नेपालबाट भनेपछि बाइडेनले बोलाए, यसरी भएको थियो त्यो भेट

डिसी नेपाल
२८ कार्तिक २०७७ ७:३२

यतिबेला अमेरिकाको राष्ट्रपतिमा जो वाइडेन निर्वाचित भएका छन्। निर्वाचनको परिणामलाई अनपेक्षित ठानेर होला राष्ट्रपति डोनल्ड जे ट्रम्पले यो परिणामलाई सहजरुपमा स्वीकार गर्न सकेका छैनन्।

विश्वको सबैभन्दा पुरानो लोकतन्त्र भएको मुलुक अमेरिकामा पछिल्ला केही वर्षहरुमा अस्वाभाविक खालका राजनीतिक गतिविधि पनि देखिँदै आएका छन्।

तर, सयौं वर्षको लोकतान्त्रिक अभ्यासले स्थापित गरेका मुलुकका संस्थाहरुले यो परिस्थितिलाई सहजै पार लगाउने विश्वास पनि उत्तिकै छ। राजनीतिको गति आफ्नो ठाउँमा छ, मैले चर्चा गर्न खोजेको कुरा चाहिँ हाल निर्वाचित राष्ट्रपति जो वाइडेन जसले जनवरी २०, २०२१ देखि औपचारिकरुपमा शासन सञ्चालन गर्छन्, हो, उनीसँगैको हाम्रो अप्रत्यासित भेटको बारेमा हो।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, नेपाल प्रहरीका आईजीपी रमेश चन्द ठकुरीसमेत हामी अमेरिका भ्रमणमा आउँदा उनीसँगको भेट एउटा अविस्मरणीय पाटो बनेर रहेको छ। त्यसमा पनि उनले नेपाल र नेपाली अधिकृतहरु माथि त्यसबेला दर्शाएको स्नेहभाव उनको शासनमा नेपाल नीतिका लागि पनि मार्गदर्शक हुनसक्छ। कुरा शुरु गरौं भ्रमणको तयारी र संयोगबाट।

मिति त ठ्याक्कै स्मृतिमा आएन तर सन २०१० सालको अगस्ट महिना हुनुपर्दछ। काठमाडौंको होटल याक एण्ड यतिमा अमेरिका राजदूतावासबाट आयोजित ‘साउथ एसिया वर्कशप अन टार्गेटेड इकोनमिक स्याङ्सन रेजिम’ गोष्ठीमा सशस्त्र प्रहरी बलबाट प्रतिनिधित्व गरिरहेको थिएँ।

त्यहीँ आगामी अक्टोबर महिनामा सशस्त्र प्रहरी बलबाट सशस्त्र प्रमुख महानिरिक्षक सनतकुमार बस्नेत र नेपाल प्रहरीबाट महानिरिक्षक रमेश चन्द ठकुरीलाई अमेरिकाको ओल्र्याण्डो शहरमा अयोजित अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संगठन (International Association of chief of Police) को साधारण सभामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन निमन्त्रणा पत्र प्राप्त भएको जानकारी पाएँ।

सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेको हुँदा महानिरीक्षक सनत बस्नेतको भ्रमण तालिका र कार्यक्रम तय गर्ने सम्पूर्ण चटारो तत्कालै गर्नुपर्ने अवस्था आइलाग्यो।

अप्रत्यासित भेटभाटको एकदशकपश्चात आज उनै बाइडनले इतिहास रच्दै ४६ औं राष्ट्रपतिको रुपमा जनवरीबाट विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको शासनको बागडोर समाल्दै छन्। त्याे बेला नै नेपाल र नेपाली भनेपछि अत्यन्त आत्मीय भाव देखाएका बाइडेनको शासनकालमा नेपाल र नेपालीप्रति सुमधुर सम्बन्ध कायम हुन्छ भन्ने विश्वास पनि यो लेख्दै गर्दा मलाइ लागेको छ।

उक्त कार्यक्रम नेपालको सबैभन्दा ठूलो चाडपर्व दशैँको मुखैमा पर्ने भएको हुँदा भ्रमणको जानकारी तालुक मन्त्रालय (परराष्ट्र र गृह)बाट स्वीकृति लिई अमेरिकी दुतावससँग समन्वय गर्न मसँग धेरै समय थिएन। तथापि मैले सनत सरलाई स्टाफ अधिकृतको जिम्मेवारीमा हालसम्म अमेरिका भ्रमण नगरेका अधिकृतलाई लान प्राथमिकतामा राख्न सल्लाह दिएँ।

सुडानको डार्फरमा संयुक्त राष्ट्र संघको फर्मड पुलिस युनिटको संयोजकको गहन जिम्मेवारीमा डार्फरको राजधानी EL-Fasher मा अवस्थित UNAMID हेडक्वार्टरमा झण्डै १८ महिना सेवाप्रदान गरी अप्रिलको दोस्रो हप्तामात्र नेपालमा फर्केको हुनाले म केही समय परिवारसँग विताउन चाहन्थेँ। डार्फरमा रहँदा नेपालमा सुडान डार्फर काण्ड मजाले तातेको थियो।

UN को Mission H.Q मा भएको हुँदा नेपाल सरकार, नेपाल प्रहरी र UNDPKO बीच समन्वय गर्ने जिम्मेवारी मेरो कार्यक्षेत्र भएको हुँदा यो प्रकरणले मलाई थप गाँजेको थियो। नेपालमा यो भ्रष्टाचार काण्डले तुल पकडिदैँ जाँदा मेरो पनि डार्फरमा सेवा अवधि नचाहँदा नचाहँदै पनि लम्बिदै गयो। नियमित १ वर्षको सेवापश्चात ३ महिना थप हुँदा पनि डार्फर काण्डको अनुसन्धानले नयाँनयाँ पाटो खोल्दै गयो।

नेपालबाट उच्चस्तरीय संसदीय छानबिन टोली डार्फर मिशन एरियामा स्थलगत अनुसन्धानको लागि आउने भएपछि मेरो अवधि थप १५ दिन लम्बियो । आफू अनिच्छुक हुदाँहुँदै पनि नांगो भ्रष्टाचारलाई उजागर गर्नुपर्छ भनी संसदीय टोलीलाई आवश्यक ब्रिफिङ र न्याला (नेपाल प्रहरीको एफपीयू भएको ठाउँ) मा स्थलगत भ्रमण गराएँ ।

अन्ततः अप्रिल १० २०१० मा आफ्नो मिशन अवधि पूरा गरी नेपाल फर्केर एक हप्ताको छुट्टीपश्चात मेरो पदस्थापना बलको हेटक्वार्टर अन्तर्गत मानवस्रोत विकास विभागअन्तर्गतको नव स्थापित Research & Development Directorate मा भयो। तर ठ्याक्कै एक महिनापछि हैटीमा सशस्त्र प्रहरी बलको एउटा एफपीयु खटाउने निर्णय भएको हुँदा रेकी र एमओयु सम्झौताको लागि हैटी र न्युयोर्क जाने आदेश प्राप्त भयो।

त्यहाँ सफलातापूर्वक कार्य सम्पादन गरेर हामी नेपाल फर्कियौँ। तत्पश्चात मेरो सशस्त्रप्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा पनि भयो र मैले संगठन प्रमुख सनत बस्नेतलाई केही समय परिवार र भर्खरै जन्मेको छोरीसँग बिताउने इच्छा जाहेर गरेँ। तर समयको नियत भने अर्कै रहेछ।

होटल याक एण्ड यतिको गोष्ठी सम्पन्न गरेपश्चात आईजीपी साबको भ्रमण तालिका र स्वीकृतिका लागि युद्धस्तर लागें। सचिवलयमा कार्यरत अन्य स्टाफ अधिकृतलाई अमेरिका जान तैयारी हालतमा रहन निर्देशन दिएँ।

बडा दशैँको बिदा सुरु हुन लागेको अवस्थामा स्टाफ अधिकृतलाई तत्कालै भिसा प्रकृयाको लागि परराष्ट्र र गृह मन्त्रालयमा समन्वय गर्न सहयोग गरेँ। सम्पूर्ण तैयारी पूरा भएको अवस्थामा एक्कासी अमेरिकी दुतावासबाट भिसा प्रकृयालाई पूरा गर्न समय कम भएको हुँदा नयाँ भिसा जारी गर्न नसकिने भन्ने खबर प्राप्त भयो।

महानिरीक्षकसँग कुनै पनि स्टाफ अधिकृत जान नसक्ने अवस्था आएपछि म नै जानुपर्ने अवस्थाको सृजना भयो किनकि पहिला नै कामको सिलसिलमा न्यूयोर्क पुगेर आएकोले मेरो लागि नयाँ भिसाको प्रकृया गर्नु पर्ने थिएन। यसरी नेपाल प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक हेमन्त मल्ल ठकुरी र सशस्त्रबाट महानिरीक्षक सनत बस्नेत र मेरो स्वीकृति गृहबाट आएपश्चात हामी अमेरिकाको लागि प्रस्थान गर्यौँ।

अन्तर्राष्ट्रिय प्रहरी प्रमुखको बैठकमा अन्य देशहरुबाट लगभग सयभन्दा बढी प्रतिनिधि र आयोजक अमेरिकाको संघीय, राज्य र काउण्टीबाट हजारौँ प्रहरी अधिकृतहरुको भब्य भेला ओल्र्याण्डो शहरको एक विराट कन्भेन्सन केन्द्रमा भएको थियो। प्रत्येक २–२ वर्षमा आयोजना हुने यो गोष्ठीको प्रथम सत्रमा उद्घाटन कार्यक्रम राखिएको थियो, जुन तत्कालीन उपराष्ट्रपति जो बाइडन (हाल राष्ट्रपति निर्वाचित) बाट सम्पन्न हुने भनी हामीलाई अमेरिका पुगेपछि मात्र जानकारी भयो।

मुख्य अतिथि जो बाइडनको व्यस्त कार्यक्रम र अन्तर्राष्ट्रिय प्रहरी प्रतिनिधिहरुको उर्लदोँ संख्यालाई नजर गर्दा सबैले व्यक्तिगत साक्षात्कार गर्न पाउने भन्ने गुञ्जायस नै थिएन। तर सनत बस्नेत सरले मलाइ सामूहिक रुपमा भए पनि नेपालको तर्फबाट भेट गर्ने इच्छा व्यक्त गरेपछि मलाइ सो अभिव्यक्ति आदेशसरह भयो र मैले लिएँ पनि।

भव्य कार्यक्रमको पहिलो दिनको पहिलो सत्र। भिड भाड नहुने कूरै भएन। तत्कालीन उपराष्ट्र वाइडेन मञ्चमा थिए। उप–राष्ट्रपतिको आगमनले समारोह स्थललाई अभेद्य किल्ला जस्तै बनाएको थियो।

समारोहस्थलको आन्तरिक सुुरक्षा व्यवस्था व्यक्तिगत सुरक्षा घेरा र उपस्थित प्रतिनिधिहरुको उर्लदाेँ संख्या हेर्दा कसरी सामूहिक साक्षात्कारको चाँजो पाँचो मिलाउने होला भन्ने तानावाना बुन्दै मेरो बाँकी समय सोचमा बित्न थाल्यो। तर म कुनै ठोस निर्णयमा पुग्न भने सकिन।

फौजी संगठनमा आबद्ध र त्यो पनि प्रमुखको स्टाफ अधिकृतको जिम्मेवारी। प्राप्त आदेशको पालना कटिबद्ध भै पूरा गर्ने कर्तव्यबाट विमुख हुने कुरै भएन। तर मैले आफूलाई पहिलोपटक बडो कठिन मोडमा पुगेको आभास पाएको थिएँ।

किनकि जो वाइडसँग भेट गर्ने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन र उनको सचिवालयसँग समन्वय गरेर भेट मिलाउने समय पनि हामीसँग थिएन। तर विचलित भइनँ। अठोट गरे र जस्तो पर्ला, त्यस्तै टर्ला भनेर तोकिएको सिटमा बसे।

अजंगको हलमा हाम्रो सिट व्यवस्थापन लगभग मध्यभागमा परेको रहेछ। हामी बसेको स्थानबाट मुख्य पोडियम करीब १०० मिटरको दुरीमा थियो होला र थप २५ मिटर जति भीआईपीको सुरक्षार्थ खाली गरेको ठाउँ। १२५ मिटरको त्यो ठाउँमा झण्डै हजार १२ सय जति प्रतिनिधि र सुरक्षा घेराको बीच मैले सनत बस्नेत सरबाट पाएको आदेश पूरा गर्ने कुनै प्रस्थानबिन्दू नै भेटिनँ।

नियमित समयभन्दा अलि ढिलो गरेर सुरु भएको कार्यक्रमको पहिलो सत्र सपथ ग्रहणबाट सुरु भयो। तत्पश्चात औपचारिक सत्र सुरु भएपछि मुख्य अतिथि तत्कालीन उपराष्ट्रपति जो बाइडेनको आगमन भएको थियो। झण्डै १५ मिनेटको औपचारिक भाषणपछि मञ्चभन्दा अगाडि आई अग्रपक्तिमा रहेका प्रतिनिधिहरुसँग हात मिलाउँदै भलाकुसारी गर्न थाले।

यता भीड एकत्रित भई हामीलाई हिडडुल गर्नसमेत हम्मेहम्मे पर्यो। करिब १० मिनेटको भेटघाट कार्यक्रमपछि बिदा माग्दै गरेको देख्दा हामी १० मिटर पनि अघि बढ्न सकेका थिएनौँ। भेटघाट त के हेर्नसमेत गाह्रो हुने अवस्था आयो।

हाल राष्ट्रपति निर्वाचित बाइडेन लगभग ढोकाबाट बाहिरिन लाग्दा मैले सम्पूर्ण शक्ति संगठित गरेर चिच्याउन पुगे, …Mr. vice president we have came all the way from Nepal’ यति भन्नासाथ बाइडन पुलुक्क फर्के र भने…Oh! from Nepal, please come’ हातको इशारासँगै भीडमाझ हराएका हामी स्वयं भीआईपी जस्तै भयौँ र सबैले हामीलाई गोरेटो बाटो समेत खोलिदिए। म दौडिदै सबैभन्दा अगाडि पुगे र एकैसासमा भन्न भ्याएँ,’I have chiefs from Nepal. Please allow me to ask for your permission to introduce them Sir. यति भन्नासाथ बाइडेनले Please भने।

त्यसपछि मैले पछाडि फर्केर सनत सर र रमेश सरलाई छिटो आउन आग्रह गरें। फैजी अभिवादनपश्चात आईजीपी साव र जो वाइडेनका बीच केही मिनेटको वार्तालाप पनि सम्भव भयो। त्यसपछि हामीले त्यो क्षणलाई सदाको लागि कैमरामा कैद गर्यौँ।

बडो चमत्कारिक ढंगबाट पटाक्षेप भएको त्यो क्षण हालसम्म अविस्मरणीय रहेको पृष्ठभूमिमा बाइडेनको एउटा अभिव्यक्ति अझै पनि मेरो मानसपटलमा ताजै छ, उनले भनेका थिए, ‘नेपाल इज ए व्युटिफुल कन्ट्री।’

सो अप्रत्यासित भेटभाटको एकदशकपश्चात आज उनै बाइडनले इतिहास रच्दै ४६ औं राष्ट्रपतिको रुपमा जनवरीबाट विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको शासनको बागडोर समाल्दै छन्। उनका ती अभिव्यक्ति र क्यामरामा कैद भएको क्षण पाठक सामू बाँढ्न योभन्दा उपयुक्त समय अरु हुन सक्दैन भन्ने लागेर मैले यो संस्मरण लेखेको हुँ।

त्याे बेला नै नेपाल र नेपाली भनेपछि अत्यन्त आत्मीय भाव देखाएका बाइडेनको शासनकालमा नेपाल र नेपालीप्रति सुमधुर सम्बन्ध कायम हुन्छ भन्ने विश्वास पनि यो लेख्दै गर्दा मलाइ लागेको छ। नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *