भारतीय राजदूत क्वात्रासँग प्रचण्डको गोप्य भेट

डिसी नेपाल
२५ कार्तिक २०७७ २२:५३

काठमाडौं। सत्तारुढ दल नेकपामा भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भेटेको विषयलाई लिएर विवाद चर्किरहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रासँग मंगलबार साँझ गोप्य भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार मंगलबार साँझ ६ बजेपछि प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निवास मान भवनमा भेट वार्ता भएको हो। सो भेट एक घण्टा चलेको स्रोतले जनायो। भारतीय गुप्तचर एजेन्सीका प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गरेपछि प्रचण्डले सो विषयलाई लिएर सचिवालयमा छलफल हुनुपर्ने भन्दै आएका छन्। सचिवालय बैठकको विषयलाई लिएर नेकपा विभाजनसम्म जाने चर्चाहरु नेकपाकै नेताहरुले गरिरहेका छन्।

सत्तारुढ दल भित्र उथलपुथल चलिरहेका बेला भारतीय राजदूतले प्रचण्डसँग गोप्य भेट गर्नुलाई चासोका साथ हेरिएको छ। हालै दुई भारतीय उच्च रक्षा अधिकारीले नेपाल भ्रमण गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा न्यानोपन आउने देखिएको छ। भारतीय विदेश सचिब हर्षवर्धन श्रंगलाले नेपाल भ्रमण गर्नेसमेत तय भइसकेको छ। मंगलबारको प्रचण्ड–क्वात्रा भेटमा के कुरा भयो भन्ने विषय भने बाहिर आएको छैन।

उता प्रचण्डको सचिवालयले भने सो भेट नभएको दावी गरेको छ। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भेट नभएको दावी गरे। उनले डिसी नेपालसँग भने, ‘कसैसँग भेट भएको छैन। पार्टी सचिवालयको नेताहरुसँगको बैठकपछि कुनै भेट भएको छैन।’

प्रचण्ड मंगलबार निकै सक्रिय रहेका थिए। शुरुमा खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसँग छलफल गरी सचिवलयका पाँचजना सदस्यहरुको धुम्बाराहीमा बैठक बोलाएका उनले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका थिए।

बालुवाटारको छलफलपछि धुम्बाराहीमा सचिवालयमा रहेका प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच बैठक भएको थियो। सो बैठकमा प्रचण्डले आफूले प्रधानमन्त्री समक्ष २७ गते बैठक बस्ने प्रस्ताव गरेको तर, सहमति नपाएको जनाएका थिए।

सो भेटपछि प्रचण्डले भारतीय राजदूतसँग गोप्य भेट गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *