चीनमा विदेशबाट आयात गरिएका उत्पादन बिक्न छाडे तर राष्ट्रियता मात्रै होइन कारण

डिसी नेपाल
२७ कार्तिक २०७७ ८:०४

काठमाडौं। चीनका उपभोक्ताले विदेशबाट आयात गरिएका उत्पादन किन्न छाडेका छन् । चीनमा अघिल्लो वर्षमा विदेशबाट आयातीत सामानहरुको माग जति हुन्थ्यो त्यो माग निकै कमजोर भइरहेको चीनमा विदेशी सामान आपूर्तिको व्यवस्थापन गर्ने कम्पनी ओलिभ विम्यानलाई उद्धृत गर्दै सिएनबीसीले जनाएको छ । ‘चीनको बजारमा माग उच्च छ तर विदेशबाट आयात गरिएका सामानको मात्रै माग अत्यन्तै न्यून भएको छ’ कम्पनीको ग्रेटर चाइना अफिसका खुद्रा तथा उपभोग्य सामान साझेदार ज्याक्स पेनहाइरिनले भने ।

सौन्दर्य र कस्मेटिक तथा स्वास्थ्य सम्बन्धी विदेशबाट आयातीत सामानहरु अझै लोकप्रिय छन् तर माग भने ह्वात्तै घटेको छ । इलेक्ट्रोनिक सामानको माग पनि घटेको छ र चिनियाँ उत्पादनहरुले बजारको ठूलो हिस्सा नियन्त्रणमा लिँदै गइरहेका छन् । पेनहाइरिनका अनुसार बजारमा आयातीत सामान एकमात्र विकल्प होइन भन्ने किसिमले बजारको माग स्थानान्तरित भइरहेको छ । उनका अनुसार यो परिवर्तनको मुख्य कारण राजनीति भने होइन ।

‘मलाई लाग्छ यो विश्वास हो । चिनियाँ उत्पादनहरुको विश्वास पछिल्लो वर्षहरुमा बढ्दै गइरहेको छ’ पेनहाइरिनले भने । चीनमै उच्च गुणस्तरका सामानहरु उत्पादन हुन थालिसकेकोले बजार परिवर्तन हुन थालेको उनले बताए । ‘एप्पल राम्रो उदाहरण हो’ उनले भने ‘डिजाइन क्यालिफोर्नियामा भएर पनि चीनमा बनेको हो । चीनले राम्रा उत्पादन बनाउन सक्छ ।’ पेनहाइरिनले राष्ट्रियताको भावना एउटा अंश हुन सक्ने स्वीकार गरे तर उनले आयातीत सामानको माग घट्नुको मुख्य कारण यो नभएको बताए ।

लामो समयदेखि चीन र अमेरिकाबीच जारी व्यापारयुद्धका कारण दुवै देशका उपभोक्ताले एक अर्काको उत्पादनलाई बहिष्कार गर्न सक्ने खतरा पनि बढाएको छ । चिनियाँ सामाजिक संजालमा पनि अमेरिकी उत्पादन छाडेर स्थानीय उत्पादनतर्फ जानुपर्ने आवाज उठिरहेको छ । पेनहाइरिनले विश्वकै सबैभन्दा ठूलामध्येको एक अनलाई सपिङ उत्सव नोभेम्बर ११ का दिन यस्तो बताएका हुन् । यो उत्सव चीनबाटै सुरु भएको हो र यसलाई ११.११ भनेर पनि चिनिन्छ ।

यस वर्ष ११.११ अघिल्ला वर्षहरुजस्तो २४ घण्टाको नभइ नोभेम्बर १ देखि नोभेम्बर १२ सम्म लम्ब्याइएको छ । यो अवधिमा चीनमा कारोबार भने निकै उच्च भएको छ । चीनको सबैभन्दा ठूलो अनलाइन बजार अलीबाबाका अनुसार यो अवधिमा उसको प्लेतफर्ममा रेकर्ड ३७२.३ बिलियन युआनको कारोबार भएको छ । जेडीडटकममा पनि २०० बिलियन युआनको कारोबार भएको छ । यति ठूलो कारोबार हुँदा पनि यसमा आयातीत उत्पादनको हिस्सा भने नगण्य छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *