यवस्थित गर्नुपर्ने वताउछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *