कतार रोजगारीको सिन्डिकेटबारे छानबिन गर्न विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन

डिसी नेपाल
२६ कार्तिक २०७७ १३:३६

काठमाडौं । कतार रोजगारीको सिन्डिकेटबारे छानबिन गर्न एक समिति गठन गरिएको छ । सिन्डिकेटबारे छानबिन गर्नको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा एक ५ सदस्दीय समिति गठन गरेको हो।

कतार रोजगारीमा पठाउन केही सीमित व्यवसायीले सिन्डिकेट गर्न लागेको सम्बन्धमा छानविन गर्न भन्दै संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएपछि श्रम मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

‘कतारमा कामदार पठाउन सिन्डिकेट लगाइएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ,’ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले डिसी नेपालसँग भने, ‘गठित समितिले सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।’ समितिले आजैबाट छानबिनको काम शुरु गरिसकेको उनले बताए।

नेपालबाट कतारमा श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भई सिण्डीकेट गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिको सोमबार बसेको बैठकले सो सम्बन्धमा छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो। समितिले यस विषयमा स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धानसहितको प्रतिवेदन ७ दिनभित्र बुझाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो।

काठमाडौंस्थित कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गरिएको जनाउँदै वैदेशिक रोजगारी व्यवसायीहरुले त्यसको सत्यतथ्य छानबिनको माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *