नेकपा सचिवलायमा प्रचण्डले पेश गरे छुट्टै प्रस्ताव

डिसी नेपाल
२८ कार्तिक २०७७ १७:१३

काठमाडौं। लामो रस्साकसीपछि शुक्रबार बसेको सत्तारुढ दल नेकपाको पार्टी सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आगामी मार्ग चित्रका लागि भन्दै छुट्टै प्रस्ताव पेश गरेका छन्।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गरेको जानकारी दिए। उनले भने, ‘कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले पेश गरेको प्रस्ताव अध्ययनका लागि सबै सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ।’

तर, सो प्रस्तावमा के छ भन्ने विषय भने खुलाइएको छैन। यस्तै शुक्रबारको बैठकमा हालै पाँचजना बहमुत सदस्यहरुको अनौपचारिक बैठकले गरेको निर्णयअनुसार बैठक बोलाउनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रस्ताव, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको जवाफमा प्रचण्डले ओलीलाई पठाएको पत्रसमेत सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार गएको भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि जारी गरिएको आन्तरिक पार्टी निर्देशन पनि सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ।

शुक्रबारको बैठकले बैठकका कार्य सूची तय गरेको उनले जानकारी दिए। उनका अनुसार वर्तमान अवस्थामा देखिएको पार्टी संकटबारेको छलफल बैठकको मुख्य कार्यसूची हुने बताए।

यस्तै भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीसँग गरेको गोप्य भेट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव, पर्सामा नेकपा कार्यकर्ताको हत्यालगायतका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने उनले जानकारी दिए। उनका अनुसार सचिवालयको अर्को बैठक मंसिर ३ गते एक बजे बस्नेगरी शुक्रबारको बैठक सकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *