काँग्रेस महाधिवेशन फागुनमा नहुने निष्कर्ष, नयाँ मितिका लागि प्रस्ताव ल्याउने जिम्मा दुई महामन्त्रीलाई

डिसी नेपाल
२३ कार्तिक २०७७ २०:५२

कामठाडौं। लगातार तीन दिन बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यसअघि तोकिएको फागुन ७ देखि १० सम्म काठमाडौं महाधिवेशन त्यो समयमा नहुने निष्कर्ष निकालेको छ। बैठकमा फागुनमा महाधिवेशन नहुने निष्कर्ष निकालेसँगै नयाँ मितिबारे प्रस्ताव ल्याउन महामन्त्रीद्वोय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ।

सहमहामन्त्री डा. प्रकाशसरण महतले बैठकमा सबै नेताहरुले फागुनमा महाधिवेशन नहुने महसुस गरेको बताए। उनले डिसी नेपालसँग भने, ‘फागुनमा महाधिवेशन हुँदैन भन्ने महसुस सबैले गर्नु भएको छ। अब नयाँ मिति केन्द्रीय कार्यसमिति बैठकले तोक्छ।’ काँग्रेस नेताहरुले आगामी भदौ अगावै महाधिवेशन हुने गरी नयाँ मिति तोकिने बताएका छन्। जेठमा महाधिवेशन गर्ने गरी मिति तोकिने सम्भावना रहेको नेताहरुले बताएका छन्।

लगातार तीनदिनसम्म चलेको पदाधिकारी बैठकले काँग्रेस भित्रको आन्तरिक विवादसमेत समाधान गरेको नेताहरुले दावी गरेका छन्। विवाद समाधान भएसँगै केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २७ गतेका लागि बोलाइएको र सोही बैठकबाट महाधिवेशनबारे निर्णय हुने जानकारी दिइएको छ।

डा. महतले भने, ‘खास ठूलो विवाद थिएन, रामचन्द्र दाईहरुको केही आशंका थियो। ती सबै विषयमा सौहार्द रुपमा छलफल भएको छ। सबैभन्दा बढि जोड उहाँहरुको क्रियाशिल सदस्यतामा थियो। क्रियाशिल सदस्यता वितरणमा पारदर्शिता अपनाउने सबैलाई समेट्ने कुरा भएको छ।’

अर्को पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरुलाई सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा क्रियाशील सदस्यता वितरण गरेको र स्थानीय समितिहरुलाई भूमिका नदिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध जनाएको थियो। यो विषयमा दुबै पक्षबीच सहमति जुटेको छ।

पौडेल समूहले बुझाएको असहमतिका १६ बुँदामा बुँदागत छलफल भएको र सबै विषयमा सहमति जुटेको नेताहरुले बताएका छन्। तर, पौडेल समूहले जोडदार रुपमा उठाएको विभाग गठनको विषयमा भने देउवा आफ्ना अडानमा अडिग रहेका छन्। देउवाले गठन भइसकेका विभाग खारेज नहुने बताएपछि पौडेलले पनि त्यो विषयमा त्यति अडान नलिएपछि दुबै समूहबीच सहमतिको वातावरण बनेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *