सीमावर्ती क्षेत्रमा विज्ञापनसहित भारतीय च्यानल निर्वाध प्रशारण

डिसी नेपाल
२४ कार्तिक २०७७ ७:००

काठमाडौं। नेपालमा कात्तिक ७ गतेबाट ‘क्लिन फिड’ लागु भएको छ। सरकारले क्लिनफिड लागु गरे पनि तराईका जिल्लाहरुमा यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन तराईका जिल्लाहरुमा भारततर्फका केवल नेटवर्क सेवा प्रदायकबाट हुक गरेर क्लिनफिड बिना नै टेलिभिजन च्यानलहरु प्रशारण भइरहेका छन्।

नेपालगञ्जका राजेश रानाले सीमा पारीबाट सञ्चालन हुने सेवा प्रयादकबाट नेपाली सेवा प्रदायकले हुक गरेर विज्ञापनसहितका च्यानलहरु प्रशारण गरिरहेको बताए। उनले आफूले विभिन्न केवल नेटवर्कहरुले विज्ञानसहितका च्यानल प्रशारण गरेको देखेको बताए।

विदेशी टेलिभिजनहरुले उतैबाट विज्ञापन पनि प्रशारण गर्दा नेपाललाई राजश्वमा घाटा हुने र नेपाली मिडियाले विज्ञापन नपाउने भए पनि सरकारले क्लिनफिड सिस्टम लागू गरेको छ।

तराईका जिल्लाहरुमा भइरहेको गैह्रकानूनी प्रशारणका बारेमा संचार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले क्लिनफिड लागू नगर्नेमाथि कारबाही हुने बताए।

उनले भने, ‘अहिले हामीले हेर्ने टेलिभिजन च्यानलहरुमा हेर्नुहोला सरकारले क्लिनफिड लगाएपछि टेलिभिजन च्यानल प्रोभाइडरले प्रशारकले क्लिनफिड उपलब्ध नगराएको कारण प्रशारण बन्द गरीएको भनी सूचनासमेत दिने गरेका छन्।’

टेलिभिजन प्रशारक र वितरकहरुसँग यसका विषयमा छलफल चलिरहेको प्रवक्ता दुवाडीले जानकारी दिए। उनले तराईका जिल्लाहरुमा क्लिन फिड लागु नगरेको भन्ने विषयकाबारेमा बुझेर कानूनी उपचारमा जाने बताए।

उनले भने, ‘तराईका जिल्लाहरुमा भएको कुरा यथार्थ जानकारी छैन। कानूनले अनुमति नदिएसम्म गरिएका सबैकाम गैह्र कानूनी हुन। यदी क्लिनफिडको विषयमा पनि कसैले कानून विपरित काम गरेको छ भने अवश्य पनि कानून अनुसार कारवाही हुन्छ। हामी त्यसको लागि चाडैँ नै छलफल गर्ने छौं।’

उनले क्लिनफिडको प्रभावकारीताका लागि मन्त्रालयमा समिति गठन भएको जानकारी दिए। ‘क्लिनफिडलाई व्यवस्थित गर्न, कसरी अगाडि लैजाने भन्नका लागि सरोकारवाला समेत राखेर मन्त्रालयले समिति गठन गरेको छ।’ उक्त समितिले छलफल गरेर के गर्दा राम्रो हुन्छ कसरी व्यवथित हुन्छ र नागरिकलाई कसरी सजिलो हुन्छ भन्ने विषयको टुङ्गो लगाउने उनले जानकारी दिए।

नियमनको पाटो व्यवथित गर्नुपर्ने भएकाले त्यसको तयारी पनि भइरहेको छ। वृस्तृत प्रतिवेदन आएपछिमात्र कार्यान्वयनमा जाने प्रवक्ता दुवाडीले जानकारी दिए।

‘क्लिनफिडले स्वदेशी उत्पादनले बजार पाउने छ। नेपाली मोडल तथा विज्ञापनदाता कम्पनीहरुले काम पाउने छन्’, दुवाडीले भने, ‘ग्राहकलाई दोहोरो आर्थिक मार परेकाले नेपालमा क्लिनफिड आवश्यक भएको हो। यस उप्रान्त विज्ञापन दाताले विदेशी च्यानलबाट नभई नेपाली च्यानलबाट विज्ञापन बनाउनु पर्ने भनि कानूनले परिकल्पना गरेको छ।’

नेपालमा यसअघि प्रसारित विदेशी टेलिभिजन च्यानलहरूले ग्राहकबाट टेलिभिजन हेरेबापत रकम पनि असुल्ने अनि विज्ञापन पनि समावेश गर्ने अवस्था थियो। अब कात्तिक ७ उप्रान्त विदेशी टेलिभिजन च्यानलहरूले कार्यक्रम बाहेक कुनै पनि प्रकारको विज्ञापन प्रसारण गर्न पाउने छैनन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *