राजीनामा दिन्न, मन्त्रिपरिषद् पुनःगठनको सम्भावना पनि छैन : प्रधानमन्त्री ओली

डिसी नेपाल
२२ कार्तिक २०७७ २१:३०

काठमाडौं। सत्तारुढ नेकपामा विवाद चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएका छन्। उनले आफूविरुद्ध अनाधिकृत बैठकहरु भइरहेको भन्दै त्यसले केही फरक नपार्ने उल्लेख गर्दै राजीनामा नदिने बताए।

एक टिभी अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुःनगठन पनि नहुने बता। नेकपाको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद मन्त्रिपरिषद् पुनःगठन गर्ने निर्णय गरेको थियो। तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा ओलीबीच विवाद बढेपछि मन्त्रिपरिषद् पुनःगठनसमेत नगर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले आफूले अलग भएर जाउँ नभनेकोसमेत बताए। उनले प्रचण्डसँगको भेटमा त्यस्तो केही नभनेको बताए। केही दिन अगाडि प्रचण्डसँगको भेटमा अलग जाउँ भनेको प्रचण्डले आफू निकट नेताहरुलाई सुनाएका थिए। त्यसपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ। ओलीले सचिवालयको बैठक जतिबेला भन्यो त्यतिबेला नबस्ने बताए। उनले दुई अध्यक्षबीच परामर्श भएपछि महासचिबले बैठक बोलाउने व्यवस्था भएको भन्दै आवश्यकता अनुसार बैठक बस्ने बताए।

उनले प्रचण्ड समूहले विभिन्न स्थानमा बसेर गुटगत भेला गरेपछि पार्टी कार्यालयमै त्यस्तो बैठक गर्दा ठिक हुने भएकाले त्यहाँ बैठक बस्न सल्लाहा दिएकोसमेत बताए। शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयका ५ जना सदस्यहरुको उपस्थितिमा अनौपचारिक सचिवालय बैठक बसेको थियो।

सो बैठकले सामूहकि रुपमा ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन निर्णय गरेको थियो। सोही निर्णयअनुसार आइतबार ओलीसँग सामुहिक रुपमा भेटेर लिखित रुपमै बैठक बोलाउन माग गरेका थिए। तर, त्यसरी बैठक बोलाउनु नै गलत हुने भन्दै उनले बैठक नबोलाउने अडान लिएका छन्।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटबारे आफ्नो बचाउ गरेका छन्। प्रधानमन्त्रीले गुप्तचरसँग भेटेको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतसँग वार्ता गरेको र त्यसको परराष्ट्रमा नोटसमेत रहेको बताएका छन्।

उनले वार्ताका क्रममा आफूसँग अरु अधिकारीहरु पनि रहेको उल्लेख गरे। तर, को थिए भनेर उनीहरुको नाम भन्न नसकिने र भन्न आवश्यक पनि नभएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *