कोरोनाले छुन नसकेका आधा दर्जन बढी देश, अढाइ करोड जनता भएको देश पनि सुरक्षित
काठमाडौं। कोरोनाभाइरसको प्रकोप विश्वभरी फैलिएको छ । विश्वका विकसित, शक्तिशाली र उच्च स्तरको स्वास्थ्य सेवा भएका देशहरु समेत यो महामारीसँग जुधिरहेका छन् । तर, केही देशहरु यस्ता छन् जो अहिलेसम्म यो महामारीबाट सुरक्षित छन् । ती देशमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणको एउटा केस पनि भेटिएको छैन । यस्ता देशहरु आधा दर्जनभन्दा बढी छन् । यीमध्ये केही देशहरुमाथि भने संक्रमणको जानकारी लुकाएको आरोप समेत लागेको छ ।
समाचार एजेन्सी एपीको रिपोर्टअनुसार दक्षिणी प्रशान्त महासागरमा रहेका केही टापु देशहरु कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित छन् । दक्षिणी प्रशान्त महासागरमा ओसनिया महाद्वीपमा रहेका टोंगा, किराबाती, सामोआ, माइक्रोनेशिया र तुवालुमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणको एउटा पनि केस देखिएको छैन । यी सबै टापु देश हुन् । यीमध्ये सबैभन्दा कम जनसंख्या भएको देश तुवालु हो जसको जनसंख्या ११ हजारभन्दा केही बढी छ । यसबाहेक अन्य सबै देशको जनसंख्या एक लाखभन्दा बढी छ । सामोआको जनसंख्या भने झण्डै २ लाख नै छ ।
टोंगा चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष पाउला टाउमोइपियाउका अनुसार उनको देशले मार्च महिनादेखि नै क्रुज जहाजहरुलाई समुद्र तटभन्दा टाढै रोक्ने गरेको छ । देशमा विमानस्थल बन्द गरिएको छ । टोंगामा एउटा पनि केस नभेटिएको अवस्थामा पनि सरकारले लकडाउन घोषित गरेको थियो । विदेशबाट आउने आफ्नै नागरिकहरुलाई पनि जाँच रिपोर्ट नेगेटिभ आएपछि मात्रै देशमा प्रवेश दिइएको छ ।
टोंगाका अलावा निर्जन अन्तर्कटिकामा पनि कोरोनाभाइरस संक्रमणको एउटा पनि केस भेटिएको छैन । कोरोनाभाइरस संक्रमणबाट पूर्ण रुपमा मुक्त यो एकमात्र महादेश हो । हुन त यो महादेशमा कोही पनि स्थायी रुपमा बस्दैनन् तर विभिन्न देशका वैज्ञानिक, अनुसन्धानकर्ता र सैनिक यो देशमा कामको लागि बस्छन् । मौसम अनुसार यहाँ बस्ने यी मानिसहरुको संख्या १ हजारदेखि ५ हजारसम्म हुन्छ । कोरोना संकटका कारण विभिन्न देशहरुले यहाँ पठाउने मानिसको संख्या पनि घटाएका छन् ।
बाहिरी विश्वबाट छुट्टै बस्न रुचाउने देश उत्तर कोरिया पनि कोरोनाभाइरसबाट मुक्त छ । अहिलेसम्म उत्तरु कोरियामा आधिकारिक रुपमा एउटा पनि कोरोनाभाइरस संक्रमणको केस सार्वजनिक भएको छैन । उत्तर कोरियाको कूल जनसंख्या अढाइ करोड छ । रिपोर्टमा उत्तर कोरियाले संक्रमणका केस लुकाएको समेत आशंका गरिएको छ किनकि उत्तर कोरिया चीन र दक्षिण कोरियाको बीचमा छ । महामारीको सुरुवातको समयमा चीन र दक्षिण कोरिया दुवै नराम्ररी प्रभावित भएका थिए ।
उत्तर कोरियाले सीमामा यातायात रोकेर, पर्यटकहरु आउन प्रतिबन्ध लगाएर र नागरिकको स्वास्थ्य जाँचको अभियान चलाएर कोरोनामाथि विजय पाएको बताएको छ । यसअघि सेप्टेम्बर महिनामा उत्तर कोरियाले समुद्रबाट आफ्नो देशमा आइरहेका एक दक्षिण कोरियाली अधिकारीलाई गोली हानेर मारेको र उनको शव जलाएको रिपोर्ट सार्वजनिक भएको थियो ।
उत्तर कोरियाजस्तै मध्य एसियाली देश तुर्कमेनिस्तानले पनि आफ्नो देशमा कोरोनाभाइरसको एउटा पनि केस नभेटिएको दावी गरेको छ । तुर्कमेनिस्तान सरकारमाथि पनि संक्रमणका केसहरु लुकाएको आरोप लागेको छ तर उसले यी सबै आरोपको खण्डन गरेको छ । ६० लाख जनसंख्या भएको यो देशले गएको मार्चमै देश प्रवेश गर्न र बाहिरिन प्रतिबन्ध लगाएको थियो । स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन र मानिसबीच २ मिटर दूरी कायम गर्न भनेका छन् । भीडभाड हुने कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाइएको छ ।
Facebook Comment