कोभिड–१९ का कारण बैंकहरुको नाफा खुम्चिँदै

डिसी नेपाल
२८ कार्तिक २०७७ ११:५१

काठमाडौं। कोभिड–१९ को महामारीले गर्दा बैंकहरुको नाफा खुम्चिन थालेको छ। कोभिडका कारण बैंकहरुको खराब कर्जा बढ्नुका साथै व्याजलगायतका आम्दानी समेत प्रभावित भएपछि नाफामा असर गरेको हो।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्मको) अवधिमा कतिपय बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत भन्दा बढीले घटेको छ। शुक्रबारसम्म १५ वटा बाणिज्य बैंकले आफ्नो वित्तीय विवरण सार्जजनिक गरेको छ। यसमध्ये एकाध बैंकको मात्र नाफा बढेको पाइएको छ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी नेपाल एसबिआई बैंकको नाफा ५४ प्रतिशतले गिरावट आएको छ। गतवर्षको पहिलो त्रैमासिकमा ४५ करोड ४३ लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आवको यसै अवधिमा २० करोड मात्र नाफा गरेको छ।

यसैगरी हिमालयन बैंकको नाफा पनि ४७ प्रतिशतले घटेको छ।  असोजसम्ममा स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट, सनराईज, सेन्चुरी, राष्ट्रिय बाणिज्य, कृषिविकास, एससीसी, लक्ष्मी बैंकको नाफा घटेको छ।

हालसम्म वित्तीय विवरण सार्वजनिक भएकामध्ये एनबी, मेगा र एनएमवी बैंकको भने नाफा वृद्धि भएको छ। कोभिडका कारण बैंकहरुको खराब कर्जा बृद्धि भई जोखिम व्यवस्था वापत छुट्याउनुपर्ने रकम वृद्धि गरेपछि नाफामा असर गरेको देखिन्छ।

यसैगरी लकडाउनका कारण बैंकहरुको व्यवसाय बृद्धि हुन नसक्दा पनि नाफा प्रभावित भएको छ।  कोभिडको अवस्थामा पनि बैंक तथा वित्तीय क्षेत्रलाई असर नपरेको भन्ने विश्लेषण गरिएपनि पहिलो त्रैमासिकको वित्तीय विवरणले आगामी दिनमा वित्तीय क्षेत्रमा पनि ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *